
जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ।
जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो।
आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ शिवालयले जनाएको छ।
पर्वत समाज बेल्जियमको आर्थिक सहयोग, लायन्स क्लब अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट कुश्मा नगरपालिकालगायत बागलुङ जिल्लाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिए।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईको नेतृत्वमा २० जना मुटुरोग विशेषज्ञ डाक्टरले बिरामीको निःशुल्क मुटु परीक्षण गरिएको थियो। शिविरमा उच्च रक्तचापका बिरामी बढी देखापरेका छन् । मुटुरोगीमध्ये अधिकांश उच्च रक्तचाप, धुम्रपान, मोटोपना भएका हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भट्टाराईले बताए।
दैनिक व्यायामले रोग न्यूनीकरणमा सघाउने उनको भनाइ छ । छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुन सास फेर्न कठिन हुने, धेरै पसिना आउनेजस्ता लक्षण देखापर्नासाथ समयमै चेकजाँच गर्न उनले सल्लाह दिए। शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गरे। उनले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, युरोप संयोजक कुल आचार्य, एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियम समाज पर्वतका अध्यक्ष झलक केसीलगायतले मन्तव्य राखेका थिए।
उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले रु एक लाख सहयोग गरेका थिए। रासस
प्रकाशित २३ असोज २०७४, सोमबार
Leave a Reply