पत्रकारिता र जातीय बिभेद्को पीडा

-मिलन परियार

नया प्रकाशन प्रा.लि.द्धारा प्रकासित नया पत्रिका राष्ट्रिय दैनिकको क्षेत्रीय कार्यालय धनगढीमा स्थापना गरिएपछि ०६९ चैत्र २४ गतेदेखी धनगढी बसाई सुरु भयो । डोटीदेखी १९५ किलोमीटरको दुरीमा रहेको धनगढीमा कहिले काही आउदाका बखत मुस्किलले पाँच रात काटेको मात्रै अनुभव थियो मसंग । बर्खे मौसमा अचाक्ली गर्मि र हिउ“दमा अत्यधिक मुटु काप्ने चिसो अनी सितलहरले सताउने हुदा धनगढी बसाईको अनुभव धेरै लामो थिएन् । नया“ पत्रिकाको डोटी समाचारदाताका रुपमा कार्यरत मलाई प्रमोसन र सरुवा गरी धनगढी क्षेत्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएपछि धनगढी बसाईको लामो अनुभव बटुल्न पाइएको हो ।

सुदूर पश्चिमको विकट पहाडी जिल्ला डोटीको सानो भुगोलमा बसी पत्रकारिता गर्दै आएको मेरा लागि कर्म क्षेत्रका हिसावले धनगढी नौलो अनि चुनौती पूर्णनै थियो । पूर्वि नेपालदेखी मध्य तथा पश्चिम पहाडमात्र होईन खुल्ला सिमाना भएका कारण भारतको तिकुनीया,लखिमपुर,खिरी,पलिया,पिलभित,लखनउबासीहरुको पनि धनगढी बसोबासको क्षेत्र बनेको छ । नेपाली तथा भारतीहरु बर्षेनी हजारौंको संख्यामा बसाई सरी आउने हुदा धनगढी पछिल्लो समय सुदूर पश्चिमको प्रमुख शहरको रुपमा विकसित भई रहेको छ ।

सुदूर पश्चिमका शहरी तथा पहाडी क्षेत्रमा पत्रिका बितरण,बिज्ञापन संकलन,दैनिक बिभिन्न सभा समारोह,बैठकमा उपस्थिती,कार्यालय ब्यवस्थापन लगायत क्षेत्रीय कार्यालयको सम्पूर्ण जिम्मेवारी,ठुलो शहर र नौलो ठाउँ भएकाले निकै चनाखो अनी होसीयारी पूर्वक काम गर्नु मेरो दैनिकी थियो ।
प्रसंग एक
धनगढीस्थित क्षेत्रीय खेलकुद विकास समितिको रंगशाला नजिकै कार्यालय स्थापना गरिएपछि धनगढी बस्न सुरु गरियो । कार्यालयका लागी घर भाडा,आबश्यक फर्निचरको ब्यवस्थापन सबै एक्लैले गर्नुपर्ने र पहिलो पटक क्षेत्रिय कार्यालय स्थापना गरिएको हुनाले कार्यालयलाई दैनिक संचालन गर्नुपर्ने मूख्य काम थियो । सुरुताका दुई महिने धनगढी बसाईपछि जेठ १९ गते कार्यालय सहयोगी शान्ति ढुंगेललाई कार्यालय रेखदेखको जिम्मा लगायर तीन दिनका लागि घर परिवार भेट्नका लागि घर फर्कदै थिए । घर जाने क्रममा सुदूर पश्चिम यातायात ब्यवसायीद्धारा संचालित सुदूर पश्चिम यातायातको पहाड रुट चल्ने यात्रु बस साझ ५ः३० बजे धनगढी बसपार्कबाट चढियो ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने कैलालीको अत्तरिया बजारमा यात्रु चढाउन १० मिनेट रोक्ने भनिएको बस राती ८ बजेसम्म चलेन । तराईको अचाक्ली गर्मि,बस मजदुरको मनोमानी,यात्रु हेपाहा प्रबृत्तिले म लगायत धेरै यात्रुको कन्सीरी तातेको थियो । तातिनुको अर्को कारण थियो । धनगढी बसपार्कबाटै ए साईडको ७ नं. सिटको टिकट काटेर आएको मेरो सिटमा अत्तरियाबाट एक अद्धबैसे जोडीलाई बसालियो । मेरो ब्याग अघिल्तिरको सिटमा अलपत्र फालिएपछि मैले सहन नसकी त्यो जोडीलाई मेरो सिट भएको जानकारी गराउदा उल्टै उसले मलाई यो मेरो सिट हो भनी टिकट देखाउदै थर्काउन थाल्यो । त्यो टिकटमा पनि ए साईडको ७ नं. लेखिएको रहेछ ।

मत धनगढी बसपार्कबाटै चढेर आएको मान्छे भन्दा मदिरा पिएर लट्ठिएको उसले मलाई नानाथरी भन्न थालेपछि मैले बस टिकट काउण्टरमा आफनो समस्या दर्साए । काउण्टरमा बसेका टिकट बुकिङकर्ताले पनि मलाईनै अमर्यादित ब्यवहार गर्दै हकार्न थाले । उनको त्यो ब्यवहारले मलाई सहन भएन र दुबै जनाबिच केही बेर भनाभन चल्यो । सायद नेपाली सेनाको जवान थियो क्यारे १७–१८ बर्षकी केटी घुमाउन दिपायल जादै थियो । ती जोडीका लागि उनैले सिट मिलाइ दिएका रहेछन् । सुदूर पश्चिमको प्रमुख शहरको रुपमा बिकसित हुन थालेको धनगढीमा केही सयम यता यौन क्रियाकलाप फस्टाएको छ । १६ बर्षदेखी ४० बर्षसम्मका महिलाहरु धनगढी,अत्तरियाका होटल लजहरुमा दिउसै रात पार्न खप्पीस छन् । पछिल्लो पटक सुदूर पश्चिममा यो ब्यवसाय तिब्र गतीमा फस्टाएको छ । दिनै पिच्छे होटलहरुमा प्रहरीले छापा मार्दा रंगे हात नभिटिएको कुनै दिन छैन् । स्थानीय दैनिक पत्र पत्रिकाहरुमा पनि यौन धन्दाको समाचार बाहिर आईनै रहेको छ । धनगढीमा प्रहरीले अबैध यौन क्रियाकलाप नियन्त्रणमा कडाई गर्न थालेपछि अधिकांस सेना,प्रहरीका जवानले केटीहरुलाई बुकिङमा पहाडी जिल्ला डडेल्धुरा र डोटीमा केही रात बिताउन लग्ने गरेका छन् ।

प्रसंग बस मजदुरले अन्य यात्रुलाई पनि यस्तै ब्यवहार गरेको थियो । तर उनीहरु चुपचाप थिए । सचेत पत्रकार भएकाले उसको अमर्यादित अभद्र ब्यवहार सहन गर्ने कुरा पनि भएन् । तराईको हपहपी गर्मीमा तीन घण्टा बसभित्रको बसाई र बस मजदुरको दुब्र्यबहारले गर्दा म लगायत धेरै यात्रुहरु बसभित्रबाट बाहिर आयौ । हामीले नचढी बस चल्दैन हामीलाईनै यस्तो अमानविय ब्यवहार गर्छन् भनी सुदूर पश्चिम यातायातको मनपरी र यात्रुहरुलाई हेप्ने प्रवृत्तिका बारेमा थोरै के बोलेको थिए । सोही बसका सहचालक २४–२५ बर्षको चुल्ठे,मुन्द्रे केटो एक्कासी म नजिक आएर दाई तपाईको घर कता हो ? के थरको पर्नु भो ? भनी सोध्यो । उसको सोधाईले म निकै बेर घोत्लिए,मेरो नाम हैन जात थाहा पाउने उसको जिज्ञासाको म संग उत्तर नै भएन । ४६ डिग्रीको गर्मिमा अत्तालिएको मान्छे झनै तनाबमा भए,पाच बर्षअघि जागरण मिडिया सेन्टरको पत्रकारिता तालिमा काठमाण्डौंको सुन्धारास्थित काली गण्डकी होटलमा तीन दिने बसाइका क्रममा होटलमा भेटिएका गुल्मीका एक रेग्मी थरका ब्यापारीले भनेको झलक्कै स्मरण भयो । सुदूर पश्चिमका बारेमा आफना साथीसंग उनले नकारात्मक गफ गरी रहेका बेला उनीसंग मेरो त्यो बेला धुमधाम झगडा नै भएको थियो । उनले त्यो बेला भनेका थिए सुदूर पश्चिमका मान्छे तीन किसीमले चिनीने गर्छन् पहिलो नाम हैन थर सोध्छन् अनी बाहुन,ठकुरी,क्षेत्री र दलित भए त्यही आधारमा ब्यबहार गर्ने । दोस्रो रुखो स्वभाव बोलीमा मिठासपन नभएको,ठाडो शैलीमा बोल्ने । तेस्रो ठालुपन असल मानविय स्वभाव नभई आफनो थर पुर्खेउली सान भएको बताउने,आफु काम नगर्ने तर कमजोर बर्गलाई काममा घोटाएर बाहुन,ठकुरी,क्षेत्री हु भनी जातको रवाफ देखाउने । ब्यापार ब्यवसायको शिलशिलामा धनगढी,महेन्द्रनगर र डोटीमा आएका बखत उनी स्वयंले यी तीन कुराको अनुभव बटुलेका रहेछन् । डोटी दुई दिने बसाईमा होटलेले तपाई तल्लो जात हो की मल्लो जात हो भनी जात सोधेको कुरा भोगेका रहेछन् । आफू बाहुननै भएपनि मान्छे जातले नभइ काम र कर्मले ठूलो हुन्छ भन्ने सोच भएका उनले जात भन्न करै लाएपछि आफु ब्रामण भएको बताएपछि मात्र होटलमा बास पाएका रहेछन् ।

०६२–०६३ को १९ दिने दोस्रो जनआन्दोलन पश्चात पुर्नस्थापित प्रतिनिधि सभाले ०६३ मंसिर ३ गते देश छुवाछुत मुक्त राष्ट्र घोषण गरेपनि सुदूर पश्चिममा जातीय बिभेद कायमै छ । सरकारको छुवाछुत मुक्त देश घोषणा सिंह दरबारमै सिमित छ । सुदूर पश्चिमका गाउदेखी शहरसम्म छुवाछुतको ब्यवहार दलितहरुले चर्को रुपमा सहदै आएका छन् । देशमा ठूलो राजनितिक परिवर्तन हुदा पनि यहाका दलितले यो बिभेदबाट मुक्त पाएका छैनन् । आफुलाई उपल्लो जाती हु भन्नेहरुले भन्ने गरेको शब्द सापटी लिएर यो पंक्तिकार पनि दलित समुदायमा जन्मेकाले अन्य दलितले झै जातीय बिभेद् हजारौं पटक झेल्दै आएको छ । सुदूर पश्चिमको पहाडी जिल्ला डोटीमा जन्मे हुर्केर केही बर्ष यता मुलधारको पत्रकारितामा सक्रिय रहेको म जातीय बिभेद्को समस्या भोग्नु मेरो नियती जस्तै थियो । एउटै समाजमा बस्ने अन्य सरह क्षमताबान भएर पनि उचनिचको ब्यवहार सहन गर्नु,दिनभर मसंगै बिताउने साथीले छोईछिटो हालेर आफनो घर भित्र प्रबेश गर्नु र मलाई प्रबेशमा रोक लगाउनु मेरो बाध्यता अनि कर्म जस्तै थियो । तर डोटी बाहिरको शहर धनगढी जहा पूर्वी बिराटनगरदेखि पश्चिमाञ्चलको पर्वत,भारतको उत्तर प्रदेश र उत्तराखण्डका मान्छे बसोबास गर्दछन् । शहरको रुपमा विकसित हुदा ब्यापार ब्यवसाय फस्टाउन थालेपछि पछिल्लो पटक धनगढी भारतका दर्जन बढी जिल्ला र नेपालका अधिकांस जिल्लाका मान्छेहरु बस्ने थलो हो ।
मुलुक संघिय गणतन्त्रमा जाने निश्चित भएपछि भारतको गौरीफन्टा सिमानासंगै जोडिएको धनगढी सुदूर पश्चिमको प्रमुख शहरको रुपमा विकसित हुने क्रम बढेको हो । दैनिक सयौको संख्यामा घर निर्माण भइरहेका छन् । पूर्वि तराईदेखि पश्चिम पहाडसम्मका बासिन्दा दिनहु बसाई सरी धनगढीमै बस्ती बस्दै छन् । उधोग,कलकारखाना धमाधम संचालनमा आएका छन् । ब्यापार ब्यवसाय फस्टाउदै छ । एक बर्ष यता मात्र धनगढीमा १० हजार घर निर्माण भएका छन् । ८० हजार जनसंख्या थपिएको छ । र पनि यहा अझै जातको आधारमा ब्यवहार गर्ने चलन यथावतै छ ।

उच्च जातीबादी सोचका कारण यहाको शंकिर्ण मानसिकता,यथास्थितिबादी चिन्तन दिनैपिच्छे मौलाउदो छ । पछिल्लो पटक धनगढीबाट सुरु गरिएको अखण्ड सुदूर पश्चिमको आन्दोलनले झनै जातीय सोच हाबी भएको छ । डोटी,अछाम,बझांग,बाजुरा,दार्चुला,बैतडी र डडेल्धुराका ठकुरी,बाहुनहरुको बाक्लो बस्ती रहेकाले उनीहरुकै धनगढीमा आधिपत्य छ । हुकुमी शैली पनि यथावतै छ । ठकुरीलाई भेटे “राजा साहेब”,बाहुनलाई भेटे “पाउ लागी गुरु” र दलितलाई देखे “ए” “त” भनेर सम्बोधन गर्ने चलन अझै यथावतै छ । ठाउ फेरिए पनि मान्छे फेरिएका छैनन् । गाठी कुरा के हो भने मानिस आफैमा नराम्रो हुदैन उसलाई समाजले ठूलो प्रभाव पारेको हुन्छ । उसले जानी वा नजानी समाजको चल्तीको संस्कार अंगालेको हुन्छ । त्यसैको प्रमाणको नालीबेली पंक्तिकारले प्रतिनिधि घटनाका रुपमा बेली बिस्तार गर्न खोजेको छ ।

प्रसंग दुई

भारतको सिमासंग जोडिएको कंचनपुर जिल्लाको त्रिभुवनबस्तीमा सयौको संख्यामा बसोबास रहेको छ । ती पुरै पूर्वि नेपालका सुकुम्बासी हुन् । पूर्व राजा महेन्द्र शाहले ०३० सालमा नेपालको सिमाना रक्षाका लागी भन्दै जंगल कटान गरी पाचथर, भोजपुर, झापा, धरान, मोरङ, हेटौडा, पर्वत, बागलुङ, स्यांङजा, गुल्मी, अर्घाखाची, दाङ, सल्यान,प्यूठान,रुकुमका सुकुम्बासीलाई ल्याएर यहाँ बस्ती बसालेका थिए । यहाँ गुरुङ,तामाङ,राई,लामा,बाहुन र दलित मिश्रीत बसोबास छ । पुर्नवासका २५ बर्षे सुमन ढकाल गत बर्ष असार ४ गते धनगढी मालपोत रोडमा नया पत्रिकाको कार्यालय रहेको घरमा डेरा गरी बस्ने दिदी रिता ढकाललाई भेट्न आएका बखत मसंग पत्रिकाको कार्यालयमै परिचय भएको थियो । पानी परी रहेकाले दिदीको कोठा सानो अनी चुहिने हुदा उनले मेरो कोठामा रात बिताउने निधो गरे ।

हामी दुबैबीच रातको मध्य समयसम्म पनि गफ चल्दै थियो । गफकै शिलसिलामा उनले दाई परियार थरको हुनु हुदोरहेछ,परियार भनेको कुन जातमा पर्छ सोधी हाले । रात छिप्पिएछ,निद लाग्यो अब सुतम भनेर आलटाल गरि टारिदिए । त्यो भन्दा पनि बढी पिडादायी अनुभव त उच्च शिक्षा हासिल गरेको ब्यक्तिबाटै अपमान जनक बिभेद् सहनु परेको घटना मेरा लागी अझै ताजा बनेर झलझली आउँछ । डोटीमा रहदा राम्रो चिनजान रहेका नेत्रप्रसाद पनेरु सरको घर मेरो कार्यालय नजिकै रहेकोले उहाँसंग धेरै पटक झल्याक झुलुक मात्र भेट भएको थियो बामपन्थी बिचार नजिक भएकाले पनि उहाप्रति मेरो धेरै सदासहेता थियो ।

साउनको अत्यास लाग्दो गर्मी चिसो पानी पिउनका लागी नजिकैको होटलमा जादै थिए । आफनो घरको बरण्डामा बसी रहेका बेला उहासंग भेट भयौ । उहाँले परियार सर कता हो ? भनेपछि मैले नजिकै हो सर भने । बसौ यता आउनु । म बसे । निकै पानी प्यास लागेकाले सर चिसो पानी पिउन भनेपछि उहाँ जुरुक्क उठेर आगनीको पाईपको टुटी खोल्दै परियार सर पानी आएको रहेनछ भनी जवाफ दिएपछि चुपचाप बाटो लागे । डोटी क्याम्पस डोटीमा बिगत २७ बर्षदेखी अध्यापनरत शिक्षित ब्यक्तिबाटै अपहेलित हुनु परेको छ भने अरु ब्यक्तिबाट न्यायको,सामाजिक सद्भाव,मान र आत्म सम्मानको के आशा गर्न सकिन्छ । मुलुकमा भएको लामो द्धन्द्धपछि देश नयाँ संबिधान निर्माणको प्रक्रियामा छ । द्धन्द्धमा करिब १४ हजारको रगत बगेपछि राज्यको पुर्न संरचना र पहिचान सहितको संघियताको मुद्धा जोडदार उठेको हो । मुलुकमा रगतको आहलबाट यो अबस्था सम्म आई पुग्दा पनि अझै मान्छे चेतिएका छैनन् । तिनको सोच पुरानै मानसिकताबाट गुज्रिरहेको छ ।

प्रसंग तीन

०७० असार ७ गते बिहानै मेरो डेरा नजिकैको एक किराना पसलमा सावुन किन्दै थिए । पसले साहुनीले सोध्नु भयो सर तपाईको घर कता हो ? मैले डोटी भनी जवाफ दिए पुनं उहाले सोध्नु भो डोटीको के थरको पर्नु भो ? मैले परियार भने । फेरी उहाँले सोध्नु भयो परियार कुन जाती हो र ? उहाँको जात थाहा पाउने प्रश्नको मैलै जवाफनै दिन सकिन कीनकी म जहाँजहाँ जान्छु ती सबै ठाउँमा थरमात्रै सोधेर अछुतको ब्यवहार सहेको छु । नाम थर बताउदा पनि अझै के पर्नु भयो भनी सोध्दा मन निकै कुडिएर आउथ्यो । २१ औं सताब्दीको यो परिवर्तित समयमा पनि जात सोध्दा मन भतभती पोल्ने गर्छ । सायद म अहिलेको अबस्थामा थिएन भने ठिकै हुन्थ्यो होला तर नया पत्रिकाको क्षेत्रीय कार्यालयमा काम गर्छु भन्दा ए पत्रकार पो हुनुदो रहेछ भनी सचेत भई असल ब्यवहार गर्नु पर्नेमा अझै जात किन सोधी रहन्छन् । पदको आधारमा किन असल ब्यवहार र सम्मान गर्न चाहादैनन् ।

जहाँ जाउँ,जुन निकायमा जाउँ सामान्य मान्छेदेखि पढेलेखेकाले पनि किन जात मात्रै सोध्छन् यस्तै यस्तै कुराले यो मन थिरमा छैन् । धनगढी बसाईपछि धेरै रात भयो निद नपरेको । धेरै दिन भयो जात बताउन नसकेको । म जस्ता धेरै दलितलाई सुदूर पश्चिमे बाहुन,ठकुरी र क्षेत्रीले सोधेको प्रश्नको जवाफ मैले होईन देश छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने अहिलेका सरकारमा रहेकाहरुले दिउन । सबैलाई चेतना भया
लेखक : समता अनलाईन पत्रिकाका प्रधान सम्पादक हुन् ।
प्रतिक्रियाका लागि : email: milandoteli@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *