योजना काटिँदा अछामको ढकारी गाउँपालिकामा तालाबन्दी

समताखबर
  २७ भाद्र २०७४, मंगलवार ०४:४७

अछाम । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । 

वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक आस्थाका आधारमा हटाएको भन्दै वडा नं २, ३ र ५ का जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् ।

स्थानीयस्तरमा पटक–पटक छलफल भएपनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण ताला खोल्न नसकिएको बताइएको छ ।
सदरमुकामबाट जिल्ला समन्वय समितिका उपसंयोजकको टोली गाउँपालिकामै पुगेर सोमबार छलफल हुँदा पनि निष्कर्षमा पुग्न नसकेको वडा नं ३ का वडाध्यक्ष महादेव बुढाले बताए ।

गाउँपालिका अध्यक्ष नेपाली काँग्रेसबाट जितेका र तीन वडामा नेकपा एमालेले जितेका कारण ती वडाका योजनामात्रै हटाइएको तर अन्य व्यक्तिले पठाएका योजना गाउँसभाबाट पारित भएको बताईएको छ ।

गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले भने आफूले केही योजना हटाएको तथा केही योजना थपेको स्वीकार गर्दै निर्णय भइसकेको अवस्थालाई उल्ट्याउन नसक्ने बताउँदै आएको छ ।

ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो ।
जिल्ला समन्वय समिति संयोजक, विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठकले गाउँपालिकामा लाएको ताला खोल्ने र तीन वडाका योजनाका बारेमा मंगलबार सदरमुकाममा छलफल गर्ने त्रिपक्षीय सहमति भएको छ ।

आज दिउँसो सदरमुकाममा तीन वडाका जनप्रतिनिधि, गाउँपालिका प्रमुख उपप्रमुखसहित अन्य सरोकारवालाको संयुक्त बैठक बसी सहमति कायम गरिने प्रजिअ चौधरीको भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *