नमूना सहरदेखि रिङरोडसम्म जलेश्वरमा प्रमुख दलको प्रतिबद्धता

समताखबर
  २८ भाद्र २०७४, बुधबार ०५:२१

काठमाडौं । स्थानीय तहको निर्वाचनमा होमिएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदातालाई दिने गरेको प्रतिबद्धतालाई हेर्दा चाँडै नगरपालिका परिर्वतन हुने देखिन्छ । 

नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अशोककुमार साहले नमूना सहर बनाउने प्रतिबद्धता जनाउँदै आफूलाई भोट मागिरहेका विकासलाई पहिलो प्राथमिकतामा राखेर जलेश्वरलाई नमूना सहर बनाउने भन्दै मतदाताको घरदैलोमा गएका छन् ।

नेकपा एमालेका प्रमुख पदका उम्मेदवार माधव मण्डलले बाटोघाटोको समस्या रहेको र ठूल्ठूला गाडी सहजरुपमा नगरभित्र आउन नसक्ने तथा पैदलयात्रीलाई समस्या हुने गरेको भन्दै एमालेले जितेमा पहिलो काम रिङरोड बनाउने प्रतिबद्धता जनाएका छन् ।

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार कौशलेन्द्र शर्माले जलेश्वरनाथ महादेवको नगरी जलेश्वर नगरपालिकालाई पर्यटकीय रुपमा देश विदेशमा चिनाउने गरी विकास गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट मागिरहेका छन् ।

जलेश्वरमा पर्यटनको ठूलो सम्भावना रहेको तर व्यापक प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको भन्दै माओवादी केन्द्रले जिते जलेश्वरलाई देश विदेशसम्म पहिचान कायम हुनसक्ने गरी पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार रामशंकर मिश्रले राजपाले जलेश्वर क्षेत्रका जनताको पहिचान, स्वाभिमान र सम्मानको रक्षा गर्ने तथा नगरको विकासमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रकट गर्दै भोट माग्न व्यस्त देखिएका छन् ।

संघीय समाजवादी फोरम नेपालका प्रमुख सुरेन्द्रप्रसाद सिंह र नेपाल लोकतान्त्रिक फोरम जलेश्वर नगरका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले पनि जलेश्वर नगरपालिकाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आफ्ना भोट मागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *