आज समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाईंदै (कार्यतालिकासहित)  

समताखबर
  २९ आश्विन २०७४, आईतवार ०७:०४
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदैछन् ।

आयोगले बन्दसूची बुझाउन बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय तोकेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशका लागि २ सय २० जना सदस्य चुनिने छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन ८८ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरुले मात्र बन्दसूची बुझाउन पाउने छन् । राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अलग अलग बन्दसूची आयोग केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने छ ।

प्रदेशसभाका हकमा प्रदेशपिच्छे अलगअलग सूची हुनुपर्ने छ । प्रतिनिधिसभा र ७ वटै प्रदेशसभाका लागि समानुपातिकतर्फको बन्दसूची बुझ्न छुट्टै डेस्क स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फको बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार हुन पाउने छैनन् । बन्दसूची पेश गर्ने दलले समानुपातिकतर्फको कूल सदस्य संख्याको कम्तिमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने छ ।

बन्दसूची तयार गर्दा दलहरुले कूल उम्मेदवारको कम्तिमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने कानुनी प्रावधान छ ।

यस्तो छ निर्वाचन प्रक्रिया र कार्यतालिका :

बन्दसूची सच्याउने राजनीतिक दलहरुलाई सूचित गर्नेः २०७४/०६/३०

बन्दसूची संशोधन गरी पेश गर्नेः २०७४/७/०६ देखि २०७४/०७/१२

बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदनः २०७४/०७ /१३

उम्मेदवारको नाम फिर्ता सम्बन्धी सम्बन्धित राजनीतिक दललाई जानकारी २०७४/०७/१४ देखि २०७४/०७ /१५

उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नेः २०७४/०७/१७

योग्यता सम्बन्धमा दाबी बिरोध गर्ने निवेदनः २०७४/०७/२५ देखि २०७४/०८ /०१

दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णयः २०७४ /०७ /२५ देखि २०७४/०८/०१

बन्दसूचीबाट उमेदवारको नाम हटाएको सूचना प्रकाशनः २०७४/०८ /०२

बन्दसूची अन्तिम रुपमा प्रकाशनः २०७४/०८/०३

मतदान गर्नेः २०७४/०८/१०/२०७४/०८ /२१

प्रकाशित २९ असोज २०७४, आइतबार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *