बडा दशैं नजिकिदा थारू बस्तीमा नाचको रौनक

दिपा चौधरी काठमाण्डौं असोज ५

काठमाडौं । दशैं नजिकिएसंगै सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत झुम्रा,सखिया मन्द्रहुवा, हुरदुङ्गवा,मुंग्राहुवानाचको रौनकता अहिले थारू बस्तीमा छाएको छ ।

हरेरी पुजा सकेर त्यहीदिन मादल साजेर सुरुवात गरिने झुम्रा मन्द्रहुवा नाच र श्री कृष्ण जन्माष्टमीका दिनदेखि शुरुवात गरेर दशैँसम्म गरिने सखिया नाचलाई थारू समुदायले गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी आयोजना गर्ने गर्छन् ।

मन्द्रहुवा ,कात्घोरिया , बार्कानाच तीन महिनासम्म गरेर मनोरञ्जको सधान पहिले–पहिलेका थारु समुदायले बनाएका थिए । त्यस्तै पहिले कम्तीमा एक महिनासम्म आयोजना गरिँदै आएको सखिया , मुंग्राहुवानाचलाई हाल छोट्याएर दशदेखि पन्ध दिनसम्म सिमित बनाएका छन् ।

गाउँका भाल्मान्सा, बड्घरीया, गुरुवा, केसौका चिरक्या किसानहरुको बैठक बसेर नाचको व्यवस्थापनको चाँजोपाँजो मिलाएपछि नाचको सुरु हुन्छ । गुरुवाले तान्त्रिक विधिद्वारा नाचमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी नाचको प्रारम्भ गरिएको हुन्छ ।

सखिया नाचमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नाचमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नाचको बीच–बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ ।

अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिन्छ । नाचमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या,अगुन्नीया’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भन्ने गरिन्छ । नाचमा मादलको तालसँगै विभिन्न मुन्द्रामा युवतीले नाच पस्कने गरिन्छ ।

जसलाई थारू भाषामा खोट पैँया भन्ने गरिन्छ ,पैँया २२ प्रकारका हुने गरेको भए पनि हाल मदारीले आफैँ सृजना गरेर पैँयाको तरिकामा परिर्वतन पनि गर्छन् । सखिया, मुंग्राहुवा नाचमा मादलको ताल र गीतसँगै नाचने युवा युवतीले खुट्टाको तालसगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेश गर्नुपर्ने हुन्छ ।

पौराणिक मनमोहित गर्ने नाचलाई हेर्नेको समेत थारू गाउँमा निकै भीड लाग्ने गर्छ । दशैँको सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने नाचअष्टमीको रातभरि आयोजना गरिन्छ । अष्टमीको रातभरि आयोजना गरिने नाचलाई भेडुवा जगेर्ना भन्ने गरिन्छ । यो दिन थारू समुदायले कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलन छ ।

नाच सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दा बीचको मनमुटाव र झगडा हटाई मेलमिलाप बढाउंछ । धार्मिक मान्यताअनुरुप नाचको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगब्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास छ ।

पौराणिक धार्मिक मुल्य मान्यता बोकेका गीत,नाच संरक्षणप्रति थारुयुवाले जागरुकता देखाउन थालेपछि आधुनिक शैलीमा उतार्दै विभिन्न ठाउँमा थारु होम स्टे बनाएर बाह्रै महिना हेर्न मिल्ने गरी संरक्षणमा थप टेवा पु¥याउन लागि परेका छन् ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नाचको आरम्भ र अन्त्य गरिने भएकाले नाचमा थारू समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ । हराउँदै गएको संस्कृति जोगाउन युवा पिँढी अगाडि सर्न थालेपछि पहिचान जोगिदै गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *