केन्द्रको सहमती जिल्लाले मानेन, जाजरकोटमा एमाले र माओवादीका छुट्टाछुट्टै उम्मेदवार

समताखबर
  ६ कार्तिक २०७४, सोमबार ०३:००

जाजरकोट । चुनावी गठबन्धन हुँदै पार्टी एक तासम्म जाने भनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन जाजरकोटमा लागु हुन सकेन । गठवन्धन घोषणा भएको एक महिना नपुग्दै प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका क्रममा दुबै दलले आ आफ्ना तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएपछि वाम गठबन्धन भत्किएको हो।

प्रतिनिधिसभामा जाजरकोटबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाउने वाम गठबन्धनको सहमति एमालेले गोविन्द्रविक्रम शाहलाई उम्मेदवार बनाएपछि भत्किएको हो। प्रतिनिधिसभा सदस्यका लागि बस्नेतले दिउँसो नै उम्मेदवारी दर्ता गराइसकेका छन् भने एमालेका शाहले भर्खरै उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै प्रदेशतर्फ दुबै क्षेत्रमा एमालेलाई उम्मेदवार बनाउने भन्ने गठबन्धनमा भएको सहमति माओवादीका जिल्ला तहका नेताको असन्तुष्टीपछि भत्किएको थियो।

माओवादीले प्रदेशतर्फ क मा गणेश सिंह र ख मा नरबहादुर कार्कीको उम्मेदवारी दर्ता गराएको छ। माओवादीले आइतबार बिहान मात्र हुम्लामा प्रदेशतर्फ एक सीट एमालेलाई छोडेर जाजरकोटमा लिने भनेर गरेको सहमति अनुसार जाजरकोटबाट प्रदेशसभामा उम्मेदवारी दर्ता गराएको थियो। हुम्लामा एक सिट लिने र जाजरकोटमा छोड्ने सहमतिबारे पार्टी केन्द्रले कुनै जानकारी नदिएकोले आफूहरुले उम्मेदवारी दर्ता गराएको एमालेका प्रदेशतर्फका उम्मेदवार निरज आचार्यले जानकारी दिए। एमालेले प्रदेशतर्फ क मा निरज आचार्यलाई र ख मा करबीर शाहीलाई उम्मेदवार बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *