कारबाहीबाट जोगिन डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेको खुलाशा

समताखबर
  २१ आश्विन २०७४, शनिबार ०२:०४

काठमाडौं । समाजमा राम्रो छवि बनाएका व्यक्तिहरु राजनीतिक पार्टीमा प्रवेश कमै मात्रामा गर्ने गर्छन् । भ्रष्टाचारी, आफू समलग्न पार्टीको कारबाहीमा परेकाहरु, विभिन्न अपराधमा जोडिएर उन्मुक्ती खोजिरहेका कथित डन तथा गुण्डा नाइकेहरु समेत पार्टी प्रवेश गर्छन् । यो साता नेकपा एमालेमा गुण्डा नाइके दीपक मनाङ्गे, कलाकार कोमल वलीदेखि नेपाल प्रहरीका डिआइजी नवराज सिलवालसम्मले एमालेमा प्रवेश गरे ।

डिआइजी सिलवालको राजिनामा स्विकृत नभइसकेकाले उनको प्रवेशलाई लिएर विभिन्न प्रश्नहरु समेत उठाइएको छ । तर, स्रोतले दिएको जानकारी अनुसार सिलवालमाथि कारबाही हुने खतरा बढेपछि उनी हतार हतार एमाले प्रवेश गरेका हुन् ।
‘उहाँलाई सरकारी कागजात किर्ते र प्रहरी सेवा भित्रै बसेर बक्तब्यवाजी गरेको अभियोगमा कारबाही हुनेवाला थियो,’ स्रोतले भन्यो,‘त्यो कारबाहीबाट जोगिनका लागि उहाँ तुरुन्त एमालेमा प्रवेश गर्नुभएको हो ।’

उनीमाथि सरकारी कागजात किर्ते गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयले छानबीन गरिरहेको थियो । आइजीपी प्रकरणको समय उनले अदालतमा निवेदनमा चढाएको कार्य सम्पादन मुल्यांकनको फाइल किर्ते गरेको अभियोग लागेको थियो ।

त्यस्तै प्रहरी सेवाबाट राजिनामा दिएपछि राजिनामा स्विकृति नहुँदै सिलवालले आफ्नो वक्तव्य मार्फत प्रहरी सेवा छाडेको घोषणा गरेका थिए । यस्तोमा फौजी संगठनभित्र कारबाही समेत हुने गर्छ । नेपाल प्रहरीका एक पूर्व एआइजीका अनुसार यसले प्रहरी भित्र गलत संस्कृतिको समेत विजारोपण भएको छ ।

स्रोतका अनुसार सिलवाललाई ‘भगौडा’ र सरकारी कागजात किर्तेको अभियोगमा संगठनले कारबाही गर्ने भएपछि जोगिनका लागि उनी एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगेका थिए । सिलवालले भाषणको क्रममा समेत सांकेतिक रुपमा आफूमाथि अन्याय हुन लागेको बताएका थिए । ‘राजनीतिमा आउनका लागि मैले आफूलाई प्रशिक्षित गरेको मान्छे थिइन । मुलुकको महत्वपूर्ण निकायमा नेतृत्व दिएको एउटा सिपाही हुँ,’ सिलवालले भने,‘परिस्थितिले यस्तो मोड लियो । मैले राजनीतिक नअंगाल्ने हो भने मेरो जीवनमाथि प्रश्न चिन्ह खडा हुन्थ्यो । मैले मेरो अस्तित्व जोगाउनका लागि एमालेमा लागेँ ।’

घुमाउरो तरिकाले उनले आफ्नो अस्तित्व समेत संकटमा पर्न लागेको स्विकार गरेका थिए । प्रहरी प्रधान कार्यालयले सिलवालको राजिनामा गृह मन्त्रलायको मानव संसाधन विभागमा पठाएको छ । तर, अहिलेसम्म उनको राजिनामा स्विकृति भएको छैन । आफूलाई आइजीपी बनाइ पाउँ भन्दै सिलवालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर, सर्वोच्चको बृहमत पूर्ण इजलाशले उनको मुद्दा खारेज गरिदिएको थियो । मुद्दा खारेज गरेकै दिन सिलवालले प्रहरी सेवा छाडेको भन्दै वक्तव्य निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *