निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त

समताखबर
  २ आश्विन २०७४, सोमबार ०८:२७

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ ।

आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्यको निर्वाचनको प्रयोजनका लागि पिछडिएको समुदाय र अल्पसंख्यक समुदायको क्षेत्र निर्धारण गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने आठौँ गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्नेसमेत निर्णय भएको जानकारी दिए ।
सरकारले संयुक्त राष्ट्र संघ सुधारसम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रत्योजन गर्ने भएको छ । मन्त्रिपरिषद्ले आणविक अस्त्र निषेधसम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गरेको छ ।
“पछिल्लोपटक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको अकालमा मृत्यु हुने र गम्भीर घाइते हुने समस्या देखिएकाले ती पीडितको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ” मन्त्री बस्नेतले भने ।
सूचना तथा सञ्चार मन्त्रालयको सञ्चार विज्ञका रूपमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७४ व्यवस्थापिका–संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *