आयोगको प्रस्ताव अनुसार सीमांकन गर्नुपर्छः  भट्टराई

राजविराज । नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले मधेशको मुद्दा हल गर्नका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशहरुको सीमांकन गरिनुपर्ने बताएका छन् । उनले मधेशको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

असोज २ गते हुन गइरहेको प्रदेश २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि तराई मधेश झर्नुभएका संयोजक भट्टराईले बिहीबार सप्तरीको राजविराजमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याहरुको हल गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको र त्यसैका बलमा समग्र देशलाई विकास र समृद्धिको दिशातिर लैजाने प्रतिबद्धता जनाउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।
‘अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन’ उनले भने ‘अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ ।’

नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फसेको र पुरानै पार्टीहरु सत्तामा फर्किन सक्ने संभावनाको आंकलन गर्दै नयाँ शक्तिले आन्तरिक रुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्य रुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्ने आवश्यकतामा जोड दिए ।

भदौ २९ गते, २०७४ – १६:०४ मा प्रकाशित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *