
फलेवास , २५ भदौ । भूकम्पपीडितका लागि एक निजी बैंक र जनप्रतिनिधि घरघरमै पुगेर खाता खोल्न थालेका छन् ।
कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्णरुपमा घरगोठ भत्केका सर्वसाधारणको बैंक खाता खोलिएको छ । कुश्मा नगरपालिका वडा नं. १४ का जनप्रतिनिधिको पहल र गरिमा विकास बैंक कुश्मा शाखाको सक्रियतामा वडा कार्यालयमा शनिबार बैंक खाता खोलिएको हो ।
५० जना सर्वसाधारणको बैंक खाता खोलिएको कुश्मा नगरपालिका १४ का वडा सदस्य होमनाथ रिमालले जानकारी दिए । भूकम्पबाट घर गोठ भत्केर टहरा र पालमुनि बसेका सर्वसाधारणले गाउँमै बैंक खाता खोलिएपछि निकै खुशी भएका छन् ।
भूकम्पपीडितले घर बनाउने अनुदानको पहिलो किस्ता भुक्तानी लिने र यो हिउँदमा घर बनाउने अवसर पाउनेछन् । आर्थर डाँडाखर्कमा ६२ परिवारका घरगोठ पूर्णरुपमा क्षति भएका छन् । यसबाहेक पूर्णरुपमा घरगोठ क्षति भएर पनि पूर्णक्षतिमा नपरेका परिवारले वडा कार्यालयमार्फत गुनासो भरेका छन् ।
विवरण नमिलेका र सच्याउनुपर्ने परिवारलाई कुश्मा नै खाता खोल्ने व्यवस्था मिलाइएको वडा सदस्य रिमालले जानकारी दिए । बैंकले भूकम्पपीडितको अहिलेसम्म ४०० भन्दा बढी खाता खोलिसकेको कुश्मा शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले बताए ।
Leave a Reply