विश्व गैँडा दिवस संरक्षणबारे अन्तरक्रिया

चितवन । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा संरक्षणका लागि सामूहिक प्रयास जरुरी रहेको संरक्षणसँग सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

विश्व गैँडा दिवसको सन्दर्भमा चितवनको रत्ननगरस्थित सौराहामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले दुर्लभ एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै रहेकाले संरक्षणमा जोड दिएका हुन् ।

निकुञ्जको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन र वन्यजन्तु जोगाउन निकुञ्जको प्रयास मात्रै पर्याप्त नहुने भन्दै स्थानीय समुदाय र सङ्घसंस्थाको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको बताए ।

सौराहामा रहेको बाघ संरक्षण उपसमिति, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत पर्यटन र संरक्षणसँग सम्बन्धित झण्डै २० वटा सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

सहायक संरक्षण अधिकृत पाठकले गैंडाको हालसम्मको अवस्थाबारेको विवरण प्रस्तुत गरेका थिए । बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जितु तामाङले स्थानीयवासीको सक्रियताकै कारण चितवनमा संरक्षण कार्य प्रभावकारी भए पनि अझै गैँडा जोगाउन ठूलै चुनौती रहेको बताए ।

उनले शून्य चोरी–शिकारलाई कायम राख्न अझै संरक्षणमा नयाँ योजना ल्याई चोरी–शिकार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्ने र घाँसेमैदान व्यवस्थापनमा समेत ध्यान जानुपर्नेमा जोड दिए ।

पछिल्लो गणनाअनुसार चितवनमा ६०५ गैँडा भएकाले पर्यटन र संरक्षणलाई सँगसँगै लैजानुपर्नेमा सहभागीहरूजोड दिएका थिए । निकुञ्जले स्थानीय प्रशासन, प्रहरी, अनुसन्धान ब्यूरो र स्थानीय समुदायको सहकार्यमा संरक्षणका कार्यक्रम अघि बढाएकाले हो ।

विगतमा एक हजार दिनभन्दा बढी शून्य चोरी–शिकार समय मनाइसकेपछि पश्चिम चितवनको जगतपुरमा तस्करले एउटा गैँडा मारेकाले शून्य चोरी–शिकार वर्ष कायम राख्न निकुञ्जसामु ठूलो चुनौती रहेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।

पछिल्लो समयमा विद्युत् प्रवाह भएर तथा विभिन्न कारणले गैँडा मर्ने क्रम बढिरहेको छ । गएको साउन र भदौमा मात्रै यहाँ नौवटा गैँडा मरेका छन् । अघिल्लो वर्ष विभिन्न कारणले चितवनमा २५ गैँडा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *