
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका १ घण्टेश्वरको गैरास्थित बर पिपल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक बर्ष ०७३-०७४ को बार्षिक सामाजिक परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सामाजिक परीक्षण कार्यक्रमका सहभागिहरुले सहकारीमा शेयर सदस्य संख्या र शेयर पुँजी बढाउँदै कार्यक्षेत्र समेत बिस्तार गर्दै लैजानु पर्नेमा जोड दिएका थिए । त्यस्तै संस्थाको ऋण पुँजीमध्ये १ बर्ष भन्दा बढी भाका नाघेको २ लाख १५ हजार बढी रकम र १ बर्षभित्रको तर भाका नाघेको झण्डै १ लाख ९० हजार रकमको असुली गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै समूह सशक्तिकरणका लागि सहकारी शिक्षामा जोड दिनुपर्ने, कार्यक्रम र संस्थाका गतिबिधीबारे आम समुदायमा सञ्चार गर्नुपर्ने, चौतर्फी समन्वयमा जोड दिनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । सो सहकारी संस्थाका अध्यक्ष भक्त आलेको अध्यक्षता तथा जोरायल गाउँपालिका १ घण्टेश्वरका वडा अध्यक्ष भजन सिं मल्लको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उक्त सहकारी संस्थाका व्यवस्थापक तथा कार्यक्रम संयोजक डम्बर बोहराले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने पत्रकार झलक पालीले सहजीकरण गरेका थिए । सो कार्यक्रममा जोरायल गाउँपालिका ४ का वडा अध्यक्ष नन्दराज भट्ट, साझेदार संस्था युनाईटेड मिसन टु नेपालका डोटी क्लष्टर टिम लिडर धनमाया गुरुङ, राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, बिद्यालय, अन्य सहकारी तथा बिभिन्न समूहमा रहेका सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष आलेले संस्थाको जबाफदेहिता, पारदर्शीता र शुशासन प्रवद्र्धनका लागि सामाजिक परीक्षण कार्यक्रमलाई निरन्तरता दिंदै आएको र प्राप्त सुझावका आधारमा अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित ३१ भदौ २०७४, शनिबार
Leave a Reply