‘दशैं’ मनाउन भारतबाट फर्कंदै नेपाली

समताखबर
  ४ आश्विन २०७४, बुधबार ०८:५४

नेपालगन्ज– दशैं नजिकिँदै गर्दा भारतका विभिन्न ठाउँमा काम गर्न गएकाहरु ‘दशैं’ लिएर फर्कन थालेका छन् । प्रदेश ६ र ७ का पहाडी जिल्लामा वर्षे बाली लगाएर उनीहरु रोजगारीको खोजीमा भारत पसेका थिए । भारतको गुजरात राजकोट पुगेका सुर्खेत बजेडीचौरका लालबहादुर विक सोमबार घर आइपुगे । उनी डेढ वर्षअघि कमाउन भारत गएका थिए । यस पटक सीमामा पहिलेजस्तो सास्ती भोग्नु परेन, उनले ।

‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशंकामा डराई–डराई जमुनहासम्म आइपुगेँ,’ भारतको चेन्नईमा साढे चार वर्ष काम गरेर फर्केका सोमबहादुर थापाले भने, ‘तर, त्यस्तो केही भएन, ढुक्कसँग नेपाल प्रवेश गरें ।’ जाजरकोट जगतीपुरका आइते विक पनि हिमाचलको सिमलाबाट दशैं मनाउन घर फर्के । वर्षे बाली लगाएर असार र साउनमा भारत पसेकाहरु दशैंमा फर्किन्छन् । मंसिरमा धान भित्र्याउने र हिउँदे बाली लगाउने काम सकिएपछि उनीहरु फेरि भारत पस्छन् ।

रोल्पा, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, सल्यानलगायत जिल्लाका बासिन्दाको रोजागारीको मुख्य गन्तव्य भारतका गढवाल, चण्डीगढ र सिमला हुन् । त्यसबाहेक नयाँदिल्ली, मुम्बईलगायत शहरी पनि पुग्छन् । त्यसरी जानेहरु युवा मात्र हुँदैनन्, महिला, अधवैंशे पुरुष र बालबालिका पनि हुने गर्छन् ।

इलाका प्रहरी जमुनहाका सई सुधीर खड्काका अनुसार भारतीय प्रहरीसँग समन्वयमा रुपैडिहा रेल्वे स्टेसन र बसपार्कसम्म पुगेर नेपाली यात्रुलाई सुरक्षित रुपमा स्वदेश भित्र्याइने गरेको छ । ‘लुटपाट र ठगी हुन नदिन हामी सक्रिय छौं,’ उनले भने । त्यसका लागि प्रहरीले जमुनहामा यात्रु सहायता कक्ष नै स्थापना गरेको छ । खड्काका अनुसार दैनिक करिब चार सय जना भित्रिइरहेका छन् ।

उनीहरु फर्किंदा लुटपाट हुन नदिन दुवैतर्फका प्रहरी सक्रिय देखिन्छन् । रिक्सा, अटो र टाँगामा आउँदै गरेका यात्रीलाई भाडा कति लिएको छ भनेर सोध्ने तथा अरुले दिएका वस्तु नखान सचेत गराउने काम भइरहेको छ । यसैबीच, काउछो र बिस्कुटको लेदो छर्केर लुट्ने गिरोहका दुई भारतीयसहित तीन जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुरका सोनु दास र जोनी दास छन् ।

उनीहरुले गत वर्ष सिटिजन बैंक अगाडिबाट काउछो छर्केर ६ लाख रुपैयाँ लुटेका थिए । सेन्चुरी विकास बैंक अगाडिबाट पक्राउ पर्दा पनि उनीहरुसँग लुट्न प्रयोग हुने सामान थिए । यस्तै, रुपैडिहा बसपार्कबाट अटोमा सँगै आएका जाजरकोटका एक व्यक्तिलाई नेपालगन्ज भन्सार नजिकै लुट्न खोज्ने दाङ घोराही १० का खिमराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईप्रभावबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *