शिक्षक र बालबालिका दुवैलाई पट्यारलाग्दो कक्षाकोठा

मिलन परियार,कार्तिक १

यो कथा शिखर नगरपालिका २ गैरीगडा मुडेगाउँस्थित श्री भागेश्वर आधारभूत विद्यालयका शिक्षक योगेन्द्रराज जैशीको हो । उनी आधारभूत तहमा निजी स्रोतबाट अध्यापन गर्दै आएका छन् । शिक्षकको जिम्मेवारी पाए पनि उनी पढाउने काम मात्र गर्दैनन् ।

पाँच कक्षासम्म पढाइ हुने यस विद्यालयमा एक महिलासहित तीन जना शिक्षक मात्र छन् । कक्षाअनुसार शिक्षक समेत पुग्ने संख्यामा राख्न नसकेको विद्यालयमा कर्मचारीको व्यवस्था हुने कुरै भएन । त्यसकारण पढाउनुको अलावा विद्यालय प्रशासन चलाउने र लेखा राख्ने काम समेत शिक्षक जैशीले नै सम्हाल्दै आएका छन् ।

कक्षा १ देखि ३ सम्म एक्लै पढाउनुपर्ने भएकाले अन्य शिक्षकको तुलनामा उनी दिनभर बढी नै खटिएका हुन्छन् । पहिले विद्यालयका अरु काममा व्यस्त रहने जैशी बालकेन्द्रित शिक्षण सिकाइ तालिम लिएपछि नियमित बालकक्षा संचालनमा केन्द्रित छन् ।

उनले तालिम लिएपछिको बालकेन्द्रित कक्षामा बालबालिकाको संख्या ह्वात्तै बढेको छ । ६ महिना अघिदेखि सुरु भएको बालकेन्द्रित विधिको शिक्षणबाट विद्यालयको सिकाइ उपलब्धि पनि वरपरका अन्य विद्यालयको भन्दा माथि पुगेको छ ।

यस वर्षको स्रोतकेन्द्र स्तरीय मूल्यांकनमा भागेश्वर आधारभूत विद्यालय ६० प्रतिशत अंक ल्याएर प्राथमिक तहको सिकाइ उपलब्धिमा सबैभन्दा अग्रस्थानमा उक्लिएको छ । कक्षाकोठा राम्रो हुनु, विद्यालयको व्यवस्थापन सुध्रिनु, कक्षामा शिक्षक नियमित हुनु र त्योभन्दा पनि महत्वपूर्ण कुरा बालकेन्द्रित शिक्षण सिकाइ प्रक्रियाको थालनी हुनु यो उपलब्धिको मूल कारण हो ।

परिवर्तनको संवाहक बनेका शिक्षक जैशी भन्छन्, ‘कक्षाकोठामा पूरा समय बिताएर उपयुक्त शैक्षिक सामग्रीहरुमार्फत् खेल, कथा, गीत, अभिनय जस्ता कलाहरुको माध्यमबाट मनोरञ्जनात्मक तरिकाले सिकाइको अभ्यास गराउँदा बालबालिका कक्षामा रमाउँदा रहेछन् । यसरी रमाउँदै सिकेको ज्ञान र सीप कहिल्यै नमेटिनेगरी बालमस्तिष्कमा बस्दोरहेछ ।’

जैशीको बुझाइमा तालिमपश्चात् उपलब्ध सामानबाट कक्षाकोठामै शिक्षण सामग्रीहरुको निर्माण, प्रयोग र प्रदर्शन जस्ता कार्यले कक्षाकोठाको वातावरण सिकाइका लागि जीवन्त, उत्प्रेरक र आनन्ददायी बनेको हो ।

शिक्षाको गुणस्तर जगैदेखि उकास्न नेपाल सरकारले जिल्ला शिक्षा कार्यालयहरु मार्फत् कार्यान्वयनमा ल्याउनेगरी बनाएको विद्यालय शिक्षा निर्देशिका बमोजिम बालकेन्द्रित शिक्षण सिकाइको अभ्यासबाट बालमैत्री विद्यालयको प्रवद्र्धन गर्ने भनिएता पनि विद्यालयमा लगानीको अभाव र शिक्षक दरबन्दीको कमीका कारण शिक्षण सिकाइमा अपेक्षा गरेजस्तो सुधार आउन सकेको थिएन ।

शिक्षक जैशीलाई अहिले आएर मूल्यांकन गर्दा यस्तो लाग्छ, ‘विगतमा पढ्ने र पढाउने काम मात्र हुने गथ्र्यो । बालबालिकाले सिके कि सिकेनन् भन्ने कुरालाई ख्याल गरिँदैनथ्यो । उनीहरु विद्यालय आए कक्षामा राखेर पठाइन्थ्यो, नआए पनि अनुपस्थित हुनुको कारणबारे उनीहरुका अभिभावकसँग बुझ्ने चलन थिएन । त्यसमाथि हामी शिक्षकहरु नै कक्षाकोठामा मात्र होइन, विद्यालयमै पूरा समय बिताउँदैनथ्यौँ । अनि हामीमाथि निर्भर बालबालिकाको सिकाइ र हाम्रा विद्यालयको सिकाइ उपलब्धि कसरी राम्रो हुनु !’

डोटीमा सम विकास केन्द्र नेपाल र एक्सनएड नेपालको साझेदारीमा सञ्चालित प्रगतिशील स्थानीय स्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजनाले जैशीजस्ता आधारभूत विद्यालयका प्रारम्भिक कक्षामा पढाउने शिक्षकहरुलाई बालकेन्द्रित शिक्षण सिकाइसम्बन्धी १० दिने तालिम दिएको थियो । त्यसपछि मात्र उनीहरुको क्षमता अभिवृद्धि भई बालबालिकाको सिकाइमा परिवर्तन देखिएको हो ।

परियोजनाले आफ्नो पेशागत ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि गर्ने हरेक क्रियाकलापमा सहभागी हुँदै आएका शिक्षक जैशीले बालिकेन्द्रित शिक्षण सिकाइसम्बन्धी दुई वटा तालिम लिइसकेका छन् । जैशीले पढाउने विद्यालयका उनीसहित दुई जना शिक्षकले यो तालिम पाइसकेका छन् । तालिमले आफ्नो व्यक्तिगत जीवनको मूल्य बढाउनुका साथै पेशागत मर्यादा निकै माथि उठाएको महसुस उनीहरुले गरेका छन् ।

शिक्षक जैशी भन्छन्, ‘तालिम पाउनुअघि हामी कक्षाकोठामा गएर पाठ्यपुस्तकमा जे छ त्यही सरसर्ती पढाउँथ्यौँ । कक्षामा बिताएको समय निकै लामो लाग्थ्यो । आजकाल त समय गएको पत्तै हुँदैन । बालबालिकाले सक्रियतापूर्वक अभ्यास गर्दै रमाईरमाई सिकेको देख्दा हामीलाई पनि खूब आनन्द लाग्छ । हाम्रा बालवालिकाहरु छलफल र अन्तरक्रिया गर्दै सिक्छन् । अभिभावकहरु प्नि समयसमयमा विद्यालय आएर उनीहरुको सिकाइबारे चासो राख्छन् । यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ ।’

सम विकास केन्द्र नेपालले बालकेन्द्रित तालिमसँगै विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षकहरुलाई समेत बालकेन्द्रित शिक्षण सिकाइसम्बन्धी अभिमुखीकरण लगायतका थुप्रै अवसर दिएर क्षमता अभिवृद्धि गर्न सघाएको छ, जसले विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार हुँदै गएको छ ।

यस विद्यालयमा तालिमअघि र पछि देखिएको बालबालिकाको उपस्थितिको अभिलेखले परिवर्तनको बलियो प्रमाण पेश गरेको छ । विद्यालयका शिक्षकहरुलाई तालिम दिनुअघि २०७३ पुसअघि यहाँ १ देखि ३ कक्षासम्म पढ्ने बालबालिकाको औसत हाजीरी महिनामा १६ दिन मात्र थियो । तालिमलगत्तैको महिनामा यो दर बढेर २० दिन पुग्यो । विद्यालय बालमैत्रीतर्फ उन्मुख हुँदै गएको देखाउने यस्ता आधारहरु थपिँदै गएका छन् ।

बालकेन्द्रित शिक्षण सिकाइ तालिमले ल्याएको परिवर्तनबाट शिक्षक, बालबालिका र अभिभावक मात्र नभई जिल्लास्थित शिक्षाका सबै सरोकारवालाहरु खुसी छन् । जिल्ला शिक्षा कार्यालय र स्रोत केन्द्रहरुले समेत परिवर्तनको मापन गरिरहेका छन् । तसर्थ बालकेन्द्रित शिक्षण सिकाइलाई थप प्रभावकारी बनाई अन्य विद्यालयमा पनि बिस्तार गर्न सके सिंगो डोटी जिल्लाकै सामुदायिक विद्यालयहरुको सिकाइ उपलब्धिमा सुधार आउने भागेश्वर आधारभूत विद्यालयका शिक्षक योगेन्द्रराज जैशीको विश्वास छ ।

परियोजनाले बालकेन्द्रित शिक्षण सिकाइ तालिमसँगै विद्यालयहरुलाई शैक्षिक सामग्री, कक्षाकोठा सुधारका लागि भुइँमा ओछ्याउने कार्पेट र कुशन तथा बुक कर्नर लगायतका सामान वितरण गर्छ । यस्तो सहयोगले विद्यालय प्रशासन, शिक्षक र बालबालिका सबैलाई शिक्षण सिकाइप्रति उत्साही बनाएको भागेश्वर आधारभूत विद्यालयकी प्रधानाध्यापक राधिका जोशीको भनाइ छ ।

उनका अनुसार परियोजनाका कारण शिक्षकको क्षमता र विद्यालयको गुणस्तर अभिवृद्धि हुनुका साथै समुदायमा शिक्षा सरोकार समूह, बालक्लब र आमा समूहको गठन र परिचालन भई विभिन्न सामाजिक कार्यहरुमा समेत आर्थिक तथा भौतिक सहयोग पुगेको छ, जसको प्रभावले विद्यालयको शैक्षिक वातावरण सुधार्न मद्दत मिलेको छ ।

स्रोतकेन्द्र स्तरीय सिकाइ उपलब्धि मूल्यांकनमा यो विद्यालयलाई पहिलो बनाउने सफलताको श्रेय परियोजनालाई जाने प्रधानाध्यापक जोशी बताउँछिन् । यस्तो सहयोगका लागि परियोजनालाई धन्यवाद दिँदै उनी भन्छिन्, ‘हाम्रो विद्यालय स्रोतकेन्द्रबाट निकै टाढा छ । जिल्लाको स्रोत पनि पर्याप्त आइपुग्दैन । यस्तो अवस्थामा सम विकास केन्द्र तथा परियोजनाको सहयोग निरन्तर जारी रहनु जरुरी छ ।’

 

प्रकाशित १ कार्तिक २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *