सामूहिक तरकारी खेतीबाट आत्म निर्भर बन्दै डोटीका महिलाहरु

समताखबर
  २५ आश्विन २०७४, बुधबार ०८:२५

गैरीगडाको घाँसे पाखो जमिनलाई खनजोत गरेर गरिएको तरकारी खेती

पैसा कमाउन जागिरै खानुपर्छ अर्थात बिदेशै जानु पर्छ भन्ने पुरानो मान्यता तोड्दै डोटीका महिलाहरुले सामूहिक रुपमा तरकारी खेती शुरु गरेका छन् । सामूहिक तरकारी खेतीबाट उनिहरु गाउँमै स्वरोजगार बनेका छन् । बर्षौदेखी खेर गएको गाउँ नजिकैको भिरालो डाँडोलाई सम्याएर तरकारी खेती सुरु गरेका हुन् । तरकारी बारीमा अहिले लटरम्म टमाटर,सिमि,भण्टा र भिन्टि फलेका छन् ।

बारीमा फलेको तरकारी गाउँकै पसलहरुमा बिक्रि हुने गरेको छ । तरकारी बिक्रिबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका महिलाहरुहरुका लागि माटोमा पसिना बगाउन सके माटोमै सुन फलाउन सकिन्छ भन्ने उखान समेत चरितार्थ बनेको छ । दुई बर्ष देखी शुुरु गरिएको तरकारी खेतीबाट उनिहरुले लाखौं रुपैयाँ आम्दानी गरेका छन् ।

शिखर नगरपालिका २ मुडेगाउँ लडेखोलाका ९ जना महिलाहरु मिलेर गैरीगडाको घाँसे पाखो जमिनलाई खनजोत गरेर तरकारी खेती शुरु गरेका हुन् । सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानिय अधिकार कार्यक्रमको सहयोगमा सामुहिक तरकारी खेती सुरु गरिएको समृद्धि कृषक समूहका अध्यक्ष शम्भुराज जैशीले बताए ।

जैशीका अनुसार स्थानीय अधिकार कार्यक्रमकै पहलमा ०७२ चैत्र १६ गते जिल्ला कृषि विकास कार्यालय डोटीमा कृषक समूह दर्ता गरिएको हो । २५ सदस्यीय कृषक समूहमध्ये रेवतीदेबी जैशी,धनीदेबी जैशी,जानकीदेबी जैशी,धनादेबी जैशी,हरिप्रिया जैशी,राधिकादेबी जैशी,तुलसीदेबी जैशी,शारदादेबी जैशी र निर्मला जैशी मिलेर सामूहिक तरकारी खेती गरेको अध्यक्ष जैशीले समताअनलाइनसंग बताए ।

सम विकास केन्द्र नेपालद्धारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत तरकारी खेतीका लागि रु.२२ हजारको पोलिथिन पाईप,एउटा प्लाष्टिक पोखरी,एउटा प्लाष्टिक टर्नेल र काउली,बन्दा,मुला,आलु,टमाटर,काक्रा,खुर्सानी,भिन्टि,फर्सी,डल्ले खुर्सानी लगायतका उन्नत जातका तरकारीका बिउहरु उपलब्ध गराएको स्थानीय अधिकार कार्यक्रम प्रबन्धक महेश परियारले बताए ।

गाउँ नजिक खेर गएको डाँडोलाई सम्याएर ५ रोपनी जग्गाबाट शुरु गरिएको तरकारी खेती अहिले २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ७ क्विन्टल आलु लगाएर २५ क्विन्टल उत्पादन गरेका छन् । यो सिजनमा मात्रै १० क्विन्टल आलु लगाएका छन् ।

म समाज सेवा डोटी अन्तर्गत सफल परियोजनामा काम गर्थे गैरीगडामा हाम्रै २४ घरपरिवारको खेर गएको एक सय रोपनी जग्गा थियो । खेर गएको जग्गामा बाख्रापालन गर्ने सोच बनाएको थिए,एक्लैले आट गर्न नसक्दा तरकारी खेती गर्ने सोच बनाए,मैले तरकारी खेती सुरु गर्न लागेको कुरा ईन्डिया जाने युवााहरु (लाहुरे) ले थाहा पाएछन् । युवाहरुले तरकारी खेतीमा सघाउने भनेपछि पाँच जना केटाहरु मिलेर शुरु गरेको कृषक समूहका अध्यक्ष जैशीले सुनाए ।

जैशीका अनुसार पाँच जना केटाहरु मिलेर शुरु गरेको तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि उत्साहित भएर अहिले महिलाहरुले सुरु गरेका हुन् । तरकारी खेतीमा नौ जना महिलाहरु संलग्न छन् ।

तरकारी खेती शुरु गरेको एक बर्ष नपुग्दै उनिहरुले गाउँमै तरकारी बेचेर एकै मौसममा एक लाख रुपैयाँ आम्दानी गर्न सफल भएका थिए । २५ क्विन्टल आलु बेचेर ७५ हजार रुपैयाँ,टमाटरबाट २५ हजार रुपैयाँ र काउली,बन्दा,मुला,भाजी र खुर्सानीबाट १५ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

तरकारी बेचेर राम्रो कमाई हुन थालेपछि उनिहरुले गत बर्ष असार महिनादेखी मासिक ५ हजार रुपैयाँ तलबमा गाउँकै नवराज जैशीलाई हेरालु समेत राखेका छन् । १४ बर्षको उमेरदेखी बम्बैमा नोकरी गर्दै आएका ३८ बर्षिय जैशी गाउँमै रोजगार पाएपछि मख्ख छन् । गाउँमै रोजगारी पाएपछि ईन्डिया नगई तरकारी खेतीमा लागेको उनि बताउछन् ।

रोजगारीका लागि ईन्डिया जाने तयारीमा थिए,तरकारी खेतीमा सहयोग गर्न भनेपछि यसमै लागेको हु उनले बताए । पराया ठाउँमा रातभर डण्डा ठटाएर मुस्किलले सात हजार कमाउनु भन्दा घरकै खाना खाएर मासिक ५ हजार तलब पाउदा म निकै खुशी छु । उनले सुनाए ।

बम्बैमा हेभि मेसिन अप्रेटरको काम गरेर १५ बर्ष बिताएका उनले जिवनभर अर्काकै देश कुर्नु भन्दा आफ्नै गाउँमै रोजगारी पाएको निकै सन्तुष्ट छन् । बर्सौसम्म एक्लिएर घर परिवार छोडेर अर्काको देशमा दुःख गरेर कमाउनु भन्दा अहिले घरमै बसेर बिहान बेलुकी खान पुग्ने भएको छ,उनले भने ।

माटोमा नंग्रा खियाउन सके बारीमै पैसा फलाउन सकिने उनले भनाई छ । यो मौसममा उनको बारीभरी टमाटर,काउली,बन्दा,प्याज,मुला,भाजी,खुर्सानी लगाएतका तरकारी प्रसस्त फलेको छ । गत बर्ष ५ रोपनी जग्गामा तरकारी लगाएकोमा राम्रो आम्दानी भएपछि यो बर्ष २५ रोपनीमा लगाएको उनले बताए । अहिले यो सिजनमा २५ क्वीन्टल आलु र ४० हजार रुपैयाँको तरकारी बेची सकेको समेत उनले जानकारी दिए ।

प्रसस्त तरकारी उत्पादन भएकोले यो मौसममा एक लाखसम्म आम्दानी हुने उनको अनुमान छ । धेरै टिप्न बाकी छ कमाई डेढ लाख रुपैयाँसम्म पुग्छ होला उनले भने,दिपायल बजार,कालागाढ बजारबाट तरकारीको निकै माग आएको र गत बर्षको तुलनामा यस बर्ष तरकारीको मुल्य समेत दोब्बर बृद्धि भएकोले आम्दानी बढी हुने उनको भनाई छ ।

उत्पादन र मुल्य दुबै बढेकाले आम्दानी बढ्ने उनले दाबी गरे । गत बर्ष प्रति किलो ३० मा बेच्ने गरेको फुल काउलीको मुल्य अहिले ४० देखी ४५ रुपैयाँमा बिक्रि भएको उनले सुनाए । थोरै लगानी र श्रममै धेरै आम्दानी हुने भएकाले पनि यो खेतीतर्फ आकर्षित भएको समेत उनले बताए । बाह्रै महिना तरकारी खेती हुने उनले बताए ।

बिगत तीन बर्षदेखी मुडेगाउँमा संचालित स्थानिय अधिकार कार्यक्रमले उपलब्ध गराएको तरकारी खेतीका लागि आबश्यक सामाग्रीसहितको सहयोगले आफुलाई सफल तरकारी उत्पादन गर्ने किसान बनाएको कृषक समूहका अध्यक्ष जैशीले बताए । अहिले मासिक ८ देखी १० हजारको हाराहारीमा आम्दानी हुने कृषक समूहकी सदस्य एवं तरकारी खेतीमा संलग्न जानकी जैशीले बताईन् । आम्दानीबाट तरकारी खेतीमा संलग्न ९ जना महिलाहरुलाई बराबर रकम बाडिने गरेको अध्यक्ष जैशीले बताए ।
प्रकाशित २५ असोज २०७४, बुधबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *