बाल क्लबको प्रयासले विद्यालय पुगिन कमला नेपाली

मिलन परियार

कमला नेपाली एक निम्न परिवारकी बालिका हुन् । उनको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । गरिबी, अशिक्षा र अज्ञानताका कारण विद्यालय जाने मन हुँदाहुँदै पनि कमला विद्यालय जान नसक्ने अवस्थामा थिइन् । दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीमा बसोबास गर्दै आएका झपड नेपाली र राधिका नेपालीका दुई छोरी र एक छोरामध्ये कान्छी छोरी हुन् कमला । वृद्धावस्थाकी हजुरआमा समेत गरी उनको परिवार ६ जनाको छ ।

बुवा कामको खोजीमा भारत गएको करिव १० वर्ष भयो । आमा र भाइ पनि भारततिरै बस्ने गरेकाले घरमा हजुरआमा र कमला मात्र छन् । बुवाको मात्र कमाइले घरखर्च चलाउन धौधौ परेपछि उनका आमा र भाइ पनि कामकै लागि भारत गएका हुन । कमलाकी दिदी लक्ष्मीले गाउँकै दुर्गा आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा भागेर बिवाह गरेपछि उनका बाबुआमा र हजुरआमाले कमलालाई कक्षा ४ मा पढिरहेकै बेला विद्यालयबाट छुटाएका थिए । त्यसबेला कमलाको पढ्ने रहर चुँडियो । विद्यालय छोडेको २ वर्ष हुन लागेको थियो ।

उनकी हजुरआमा झाकरी नेपाली पढाइमा भन्दा घरकै काममा नातिनीको मन जाओस् भन्ने चाहन्थिन् । अर्काको घर जाने छोरीको जातले धेरै पढेर पो के गर्नु छ र ? घरधन्दा र चालचलन सिक्न घरकै काम गर्नु राम्रो भन्ने उनको मान्यता थियो । जेठी नातिनीले पढ्दापढ्दै भागेर बिहे गरेकाले कान्छी नातिनी कमलालाई विद्यालय जानबाट बन्देज लगाउने यस्तो मानसिकतामा उनलाई अझ बल मिलेको थियो ।

बीचैमा पढाई छाडी भागेर बिवाह गर्ने डरले छोरीलाई विद्यालय पढाउनै हुँदैन भन्ने सोचाइ कमलाको गाउँमा जकडिँदै गएको थियो । त्यस्तो बेला विद्यालय छाडेकी उनलाई पुनः पढाइमा फर्काउन शिक्षकहरुले पटकपटक घरमा खबर पठाए । के कति कारणले कमला विद्यालय छाड्न वाध्य भएकी हुन् त्यो बुझ्न घरमै पुगे । उनीहरुलाई के थाहा भयो भने कमला छरछिमेकीहरुको उक्साहटमा आफूलाई विद्यालयबाट छुटाउने निर्णयमा पुगेका हजुरआमा र बुवाको डरले उनी स्कुल जान छाडेकी रहिछन् ।

पढाइ छुटेपछि उनी आफैलाई पनि विद्यालयप्रति वितृष्णा जागेछ । सँगै पढ्ने साथीहरुले पटकपटक सम्झाउँदा पनि विद्यालय नफर्किने निर्णयमा उनी पुगिछन् । सम विकास केन्द्र नेपाल डोटीले गुणस्तरीय शिक्षा परियोजना मार्फत विद्यालय स्तरमा बालक्लब गठन गरी बाल सहभागिता बढाउने काम गर्न थालेपछि कमलालाई विद्यालय फर्काउने बालक्लबको पहल सफल भयो । फलस्वरुप १३ वर्षको उमेरमा कक्षा ४ मा पुनः भर्ना भइन् उनी ।

संस्थाको सहयोगमा आयोजित सरकारी नीति तथा व्यवस्था सम्बन्धी एक दिने अभिमुखीकरण तथा बालअधिकार तालिमपछि परियोजनाका सामाजिक परिचालक र बाल क्लबका सदस्यहरु सहितको टोली विद्यालय छाडेका बालिका खोज्दै कमलाको घरमा पुग्यो । घरमा कमला र उनकी हजुरआमा थिए । कमलालाई पढाइ छाड्नुको कारणबारे सोधपुछ गरी यसले पार्ने असरका बारेमा सम्झाइबुझाइ गरियो । त्यसपछि उनी पढाईलाई निरन्तरता दिन इच्छुक देखिए पनि हजुरआमा झाकरीले झर्किँदै संस्थाको टोलीलाई भनिन्, ‘कोही पढुन् कि नपढुन् तिमीहरुलाई किन चिन्ता ? आफूले पढे भैगयो नि । यसरी अरुलाई बिथोल्नुको सट्टा घरमा गएर आफ्नै काम गर्नु ।’

हजुरआमाको त्यस्तो प्रतिक्रिया सुनेपछि कमलाले स्कुल पढ्दा भागेर बिवाह गरेकी आफ्नी दिदीको कथा सुनाइन् र त्यही कारण हजुरआमाले आफूलाई पनि विद्यालय जान नदिएको बताईन् । त्यसपछि बालक्लबका सदस्यहरुले सबै छोरी एउटै हँुदैनन् । हामी पनि विद्यालयमै पढ्छौ तर हामीले त भागेर बिवाह गरेका छैनौँ नि ! तपाईँकी नातिनी पढेर राम्रो मान्छे बनेपछि भोलि उनले तपाईँलाई नै सुख दिन्छिन् भनी सम्झाएपछि कमलालाई विद्यालयमा भर्ना हुन भोलिपल्ट पठाइदिन उनकी हजुरआमा राजी भइन् । त्यो प्रतिबद्धता पछ्याउँदै उनले भोलिपल्टै कमलालाई कक्षा ४ मा भर्ना गरि दिइन् । त्यस दिनदेखि उनी लगातार कक्षामा हाजिर भइरहेकी छन् ।

सम विकास केन्द्रद्धारा संचालित गुणस्तरिय शिक्षा परियोजना संयोजक अधिराज बि.सी.(बाया) स्थानीय अधिकार कार्यक्रम प्रबन्धक महेश परियार (बीचमा) र श्री दुर्गा आधारभुत बिद्यालयका प्रअ हिक्मत घले (दाया)

‘बाल क्लबकै कारण साथी बन्न पुगेकी कमला र म टिफिन टाइममा सँगै खेल्छौँ’– बाल क्लबकी उपाध्यक्ष दिपा विष्ट भन्छिन् । आफ्ना साथीसंगीसँग खेल्दै र कुराकानी गर्दै स्कुल आउनजान पाउँदा निकै खुसी लागेको कमला बताउँछिन् ।

श्री दुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर घले आफूहरुले धेरै कोसिस गर्दा पनि कमला नेपालीलाई विद्यालय फर्काउन नसकेको र हाल बालक्लबका पदाधिकारी तथा शिक्षा परियोजनाको प्रयास सफल भएकोमा निकै खुसी छन् । ‘विद्यालयबाट बाहिरिएकी एक बालिकाको भविष्य उज्ज्वल बनाउन सहयोग गर्ने कालिका बाल क्लब र प्रगतिशील स्थानिय श्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाको कामबाट म प्रभावित भएको छु’– उनले भने । कमलाकी हजुरआमा पनि पुरानो सोचाइ छाडेर नातिनीलाई सधै विद्यालय पठाउन प्रतिबद्ध छिन् ।

दुई वर्षपछि कमला फर्किएको विद्यालयमा बाल क्लबको सक्रियता बढेको छ । क्लबको प्रभावकारी योजना र कार्यले विद्यालय वाहिर रहेका कमलाजस्ता कैयौँ बालबालिका विद्यालय आउन थालेका छन् । बालक्लबले गर्ने विभिन्न कार्यक्रमहरुले विद्यालयप्रति विकर्षित बालबालिकालाई पनि सधैँ विद्यालय आऊँआऊँ लाग्ने वातारवरण बनाएको छ । बीचैमा विद्यालयबाट भागेर घर जाने बालबानी कम भएको छ ।

बाल क्लबको नियमति बैठक, विभिन्न कार्यक्रमहरुको आयोजना र क्लबको क्षमता अभिवृद्धिमा सम विकास केन्द्र नेपालले सहयोग गर्दै आएका कारण क्लबको हरेक अभियान सफलतापूर्वक अघि बढिरहेको छ । बाल क्लबले चलाएको विद्यालय भर्ना अभियानपछि पढ्ने उमेरका सबै बालबालिका विद्यालय गइरहेका छन् ।
प्रकाशित ९ असोज २०७४, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *