
पाल्पा । स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ ।
हिजोआज सिटिइभिटीबाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयले प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ ।
माध्यमिक तह पूरा गरेपछि उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि १० वर्ष अगाडिसम्म पूर्वी पाल्पाका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो । अहिले भने घरदैलोमै उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि शहर पस्ने विद्यार्थीको संख्यामा कमी आएको छ ।
प्राविधिक शिक्षाका लागि अधिकांश विद्यार्थी बाहिरी जिल्लाबाट आउने गरेको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । कृषि बाली विज्ञानका लागि ४० जना विद्यार्थीको मात्र सीमित कोटा रहेको रामतुलसी माविमा अहिले विद्यार्थी खोज्न भौँतारिनु पर्ने अवस्था नरहेको लम्सालले बताए ।
तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ शिक्षामा ४८ जना विद्यार्थी कोटामध्ये हाल २८ जना विद्यार्थी भर्ना भएका छन् । यस विद्यालयमा अधिकांश विद्यार्थी बाहिरी जिल्लाका रहेको पाइएको छ । सस्तो र सुलभरुपमा गुणस्तरीय शिक्षा सञ्चालनमा ल्याएका कारण अन्यत्रबाट पठनपाठनमा आउने विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए ।
तोकिएको कोटामध्ये चारजना गरिब जेहेन्दार विद्यार्थीका लागि मासिक शुल्क नलिने विद्यालयले व्यवस्था गरेको छ । आधारभूत माविमा पनि कक्षा ९ देखि १२ सम्मका लागि जिल्लामै पहिलोपटक पशु विज्ञान शिक्षा सञ्चालनमा आएको छ ।
स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यस क्षेत्रका विद्यार्थी खुशी भएका छन् । गाउँ गाउँमै फरक फरकखालका प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि अन्यत्र पढ्न जाने झन्झटबाट विद्यार्थी मुक्त भएका छन् । अभिभावकलाई पनि आर्थिक भार कम परेको छ ।
Leave a Reply