बाघमाराको पहिचान प्राचीन कालिका मन्दिर

समताखबर
  २५ भाद्र २०७४, आईतवार ०९:१२

पोखरा । पोखरा लेखनाथ महानगरपालिका ३३ भरतपोखरीस्थित बाघमाराले पोखरा र लेखनाथका विभिन्न स्थानबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको छ ।

कास्की जिल्ला नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बन्दै गएको छ । बजारीकरणको विकास विस्तार भए पनि यसको वास्तविक पहिचानका रुपमा रहेको कालिका मन्दिर भने प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

स्थानीयवासीको पहलमा हाल लगभग एक रोपनीभन्दा बढी क्षेत्रफलमा प्राचीनकालदेखि पूजा गरिँदै आएको शिलासहितको मन्दिर र लगभग २० वर्षअघि निर्माण गरिएको नयाँसहित दुई वटा मन्दिरको परिसरलाई पर्खाल लगाएर संरक्षण गरिएको छ ।

दशैँमा विशेष पूजाआजा हुने मन्दिरमा प्रत्येक चैते दशैँमा सामूहिक रुपमा बोको र पाठीको बलि दिने प्रचलन छ । बाघमाराको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिका मन्दिरको प्राचीनता सम्बन्धमा थप अध्ययन तथा अनुसन्धान हुन आवश्यक रहेको छ ।

समुदायको रक्षा र सुखशान्तिका लागि परापूर्वकालमा नै मन्दिर स्थापना गरिएको पाइए पनि यहाँको बस्ती विकासको क्रमले भने २०२५ सालपछि मात्र तीव्रता पाएको हो ।

सुरु सुरुमा औलाको प्रकोप हुनेलगायत कारणबाट मानिस पाखामा बस्ने गरेकामा सोको नियन्त्रणमा सरकारी प्रयास सुरु भएपछि बेँसीतिर झर्ने प्रचलन बढेको स्थानीयवासी एव् आदर्श टोल विकास संस्थाका उपाध्यक्ष चिरञ्जीवी दाहालले बताए ।

प्रत्येक सांस्कृतिक धरोहरको इतिहासलाई जोगाउनु पछिल्लो युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने स्थानीयवासी युवा दीपेन्द्र भुसाल बताउछन् । इतिहास आफैँमा महत्वपूर्ण हुन्छ, यसलाई मेटिन दिनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *