१४ दिनमा २८ जनामा स्क्रब टाइफस

समताखबर
  ५ आश्विन २०७४, बिहीबार ०६:५३

चितवन । चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । 

भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । २० गते १५४ जनामा रोग देखिएको थियो तर अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्ममा १८२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । रोगबाट दुई जनाको मृत्यु भएको छ । माइट नामको एक प्रकारको सूक्ष्म कीराले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् ।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा.गुणनिधि शर्माले बताए ।

उनका अनुसार यो वर्ष नेपालमा ३२ भन्दा बढी जिल्लामा यो रोग देखिएको छ । ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा उपचार गरेर रोग निको हुने तर ढिला अस्पताल पुगे ज्यान जोखिममा पर्न सक्ने बताइएको छ ।

नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखापरेको थियो । चितवनमा २०७३ सालमा पहिलो पटक रोग भएको पुष्टि भएको थियो । जिल्लामा डेङ्गु रोग भने नौ जनामा देखिएको छ । डेङ्गु नियन्त्रणका लागि जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा केही दिनअघि लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो ।

मौसमी रुघाखोकीबाट झण्डै ४०० जना प्रभावित भएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *