कांग्रेस संग पार्टी एकताका क्रममा गच्छदारले रुँदै भने,-“गिरीजाबाबुले रोक्दारोक्दै बाहिरिएको थिएँ”

समताखबर
  ३० आश्विन २०७४, सोमबार ०९:४०

काठमाडौं । कांग्रेससँग पार्टी एकताको घोषणा कार्यक्रमका लागि प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहानैदेखि चहलपहल थियो । विगतमा कांग्रेसकै राजनीति गरेर मधेसकेन्द्रित दल खोलेका गच्छदारलाई पुनः कांग्रेसमै फर्काउन पाउँदा कांग्रेस नेताहरु प्रफुल्ल मुद्रामा थिए । फोरम लोकतान्त्रिकका शीर्षनेताहरुको मुहार पनि हँसिलो थियो ।

 

पूर्वनिर्धारित समयभन्दा केही ढिलो एकता घोषणा कार्यक्रम सुरु भयो । मञ्चको अघिल्लो लहरमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको बीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका थिए । कार्यक्रममा देउवा र गच्छदारले एकतासम्वन्धी दस्तावेजमा हस्ताक्षर गरे । लगत्तै त्यसलाई सार्वजनिक गरियो । र, नेताहरुले एकअर्कासँग हात मिलाए । हात मिलाउन बीचमा उभिएर कांग्रेस नेता पौडेलले सघाए । विमलेन्द्र निधी र गच्छदारले त घ्वाप्लाक्कै अँगालो मारे ।

त्यसअघि कार्यक्रम सञ्चालन गरेका फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले एकताको दस्तावेज पढेर सुनाए । त्यतिबेलासम्म उत्साहजनक रहेको कार्यक्रमको माहोल जब गच्छदारको मन्तव्य सुरु भयो, तब एकाएक भावुक बन्यो ।
किनकि गच्छदार आफ्नो विगत सम्झिँदै कार्यक्रममै रोइदिए । २०६४ साल माघ १८ गतेकै दिन उनले कांग्रेस छाडेका थिए । सोही दिनको विषय सम्झेपछि उनी भावुक हुँदै रोएका थिए ।
गच्छदारले घुँक्क – घुँक्क गरेपछि वातावरण निकै भावुक बनेका थिए ।

‘गिरिजाप्रसाद दाजुले रोक्दारोक्दै पनि दश वर्ष अघि यही बालुवाटारबाट म बाहिरिएको थिएँ’ रुँदै रुँदै उनले भने, ‘दश वर्षअघि जुन ठाउँबाट बाहिरिएको थिएँ, त्यहीँबाट पुनः प्रवेश गर्न पाउँदा खुसी लागेको छ।‘मेरो नशानशामा कांग्रेस छ, रगतमा कांग्रेस छ ।’गच्छदारले आँसु झार्दा कांग्रेसका अन्य नेताहरु पनि भावुक बने । गच्छदारले आँसु पुछे । पानी पिए र फेरि बोल्न सुरु गरे ।

तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवासमै आफूलाई पार्टी नत्याग्न सम्झाउँदा सम्झाउँदै पनि आफूले फोरम पार्टी खोलेको स्मरण गर्दै उनले भने, ‘उहाँहरुले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ ।’ गच्छदारले थपे, ‘मैले विगतमा रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु । मलाई अहिले विरोधको कुनै प्रवाह छैन, हामी लोकतन्त्र जोगाउने अभियानमा छौं ।’

कम्युनिष्टहरुले लोकतन्त्र सिध्याउन लागेकाले कांग्रेससँग निशर्त पार्टी एकता गरेको गच्छदारले तर्क गरे । वाम गठवन्धनलाई चुनावमा बहुमत ल्याउन नदिने उदघोषसमेत उनले गरे । गच्छदारले अबको सरकार लोकतान्त्रिक गठबन्धनको बन्ने दाबीसमेत गरे । एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको जानकारी दिँदै गच्छदारले भने, ‘लोकतन्त्र जोगाउन निःशर्त एकता घोषणा गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *