“जेठभित्र सबै भूकम्प पीडितको पक्की घर हुन्छ”-युवराज भुसाल

समताखबर
  ८ कार्तिक २०७४, बुधबार ११:१३

काठमाडौं । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिईओ युवराज भुसालले पालमुनि रहेका सबै भूकम्प पीडितलाई जेठ मसान्तभित्र नयाँ घरमा सार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रिपोर्टस क्लब नेपालमा आयोजित साक्षात्कारमा सिइओ भुसालले मंसिरभित्र प्रत्येक गाउँपालिकामा इन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्पपीडित जनताहरुलाई नयाँ घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने विश्वास दिलाएका हुन । भुसालले भने, ‘प्राधिकरणको नेतृत्वमा म चौथो व्यक्ति हुँ, यसअघिका सबै सिईओले राम्रै काम गर्नुभएको हो, तर जनतालाई तत्काल परिणाम चाहिने भएकाले केही काम नभएको जस्तो देखिएको मात्रै हो, उहाँहरुले देखाएको बाटोलाई फराकिलो बनाएर हिँड्नेछु ।’

जीवनका ३४ वर्ष सरकारी सेवामा बिताएको स्मरण गर्दै सिइओ भुसालले भने, ‘मेरो पृष्ठभूमि कर्मचारी हो, कर्मचारीहरुले आफ्नो कतव्र्य पुरा गर्ने हो, मुलुक र जनताको सेवामा समर्पित हुने हो, अनावश्यक राजनीतिक दबावलाई सुन्नुपर्छ भन्ने छैन ।’ उनले अघि थपे, ‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक इन्जिनियर उपल्ब्ध गराउनेछौं, इन्जिनियरले नमानेको खण्डमा विकल्प खोजिनेछ, काम गर्ने मानिस चाहिएको छ, हामीले पीडित जनताका आशु पुच्छका लागि हात उठाउनुपर्छ ।’

उनले आफ्नो ३ वर्षे कार्यकाल भरि कसैको दवाबमा नपरी जनताको हितमा काम गर्ने प्रण गर्दै भने, ‘सरकारले मलाई ३ वर्षको जिम्मा दिएको छ, बाँकी केही समय पनि मैले पाउनेछु, यस अवधिमा धरहरा, वसन्तपुर दरबार, सिंहदरवार, रानीपोखरी र भूकम्प प्रभावित जिल्लाका संरचनालाई उठाउनेछु ।’ सिईओ र सचिव परिवर्तन हुँदैमा तत्काल कुनैपनि काम नबन्ने बताउँदै निर्देशक भुसालले कुनैपनि काम विधि र विधानले चल्ने स्पष्ट पारे । उनले भने, ‘कुनै निकायमा कर्मचारी बदल्दैमा काम हुँदैन, परिणाम निकाल्नको लाग त त्यहाँ विधि र नियम चाहिन्छ, त्यसैको आधारमा चल्न सक्ने मानिस चाहिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *