गाई–भैँसी पालक जनप्रतिनिधि

समताखबर
  १६ भाद्र २०७४, शुक्रबार ०६:१३

राजु पौडेल पर्वत, भदौ १६
चुनावअघि प्रायः फार्ममै भेटिने सुवास पौडेल यतिबेला भने बिहान–बेलुकी मात्र यहाँ भेटिन्छन्। धेरै समय गाई–भैँसीको स्याहार र फार्म विकासमा खर्चने गरेका उनी जनप्रतिनिधि भएपछि चाहिँ जनताको काममा बढी चासो दिन थालेका छन्। तै पनि बाँकी समय चाहिँ उनी फार्ममै व्यस्त हुन्छन्।
हिम्मतका साथ काम ग¥यो भने सफलता धेरै पर छैन भन्ने कुरा सुवासले पुष्टि गरिदिएका छन्। जोस, जाँगर र लगनशीलताकै कारण युवा उद्यमी सुवास पौडेल यतिबेला कुश्मा नगरपालिका वडा नं. ७ खरेहास्थित आफ्नै ‘स्वर्ग’ मा रमाइरहेका छन्। ‘समय आउँछ पर्खिँदैन’ भन्ने भनाइलाई राम्ररी आत्मसात गरेका उनी कुन समयमा के काम गर्ने भन्ने कुराको तत्काल निर्णय गर्न माहिर छन्। गुप्तेश्वर क्याम्पसमा विद्यार्थी राजनीतिबाटै चर्चामा रहेका उनी जहाँजहाँ होमिन्छन् त्यहाँ–त्यहाँ सफलता हात पारिरहेका छन्।
वि.सं. २०७० सालमा स्वर्ग अर्गानिक कृषि तथा पशु फार्म सुरु गरेका उनीसँग हाल २५ दुहुना तथा ब्याउने गाई र भैंसी छन्। राजनीतिमा आफ्नो सक्रियतालाई उनी समाजसेवा भन्छन्। ‘राजनीति समाजसेवाका लागि गर्छु र व्यवसाय आफ्नो आर्थिक उपार्जनका लागि गर्छु,’ उनी भन्छन्।
श्रीमती अम्बिका पनि सुवासलाई काममा सघाउँछिन्। श्रीमान्–श्रीमतीकै सहकार्यले गर्दा नै उनीहरु सफल व्यवसायी दम्पत्तीका रुपमा परिचित हुँदै गएका छन्।
पछिल्लो पटक भएको स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाको वडा नं. ७ को वडाअध्यक्षमा विजयी उनले नेपाली काँग्रेसको गढ मानिने क्षेत्रमा समेत एमालेको तर्फबाट जीत हासिल गरेका थिए।
‘उनी व्यवसायमा मात्र होइन राजनीतिमा पनि माहिर छन्, जहाँ हात हाल्यो त्यहीँ जितेर दखाउँछन्,’ छिमेकी कृष्ण पौडेल उनको तारिफ गर्छन्।
सानो कुरालाई पनि गहन अध्ययन गर्ने र योजनाबद्ध रुपमा लाग्ने उनको बानी छ। विद्यार्थी राजनीतिदेखि वडाअध्यक्षसम्मको राजनीतिक जीवनमा उनी कठिन ठाउँमा सहज ढंगले जीत हात पार्न सफल भए। उसो त जिल्लामासफल व्यवसायीका रुपमा पनि उनको समानान्तर परिचय पनि बनिसकेको छ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत कुश्माको खरेहा छेवैमा पशु फार्म संचालन गरेका उनले हाल १ सय ४५ रोपनी जग्गा भाडामा लिएर घाँस लगाइरहेका छन्। मलाटो, सियोफोर, किम्वु, खमि, नेप्पियर, अमृसो, सुडान, टियोसेन्टी आदि जातका घाँस उनले लगाएका छन्।
यसका अलवा ६ जनालाई उनले रोजगार दिइरहेका छन्। २०७० साल फागुनमा पशु फार्म सुरु गरेका सुवासले यसका अलवा स्वर्ग डिपार्टमेन्ट स्टोर्स, स्वर्ग डेरी उद्योग समेत संचालन गरेका छन्। एउटा बोलेरो जीप र मोटरसाइकल तथा स्कुटीमा घरघरमा दूध पु¥याउने काममा उनीसँग उनका स्टाफहरु खटिरहेका देखिन्छन्।

सुवासजस्तै लगनशील छिन्, उनकी श्रीमती अम्बिका पनि। श्रीमान् राजनीतिक कार्यक्रममा व्यस्त रहेका बेला सबै कारोवार उनले नै धान्ने गरेकी छन्। वडा अध्यक्षमा निर्वाचित भएपछि सुवासको काम पनि बढेको छ। जनप्रतिनिधिको हैसियतले उनी नगरपालिका तथा जनताका काममा व्यस्ता हुँदा अम्बिकाले श्रीमान्ले हात हालेको उद्यम कुशलतापूर्वक धानिरहेको सुवास बताउँछन्।
फार्ममा गाई, भैंसीको व्यवस्थापन, बजारमा दूध र दूधजन्य वस्तुको मागको सम्बोधन, कर्मचारी व्यवस्थापन लगायतका सबै काम सुवास नहुँदा उनले नै हेर्ने गरेकी छन्। श्रीमान्ले चुनावका बेला महिनौँ जनताको घरदैलो गर्दा पनि आफूले व्यवस्थापनमा कमजोरी हुन नदिएको उनी बताउँछिन्। श्रीमतीको कामबाट श्रीमान् सुवास निकै खुसी छन्।
हाल उनको फर्मबाट १ सय २० देखि १ सय ५० लिटर दूध दैनिक उत्पादन हुन्छ भने उनको डेरीमा अन्य कृषकबाट ३ सय बढी लिटर दूध दैनिक संकलन हुन्छ। उनी दैनिक जम्मा भएको ४ सय ५० बढी लिटर दूध कुश्माबजारका घरघर र होटल–होटलमा बिहान बेलुकै पु¥याउने गरेका छन्। हाल ४ सय ८० जना ग्राहक स्वर्गको दूध प्रयोग गर्ने गरेको उनले बताए।
शुद्ध दूधका अलवा उनले कुराउनी, दही, पनिरलगायतका दूधजन्य खाद्यवस्तु पनि उत्पादन हुन्छ उनको उद्योगमा। विभिन्न मेला, समारोह, विवाह, व्रतबन्ध हुँदा समेत स्वर्गको दूधले बजार पाउने गरेको छ।
बुवा टंकनाथ र आमा सरस्वतीले पनि सुवास दम्पत्तीलाई साथ र सहयोग दिइरहेका छन्। घरमा सबैले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक गरेकैले आफू सफल भएको उनी बताउँछन्। सुवास भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा व्यवस्थापन रहेछ। व्यवस्थापन सही ढंगबाट गर्न सकियो भने जुनसुकै काममा पनि विफल भन्ने भइँदोरहेनछ।’
सुवासको सफलता, कृषिप्रतिको मोह र लगनशीलता जिल्लाका अरु युवाहरुमा पनि आउनु जरुरी छ। बाँझो रहेको जमिनमा उत्पादन गर्दै त्यसै खेर गइरहेको जनशक्ति सही ठाउँमा प्रयोग गर्ने हो भने अब युवायुवतीहरु रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने सन्देश सुवास दम्पत्तीले दिन सफल भएका छन्।
प्रकाशित १६ भदौ २०७४, शुक्रबार | 2017-09-01 09:37:52

Leave a Reply

Your email address will not be published. Required fields are marked *