कस्तो रह्यो त राष्ट्रपतिदेखि पूर्वराजा सम्मको भाइटीका?

समताखबर
  ५ कार्तिक २०७४, आईतवार ०२:०२

काठमाडौं । भाइटीकाको उपलक्ष्यमा प्रधानमन्त्री एवंम विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आ—आफना दिदीबहिनीको हातबाट टीका लगाएका छन् । राष्ट्रपतिले पनि आफ्नो भाइलाई टीका लगाइदिएकी छिन् । ११ बजेर ५१ मिनेटको शुभसाइतमा धेरै नेताले टीका लगाए भने पुर्वराजा ज्ञानेन्द्र शाहले भने १० बजेर ४५ मिनेटमा लगाए ।

प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार चयन र भागबण्डाका साथै तालमेलमा व्यस्त रहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो व्यस्ततालाई थाति राखेर वर्ष दिनको चाड भाइटीकामा दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ११ बजेर ५१ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालय बालुवाटारमै बहिनी दुर्गा देवी चन्दको हातबाट टिका लगाए ।

टिका लगाएपछि प्रधानमन्त्री देउवाले तिहारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीलाई शुभकामना व्यक्त गर्दै दिपावलीले आम नेपालीमा उन्नती, स्थायी शान्ति, तथा देशमा संबिधान कार्यान्वयनमा जोड दिए । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओली निवास बाल्कोटमा आफनो तीन जना बहिनी कौशल्या कोइराला, विष्णु कुमारी ढकाल र देवका सिवाकोटीको हातबाट टिका लगाए । बहिनीको हातबाट टिका लगाएपछि ओलीले मंसिर १० र २१ गते हुन गइरहेका प्रदेश र प्रतिनिधिसभा निर्वाचन सबैले मिलेर बिना ब्यवधान सम्पन्न गर्नुपर्ने बताए ।

यस्तै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुलीको हातबाट भाइटीका लगाए । उनले दिदीबहिनी र दाज्यूभाइ वीचको स्नेह र शुभकामना आदानप्रदानको सांस्कृतिक पर्वको विशेषता रहेको भन्दै मौलिक संस्कृतिको रक्षा र प्रवर्धन गर्दै समुन्नत समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । यस्तै भर्खरै उपप्रधान तथा उर्जा मन्त्री भएका कमल थापाले बहिनीहरु बिमला, रिता र बसुको हातबाट भाईटिका ग्रहण गरे । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले कान्छी बहिनी शोभा साहीसंग टिका लगाए । भाइटिका ग्रहणपछि पूर्व राजा शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताए ।

संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको महसुस आफुले गरिरेको भन्दै जनताको इच्छा अनुसार नेतृत्व लिन आफु तयार रहेको बताएका हुन् । एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरे । नेतृत्वले जनताको इच्छा र आकाक्षा पुरा गर्न नसकेकाले आफु सक्रिय हुनु परेको पनि उनले स्पष्ट पारे ।

मुलुकको पछिल्लो परिस्थितिले आफ्नो नेतृत्व मागेको दाबी गर्दै पूर्व राजा शाहले यसलाई आफु सक्रिय भएको भन्ने ढंगले नबुझ्न पनि आग्रह गरे । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *