
मुलुकमा बढ्दो बेरोजगारी समस्याका कारण रोजगारीका लागि सुदुरपश्चिमका अधिकांस पुरुषहरु मुग्लान (भारत) जाने गर्छन् । भारतका बिभिन्न शहरहरुमा रातभर डण्डा ठटाउछन्,होटलमा कठिन परिश्रम गर्छन् । महिनाभरी गरेको कामले मुस्किले ४ देखी ६ हजार कमाउछन् ।
आफुले खादा,बस्दा खर्च गरेर बाकी रहेको २ हजार घर पठाउछन् । तर त्यसले घर खर्च चलाउन धौधौ पर्छ ।
श्रीमानले रातदिन मसिना बगाएर पठाएको पैसाले घर खर्च चलाउन निकै समस्या परेपछि लम्कीचुहा नगरपालिका १ बि टोलकी ३५ बर्षिय बिमला मिजार अहिले लम्की बजारको सडक छेउमा बसेर अर्काको फाटेका जुत्ता,चप्पल सिलाएर बालबच्चा पाल्दै आएकी छन् ।
सामान्य दलित गरिब परिवारकी बिमलाको घरबास बाहेक केही पनि छैन् । आम्दानीको अन्य श्रोत नहुदा उनले एक वर्ष अघिदेखी लम्की बजारमा जुत्ता र चप्पल सिलाउने ब्यबसाय रोजेकी हुन् । उनले सडकछेउमा बसेर धेरै मान्छेका जुत्ता,चप्पल मात्र सिलाएकी छैनन् । अन्य महिलाका लागि प्रेरणाको श्रोत पनि बनेकी छन् ।
विमलाको घरमा दुई छोरी र एक छोरा छन । उनका श्रीमान छिमेकी मुलुक भारतको मुम्बईको एक होटलमा काम गर्छन । मुम्बईबाट श्रीमानले कमाएको पैसाले छोराछोरी पाल्न र पढाउन मुस्किल परेपछि उनले यो ब्यबसाय सुरु गरेकी हुन ।
अहिले फाटेका जुत्ता,चप्पल सिलाउने ब्यवसायमा लागे पश्चात आफुलाई परिवार चलाउन सजिलो भएको विमलाले बताईन । उनले भनिन पहिलो पटक सडक छेउमा बसेर फाटो,पुरानो जुत्ता,चप्पल सिलाउन सुरु गर्दा गाउँलेहरुले कुरा काट्ने गर्थे,केही काम नपाएर यो काम गर्न लागि भन्थे तर मेरो निरन्तरको मेहनत र परिश्रमले राम्रो आम्दानी गर्न थालेपछि धेरैले सम्मान गर्न लागेका बताईन् ।
छोराछोरीको पालनपोषण र पठनपाठनकै लागि लाज मानी नमानी यो काम सुरु गरेको हुँ अहिले त काम गरे कोही सानो ठुलो हुदैन भन्ने बुझेको छु । उनी लम्की बजार क्षेत्रमा जुत्ता चप्पल सिलाउने ब्यबसाय गर्ने दोस्रो महिला हुन । उनले सडकमै बसेर दिनमा ४ देखि ५ सय सम्म कमाई गर्ने गरेकी छन् ।
बैशाख जेठको प्रचण्ड गर्मि होस वा पुष,माघ महिनाको ठण्डी उनको हात सधै ग्राहकहरुका फाटेका जुत्ता,चप्पल टाल्नमै बित्ने गर्छ । बिहान सबेरै उठेर घरको काम सकेर बालबच्चालाई बिद्यालय पठाई उनि आफ्नो दैनिक काममा आईपुग्छिन् । जब उनले काम सुरु गर्छिन ग्राहकको भिडनै लाग्छ ।
कोही जुत्ता सिलाउन त कोही चप्पल सिलाउन आउनेहरुको भिड लाग्ने गर्छ । आफु संग राम्रो पसल संचालन गर्न सक्ने स्थिती नभएपछि उनले सडक छेउमै बसेर यो ब्यवसाय सुरु गरेकी हुन् । उनी भन्छिन् यदि यो काम नगर्ने हो भने बालबच्चा पाल्नै गाह्रो हुन्छ । त्यसैले यो पेसा अँगालेको हो ।
दशैं,तिहारका बेला दैनिक ७ देखी १ हजारसम्म कमाई हुने भए पनि अरु समयमा ठिकठिकै कमाई हुने उनको भनाई छ । अन्य मानिसले सिलाई कटाई ब्यावसाय गर्न सुझाब दिए पनि आफुलाई जुत्ता,चप्पल सिउने सिप मात्र आउने भएकोले आफुले यो ब्यवसाय अंगालेको उनले बताईन् ।
Leave a Reply