राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खप्तड र शैलेश्वरी मन्दिरको दर्शन (फोटो फिचर)

झलक पाली डोटी,असोज २६

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचिमा सूचिकृत पर्यटकीय क्षेत्र सात नं.प्रदेशको प्रशिद्ध खप्तडको भ्रमण गर्नुकासाथै डोटीको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरी मन्दिरको बिहिबार दर्शन गर्नुभएको छ ।

बुधबार डोटी पुग्नुभएका राष्ट्रपति भण्डारीले बिहिबार बिहान खप्तडको भ्रमणपश्चात डोटी सदरमुकाम सिलगढीस्थित शैलेश्वरी मन्दिरमा पूजाअर्चना गर्नुभएको हो । पूजाअर्चना पश्चात शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मूल पूजारी प्रेमशंकर भट्टले राष्ट्रपति भण्डारीलाई मन्तव्य मार्फत स्वागत तथा शुभ आशिष दिएका थिए ।

दिपायलमा प्रदेश राजधानीको माग गर्दै ज्ञापन पत्र
प्रदेश नं. ७ को राजधानी दिपायलमै रहनुपर्ने माग राख्दै दिपायल सिलगढी नगरपालिकाका नब निर्वाचित मेयर मञ्जु मलासीले राष्ट्रपति भण्डारी समक्ष ज्ञापन पत्र पेश गर्नुभएको छ ।

राणाकालिन चार गौणा मध्येको डोटी गौणाको प्रशासनिक केन्द्र रहेको, साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको, पर्याप्त सरकारी जग्गाजमिन र भौतिक पूर्वाधारहरु रहेको, विमानस्थल रहेको, सामरिक महत्व एवं सुरक्षाका दृष्टिले उपयुक्त रहेको, भौगोलिक मध्येभाग रहेको, उच्च अदालत, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय र प्रदेश स्तरीय प्रहरी हेडक्वाटर कायम भईसकेको लगाएतका आधारमा पनि दिपायलमै राजधानी तोकिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

खानेपानीको समुद्घाटन
यसैगरी प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरीमा १३ किलोमिटर टाढाबाट ल्याइएको शुद्ध खानेपानीको समेत टुटी खोलेर राष्ट्रपति भण्डारीले समुद्घाटन गर्नुभएको छ ।

खानेपानी अभाव भईरहने सिलगढीमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएपश्चात धेरै सहजता भएको छ भने मन्दिरमा आउने दर्शनार्थीलाई पनि निकै सहजता भएको छ ।

कडा सुरक्षा व्यवस्थाका बिच राष्ट्रपति भण्डारीको भ्रमण आउनु भएता पनि उहाँलाई हेर्न सर्वसाधारणको घुईंचो लागेको थियो । हिजो राती सुदूरपश्चिम पृतना मुख्यालय राजपुरमा बास बस्नुभएकी राष्ट्रपति भण्डारी आजै काठमाण्डौ फर्किने जानकारी दिईएको छ ।

प्रकाशित २६ असोज २०७४, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *