तिहार नजिकिएसँगै माटाका भाँडाको व्यापार वढ्यो

समताखबर
  २९ आश्विन २०७४, आईतवार ०७:१९

तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीमा माटाका भाँडाको बिक्री बढेको छ। दिपावली र छठ पर्वमा कलश, दियो, घडा, गाग्रो ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्परा रहेकाले महोत्तरीका बजारमा माटाका भाँडाको बिक्री बढेको हो।

अरु बेला खासै प्रयोग नहुने माटाका भाँडा दीपावली र छठ पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले जिल्लाका सबैजसो बजारमा यसको बजार बढेको देखिन्छ।

बर्दिबासको मुख्य चोक र बजारमा अहिले २० वटा भन्दा बढी माटोका भाँडाका पसल थापिएका बर्दिबास व्यापार संघका महासचिव भवनाथ खतिवडाले बताए। मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको स्थानीयबासीको भनाइ छ।

दिपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ छ।

पर्वको मुख पारेर जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी कक्ष नै राखिएका छन्। रासस

प्रकाशित २९ असोज २०७४, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *