समाबेशी सञ्चारको परिकल्पना

                                                                                              समताखबर डटकम

०४६ सालको जनान्दोलनपछि मुलुकमा प्रजातन्त्रको स्थापनासंगै सञ्चार माध्यमको तिब्र विकास भएको हो । २६ बर्षे (०४६–०७२) प्रजातान्त्रिक ईतिहासमा हिंशात्मक,संक्रमणकालिन राजनीतिक उतार चढावसंगै धेरै संञ्चार माध्यमले जन्म लिए । बर्खे भेलझै जन्मेकाहरु कती हराएर गए कति अझै बामे सरी रहेकै छन् । कति जन्म लिने अबस्थामा पनि होलान । केही सञ्चारमाध्यमहरु दुरदराजमा बस्नेहरुको सुख, दु:खको चौतारी बने, केही पार्टी प्रचारक अनि नेताको बैशाखी पनि । प्रेस स्वतन्त्रताको ढोङ पिट्दै एक चौथाई बाहेकका पत्रकारले पार्टीकारिता र पत्रकारितालाई पनि संगसंगै डो¥याए । स्वतन्त्र र निश्पक्ष भनिएका सञ्चार माध्यममा आबद्धहरु पनि राजनीतिक दलका भातृ संगठनकै हैसियतमा पत्रकार संघ,संगठनमा आबद्ध छन् ।

मूलधारका स्थापित होस वा देशैभर रहेका सञ्चार माध्यमले मुलुकभर छरिएर रहेका दलित, महिला, आदिबासी जनजाती, मुस्लिम, मधेशी र उपेक्षित समुदायको पिरमर्का कहिल्यै बुझ्न सकेनन् । बुझ्न चाहेनन् पनि । बर्षौदेखी राज्यबाट पछाडि पारिदै आएका यी समुदायका सवालहरु कहिल्यै खबर बन्न सकेनन् । एकाध बाहेक समाचार कक्षमा प्रबेश गर्न नपाउदै फालिए । प्रजातन्त्रको नाममा प्रेस स्वतन्त्रताको मन्त्र जप्दै पत्रकारितासंगै पार्टीकारिता पनि मौलाउदै गयो । भुँईतहका भुँइमान्छेहरुको खबर होईन नेताको बोलीले शिर्ष स्थान पाउन थाले र अहिले पनि तिनै बोलीले सञ्चार माध्यममा गतिलै स्थान पाई रहेका छन् । अझै पाउनेवाला पनि छन् । स्वतन्त्र प्रेसको आवरणभित्र नेताको संरक्षणले गर्दा पार्टीकारिताले मलजल पाएकै छ ।

तत्कालिन ने.क.पा.माओबादीको १० बर्षे जनयुद्ध पश्चात भएका परिवर्तनहरु स्थापित गर्न सञ्चार माध्यमले सशक्त पहल चाल्नु पर्नेमा प्रतिगमनलाई स्थापित गर्न भ्रामक समाचार सम्प्रेषणका कारण मुलक लामो समयदेखि संक्रमणकालिन अबस्थाबाट थला परिरहेको घाम जस्तै छर्लङ छ । माओबादी १० बर्षे जनयुद्धको जगमा भएको ०६२/०६३ को १९ दिने जनान्दोलन,मधेश आन्दोलन र विभेदमा परेका समुदायहरुले विभिन्न समयमा गरेका आन्न्दोलन पश्चात मुलुकमा शान्ति स्थापना भएको यतिका बर्ष भइसक्दा पनि मुलुकले यो नियति बेहोर्नुको दोषी नेपाली सञ्चार माध्यम पनि हुन् ।

बहुसंख्यक सञ्चार माध्यमले माओबादी बिरोधी खबर युद्धनै थाले । खबर युद्धकै कारण माओबादी जनयुद्धले गरेको भुँइमान्छेहरुसंग गासिएका परिवर्तनका मुद्धा हुर्कन नपाउदै मृत्यु बरण गर्न पुगे । मूलधारका सञ्चार माध्यममा मेचीदेखी महाकालीसम्म छरिएर रहेका उपेक्षित समुदाय,लिंग र बर्गका खबर र बिचार यथोचित मात्रामा समेटिएका छैनन् । बरु बेलाबखत भ्रामक खबर र बिचार सम्प्रेषण गर्दै ती समुदायका सवालप्रति नकारात्मक धारणा बनाउने काम गरिएको छ ।

त्यसैले यो परिवर्तित अबस्थामा जल्दाबल्दा घटना र संश्लेषणको सम्प्रेषण गर्दै भुँइमान्छेहरुको खबर र बिचार नछुटाउने सञ्चार माध्यमको आबश्यकता महसुस गरी समाबेशी मिडियाको रुपमा स्थापित गर्न समता मिडिया विकास कोषको स्थापना गरिएको हो । “न्याय र समानताका लागि सञ्चार अभियान” भन्ने उदेश्यले यस कोष मार्फत नेपाली पत्रकारितामै पहिलो अभ्यासको रुपमा बहुभाषी वैचारिक डिजिटल पत्रिकाको थालनी गरिएको हो । हामी भुँईतहको कथा लेख्छौं,सुनाउँछौं र देखाउँछौं, आलोचना, टिप्पणी, सुझाव र दृष्टिकोणहरु राख्दै प्रत्येक पल हजारौं मान्छेहरुसंग जोडिदै जानेछौं । हजारौंका सकारात्मक बिचारहरु छिनछिनमा समता समताखबरको भित्तोमा पोखिन्छन् र त्यतिनै छिटो हजारौंलाई सुसुचित गर्नेछ ।

त्यसैले “समतामूलक समाज स्थापना” गर्ने परिकल्पनाले आम मानिसहरुमा सकारात्मक सोचको विकास र सामाजिक बिभेदमा परेका समुदायको पक्षधरको रुपमा आशा र भरोसा जगाउन www.samatakhabar.com नामक विचारप्रधान वेबपोर्टल सुरु गरेका छौं ।

यो सामाजिक संजाल फेसबुक पेज www.facebook.com/SamataKhabar  संगै युट्युव www.youtube.com/samatakhabar र ट्वीटर  www.twitter.com/samatakhabar मा पनि हेर्न सक्नुहुनेछ । हामीलाई विश्वास छ यसले राष्ट्रिय एकतालाई मजबुत बनाउनेछ र उपेक्षित समुदाय,लिंग र बर्गलाई यो देश मेरो पनि हो भन्ने भावनाको आत्मबोध भई समाबेशीसहितको देश विकासमा लाग्न प्रेरित गर्नेछ ।