संस्कृतिमा परिमार्जन र परिवर्तन आवश्यक

-गणेश नेपाली 

संस्कृति पुस्ता दर पुस्ता हस्तान्तरण हुन्छ । एक पुस्ताबाट अर्को पुस्तामा संस्कृतिको हस्तान्तरण केवल मानव समाजमा मात्रै सम्भव हुन्छ । पृथ्वीमा मानिस बाहेक कोही पनि जीवमा यो सीप, क्षमता, गुण र ज्ञान छैन । खानपिन, रहनसहन, रीतिरिवाज विगतका ज्ञातअज्ञात पुस्ताको सम्पदाका रूपमा वर्तमान पुस्ताले अंगिकार, उपभोग र उपयोग गरिरहेको छ । समयसापेक्ष संस्कृतिलाई परिमार्जन गर्न सकियो भने त्यस्ता संस्कृतिहरू दीर्घजीवी हुनसक्छन्, उन्नयन, संरक्षण र संवद्र्धन भइरहन्छन् । होइन भने ढिलो या चाडो अपरिवर्तनीय र जडवत् संस्कृतिलाई हामी दबाव दिएर सधैंका लागि बचाई राख्न सक्दैनौं ।

मौलिकताका नाममा हिजो बैलगाडा र लहडुमा यात्रा गरेर पुगेका ठाउँमा आज पनि त्यस्तै गर्नुपर्छ भन्दा सायद कसैले स्वीकार्ला, त्यसैले संस्कृतिको आयुलाई त्यसमा निहित स्वीकार्यताको मात्राले पनि निर्धारण गर्दछ ।

२४० वर्ष एकछत्र राज गरेको शाहवंशलाई २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनले पाखा लगायो । नेपाली राष्ट्रिय एकताको प्रतीक बनिसकेको राजतन्त्र नेपालको संस्कार र संस्कृति भइसकेको थियो । अहिले राजतन्त्रका लागि आँशु बगाउनेहरू राजतन्त्र पतनका प्रमुख कारण थिए, जसले राजतन्त्रलाई जडताबाट मुक्त हुन दिएनन् । समयानुकूल परिमार्जन हुन सकेका राजतन्त्रहरू अद्यपि विश्वका धेरै देशमा राष्ट्राध्यक्षका रूपमा विद्यमान छन् । ग्रेट ब्रिटेन, जापान र अरू धेरै देशमा परिमार्जित राजतन्त्र छ ।

दशैंतिहार जस्ता चाडपर्व सबै हिन्दूका घरमा पारिवारिक खुशी, आनन्द, शान्ति, प्रेम, आदर, सद्भाव र सामाजिक परिवेशमा समेत उल्लासपूर्वक मनाइन्छ । समाजमा सबैले हार्दिकताका साथ मनाउने यी चाडपर्वमा पनि परिमार्जन र परिवर्तन आवश्यक देखिन्छ । समय, देखासिकी खर्च, जुवातास दशैंतिहारका नकारात्मक पक्ष हुन् भने आजभोलि बली प्रथा बढी आलोच्य हुँदै गइरहेको छ । जनावर अधिकारको विषय आज विश्वव्यापी बनेको छ ।

कतिपय चाडपर्व त निश्चित जातविशेषले मात्र मनाउँदै आइरहेका छन् । वेदले ती पर्व र कर्मलाई जातका नाममा वर्जित गरेको पाइदैन । वर्ण व्यवस्थाका आडमा समाजका निश्चित जातिहरूले आफनो श्रेष्ठता कायम राख्न जातीय विभेद र छुवाछूतलाई बचाउन हरसम्भव प्रयास गरिरहेका छन् । जनै पूर्णिमा त्यस्तै एक प्रमुख धार्मिक, सांस्कृतिक पर्व हो । जुन पर्वमा निश्चितलाई तागाधारी भनेर बाहेकका अरू जातिलाई जनै ग्रहण गर्न दिइदैन । यस परम्पराले जातीय विभेद र छुवाछूतलाई मलजल गरिरहेको छ ।
सुदूरपश्चिमको गौरा पर्व पनि तागाधारी महिलाहरूले मात्र मनाउने पर्व हो । गौरा पनि विभेदप्रधान पर्व हो । संस्कृति कसैलाई अँगाल्नै नदिएर संरक्षण गर्न सकिने हो र ?
छाउपडी (महिनावारी) डरलाग्दो कुप्रथालाई मलजल गर्न नहिच्किचाउने मुठ्ठीभर जमात हाम्रो समाजमा अहिले पनि छ । यो लैंगिक छुवाछूत र विभेदलाई बचाई राख्नु अब कानूनी दृष्टिले दण्डनीय भइसकेको छ । तर, हामी मानसिक रूपमा कहिले तयार हुने ? हाम्रो संस्कृतिको यो नकारात्मक पाटो होइन र ? यो अमानवीय प्रथा हटाउनु पर्दैन ? हामी एनजिओ, आइएनजीओहरूले अनावश्यक रूपमा उठाएको ‘डलरखेती’ भनेर राष्ट्रवादी बौद्धिकता छाट्दछौं । छाउपडी गोठमा महिला र बालिकाले अकालमा ज्यान गुमाउँदा तथा शारीरिक र मानसिक हिंसाको सिकार हँुदा हामी टुलुटुलु हेरेर बसे अरूले दया र सहयोग गर्छन् या मजाक उडाउँछन् । हामी मजाकको पात्र नबन्न यस्ता प्रथामा परिमार्जन र परिवर्तन आवश्यक छ ।

सुदूरका पहाडी जिल्लाहरूमा बुढी पोल्ने बुन्ढुनी पर्व मनाइन्छ । यो पर्व वर्षा ऋतुको अन्त्य र शरद ऋतुको आगमनको खुशीमा मनाइन्छ । विशेष गरेर बालबालिका र युवायुवती उल्लासपूर्वक साँझको बेला सार्वजनिक स्थानमा भेला भएर भदौ १ गतेका दिन एउटा ठाँक्रो गाडिएको र त्यसलाई हरिया झिक्राहरूले बारेर असोज एक गते पोलिन्छ । धार्मिक/सामाजिक मतअनुसार बालक भगवान श्रीकृष्णलाई पुतना राक्षसनीले मार्न जाँदा स्वयं मृत्युवरण गरेकीले आसुरी शक्ति पराजित भएको खुशीमा मनाउन शुरु भएको भन्ने मान्यता छ । तर यसै पर्वमा घरघरबाट मसालसहित निस्केका केटाकेटीहरूको हुलले ‘गाई बाच्छा पाल, बुढी राण मार’ भन्ने नारा घन्काउँदै बुढी पोल्ने स्थलसम्म पुग्छन् । बुढी राण मार भन्नु बृद्ध महिलाको अपमान हो । बुन्ढुनीको यो परम्परा अब पाच्य हुन सक्दैन ।

मौलिकताका नाममा हिजो बैलगाडा र लहडुमा यात्रा गरेर पुगेका ठाउँमा आज पनि त्यस्तै गर्नुपर्छ भन्दा सायद कसैले स्वीकार्ला, त्यसैले संस्कृतिको आयुलाई त्यसमा निहित स्वीकार्यताको मात्राले पनि निर्धारण गर्दछ । संस्कृति शिक्षा पनि भएकोले शासकहरूले श्रमिक वर्गलाई कति अबलम्बन गर्न पाउने र नपाउने दायरा निर्धारण गरेर आज्ञाकारी बनाउने आफ्नो मालिकाना अस्तित्व चिरकाल बचाई राख्ने छल गरिरह्यो । धर्मलाई अघि सार्‍यो, त्रास देखायो । सत्ताको शक्ति र बलले दमन गर्‍यो । श्रमिक वर्गको प्रभु बनिरहन ज्ञानका ढोकाहरू बन्द गर्‍यो । कुनै समय त निश्चित जातिका मान्छेहरूले पढ्नै नपाउने अवस्था थियो । पछि पढ्न पाउने भएपछि संस्कृत विषय पढ्न नपाउने बनायो । यो निषेध आज आएर जाति विशेषलाई मात्र नभएर संस्कृत जस्तो समृद्ध भाषा सांघुरो हुन विवश भएको छ । पूजापाठमा सीमित हुनपुगेको छ ।

आज परियारको छोराले कपडा सिलाउन छोडेको छ । विश्वकर्माको छोराले आरन, आफरमा काम गर्न छोडेको छ । यो कसैका लागि चिन्ताको विषय भएको छैन । उनीहरूले आफ्नो परम्परागत पेशा किन छोडे यो समाज उदासीन भइरहेको छ । जब बाहुनको छोरोले कर्मकाण्ड छोड्छ, तब हिन्दू धर्मको अवस्था के होला ? सहज छ युरोप अमेरिका पलायन दर कुन जातिमा बढी छ ? यहाँ हिन्दूराज्य आन्दोलनको कुरा बढी महत्त्वपूर्ण भएको छ । यहाँका मन्दिरहरू पनि क्याम्बोडियाका मन्दिर जस्तै अवस्थामा पुग्न सक्नेछन् । हिन्दू बिनाका, पुजारी बिनाका र भक्त बिनाका । यदि पेशाकै आधारमा कोही पूज्य र कोही उपेक्षित तथा अपमानित भइरहे भने हाम्रो धार्मिक यात्रा कहाँ पुग्ला ? देशको यही सांस्कृतिक पहिचानमा ग्रहण नलागोस् भन्ने हार्दिक सोच भएकाहरू संस्कृतिमा युगानुकूल परिवर्तनतिर अग्रसर हुनैपर्छ । चारैतिरबाट संस्कृतिमा प्रहार भइरहेको ओठे चिन्ता व्यक्त गरेर मात्र हुँदैन । व्यवहारिक बनाउन सकिएन भने त्यस्ता संस्कृति प्राणबिहीन हुन धेरै समय लाग्ने छैन ।
न पञ्चायती व्यवस्था न राणा शासनमा झैं अब जनतालाई विचार र अभिव्यक्तिको स्वतन्त्रताबाट विमुख गर्न सकिदैन । आजको नेपाली जनता भनेको जहानिया निरंकुश राणाशासन ढलाउने सफल पूर्खाको सन्तान हो भने आततायी पञ्चायत र निरंकुश राजतन्त्रलाई पराजित गर्ने सफल पुस्ता हो । त्यसकारण यो पुस्ता र भावी पुस्तालाई मनुस्मृतिले निर्देशित गर्न सक्दैन । वर्ण व्यवस्थाको परिधिमा कैद र अवहेलना गर्न सकिन्न । संस्कृति असमानताको अभिव्यक्ति र श्रोत भयो भने अपमानित हुनेले अंगालेर बस्न सक्दैन ।
संस्कृति अब समानता, स्वतन्त्रता, सहिष्णुता र मानव मर्यादा अनुकूल हुनसकेन र विद्वानहरूले गोष्ठी, अन्तरक्रिया र कार्यशालाहरूमा उत्कृष्ट कार्यपत्र प्रस्तुत गरेर, प्रवचन दिएर मात्र व्यवहारमा परिवर्तन नगरेर संस्कृतिलाई स्वीकार्य बनाउन सकिदैन । हाम्रा संस्कृतिभित्र भएको बिसंगति र कुसंस्कृतिलाई मन लागे नि नलागे नि हटाउनैपर्छ ।

ईअनुमोदनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *