हवाई मार्गले व्यवसायी उत्साहित

समताखबर
  २ आश्विन २०७४, सोमबार ०९:००

काठमाडौं । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्काे शहरमा सिधा हवाई सेवा थिएन ।

अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताए । पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट आउन थालेको उनले बताए ।

चितवनमा राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी दुई लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् ।पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ ।

त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताए ।

एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उनले बताए । भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उनको भनाइ छ ।

सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारीमा पर्यटक भित्रिने अपेक्षा गरिएको बताए ।

सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *