संविधानको पूर्ण कार्यान्वयन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछिः प्रधानमन्त्री देउवा

समताखबर
  १६ भाद्र २०७४, शुक्रबार ०६:२५

कञ्नपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताए ।

निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने उनको भनाइ छ ।

आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उनले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए ।

‘भारत भ्रमण सफल रह्यो’, देउवाले भने, ‘सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसित सहमति भएका छन् ।’

बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आईपुगेका प्रधानमन्त्री देउवा आजै राजधानी फर्कने कार्यक्रम रहेको छ । रासस

भदौ १६ गते, २०७४११:३५ मा प्रकाशित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *