पूर्व कुमारी मतिना शाक्य स्कुल जान थालिन्

समताखबर
  २४ आश्विन २०७४, मंगलवार १०:२२

जीवित देवीकोरुपमा लामो समय पुजिएकी पूर्व कुमारी मतिना शाक्य सोमबारदेखि विद्यालयको पोशाकमा सजिएर विद्यार्थी जीवन सुरु गरेकी छिन् । अन्य विद्यार्थी झै उनी पनि व्यागमा टन्नै पुस्तक र सामग्री बोकेर विद्यालयमा हाजिर भएकी छिन् । कुमारीकोरुपमा रहँदा पनि मतिनाले कुमारी घरमा पनि अध्ययनको अवसर पाएकोले उनलाई अध्ययन अघि बढाउन भने सहज हुने अवस्था छ ।

काठमाडौंको भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमा भर्ना भएकी पूर्व कुमारी मतिनालाई कुमारी घरमा रहँदा पनि सोही विद्यालयले अध्ययन गराउने अवसर पाएको थियो । एउटा परम्परागत चलनको सबै भन्दा राम्रो सम्मानकोरुपमा विदेशीहरुले समेत कुमारीको सम्मान गर्दै आएका छन् । त्यही अध्याय पूरा गरेकी मतिनाले अब अन्य सामान्य विद्यार्थी झै सामान्य जीवन आरम्भ गरेकी छिन् । सोमबार पहिलो पटक विद्यालय पुग्दा विद्यार्थी तथा शिक्षकले मतिनाको भव्य स्वागत गरेका थिए ।

कुमारीको रुपमा रहँदा मतिनालाई स्कुल जान छुट थिएन तर सोमबारबाट भने उनलाई यो अवसर जुरेको छ । मतिनाको स्कुल पहिलो दिनभए पनि उनले नर्सरी कक्षामा भने बस्न पर्ने छैन । किनकि उनले नर्सरी देखिको कक्षा सात सम्मको पढाई भने कुमारी घरमा नै पूरा गरेकी थिइन् ।

विद्यालयले सोमबार मतिनाको पहिलो दिन भएकोले स्वागतकार्यक्रम सहित कक्षामा प्रवेश गराएको थियो । विद्यालयकी प्रिन्सिपल पेमा योञ्जनले शाक्यले स्कुलमा सहज बनाउन उनलाई सामान्य विद्यार्थीकै व्यवहार गर्ने र नियमितरुपमा समय बढाउदै विद्यालयमा बस्ने बानी पारिने जानकारी दिनुभयो ।

मतिना पूर्व कुमारीको हैसियतमा स्कुल आउँदा सरकारले उनको पढाइ खर्चको लागि गरेको सहयोग कम भएको मतिनाको बुबाको गुनासो छ । नेपाली समाजले पूर्व कुमारीहरुलाई पनि उही सम्मानित नजरले हेर्दै आएको छ । कुमारी भइसकेपछि उनीहरुले जिन्दगीभर बिभिन्न नियम र अनुशासनहरुको पालना गर्नुपर्छ । त्यसैले पनि कुमारीको बारेमा समाज अझै नतमस्तक छ , सम्मान र मानमा कुनै कमी आउन दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *