स्मरणमा : कोचीकी ति यूवती 

-जीवन शर्मा 

हामीलाई त्यसै दिन कोचीबाट बैङ्गलोरका लागि हिंड्नु थियो । थप एक दिन कोचीमा बस्नु भनेको अरु एक रातको होटल खर्च अनावश्यक व्योहर्नु  थियो । हामीसँग घर फर्किने दिन छोटिदैं गएकाले पैसाको कमि हुँदै गएको थियो । विमल, म र शैलेश केही दिन अघि उपयुक्त विश्वविद्यालयको खोजी गर्दै केरेलाको कोची पुगेका थियौं । तर हामी त्यहाँ पुग्नु एक हप्ता अगाडि नै प्रवेश परिक्षा सकिएर पढाई शुरु भईसकेको थियो ।

हामीले व्यर्थमा दुई दिन केरेलामा गुजारेका थियौं । अव चाँडै बैङ्गलोर पुग्नु थियो, कतै त्यहाँ पनि प्रवेश परिक्षा उम्किहाल्छ कि भन्ने डर थियो हामीलाई । तर रेलमा दोस्रो क्लासको टिकट पाउन सकेनौं । त्यसै दिन जानै थियो बैङ्गलोर, त्यसैले थर्ड क्लासमा नै बसेर भए पनि बैङ्गलोर जाने निर्णय गरियो । शैलेशले रेलको टिकट लिएर आयो । ट्रेन आइपुग्न अझै दुई घण्टा जति बाँकी थियो । बाँकी समय हामीले कोचीको त्यो व्यस्त रेलवे स्टेशनमा यता उता घुमेर वितायौ । दुई  घण्टा पछि ठिक समयमा रेल आइपुग्यो ।

त्यो भिडमा पहिला त हामीलाई रेल चढ्न नै महाभारत भयो । त्यस माथी थर्ड क्लास । भित्र खुट्टासम्म राख्ने ठाँउ थिएन । कतै टुक्रुक्क सम्म बस्न पाइन्छ कि भनेर रेलका डिब्बाहरु गुजार्यो । बस्न पाउने भाग्य रहेनछ त्यस दिन । अब रातभर उभिएरै यात्रा गर्नु पर्ने हो कि भन्न डरले गाँजिरहेको थियो हामीलाई । एउटा डिब्बामा अलिक खुकुलो रहेछ । हामीले त्यसैमा बस्ने निर्णय ग¥यौ ।  भुईमा ठूल्डूला बोराहरु लडाईएका थिए र हामी त्यही बोराहरुमाथि बस्यौं ।

बोरामाथि टुक्रुक्क बस्न पाएपछि मैले रेलको झ्यालबाट मुश्किलले बाहिर चियाएर हेरें । साँझ पर्न थालेको थियो र आकाशमा गुँडहरुतर्फ फर्किरहेका चराका हुलहरु थिएँ । समुन्द्रबाट साँझपखको चिसो हावा आइरहेको थियो  र त्यसले हल्लाएका नरिवलका पातहरुले हामीलाई हात हल्लाएर विदाई गरिरहे झैं देखिन्थे । रेलको डिब्बा पुरै कोलाहलमय थियो र झ्यालबाट सामान बेच्नेहरुको चर्को आवाजसँग मिसिएर झन् चर्को बनेको थियो ।

कोही पुरै सिटमा एक्लै सुतेका थिए र छेउमा समेत कसैलाई बस्न दिइरहेका थिएनन । घुम्रिएको छोटो कपाल, जुँगाका ठूल्ठूला मुठ्ठा, लामो टुप्पी अनि कालो र चिल्लो अनुहार, कसले जर्वजस्ती गर्ने उनिहरुसगं । मोटा मान्छेहरुको घुइँचोभित्र दक्षिण भारतीय फिल्मका हिरोहरु सम्झेर म भने चुपचाप बोरामाथि बसिरहेको थिएँ । केरेलियन भाषाका संवादहरु नबुझेर हामी वाक्क थियौ । अझ त्यो कोल्लाहलले झण्डै पागल बनाएको थियो हामीलाई ।

रेलले विस्तारै स्टेशन छोड्यो र त्यो कोल्लाहल पनि मधुरो बन्दै गयो । रेल स्टेशनबाट केही पर पुगेपछि केरेलाको मनमोहक हरियाली, नरिवलका घना जङ्गलहरु देखिंदै र हराँउदै गएँ । अब विस्तारै डब्बाभित्रको कोल्लाहाल पनि कम हुँदै थियो । कोही खानेकुराको जोहो गर्दै थिएँ, कोही पोका फुकाँउदै , खाना खाने तयारी गर्र्दै थिए । डिब्बाभित्र सायद एउटा ठुलै परिवार थियो । उनीहरु सबै ठूल्ठूला स्वरमा कुरा गर्दै थिए अगि देखिनै । सायद उनीहरुको खाना खाने सहमति भएको थियो । महिला सदस्यहरु उठेर खानाका डिब्बाहरु निकाल्न थालें ।

हामीसँग भने घरैदेखि लगेको चिउराको पोको थियो, त्यसमा मिसाउन भनेर हामीले केही भुजियाका पोकाहरु किनेका थियौं । साथै केही बिस्कुट र पानीका बोतलहरुको पनि जोहो थियो हामीसँग ।खाना खाने समय फेरि अचानक डिब्बाभित्र हलचल भयो । त्यो परिवार कि एउटा महिला डिब्बाको माथिल्लो सिटमा सुतेका आफ्ना बच्चाहरुलाई उठाउदै थिई । भाषा नबुझे पनि ऊ उसलाई खाना खानका लागि तल उत्रन कराँउदै थिई । उसको त्यो प्रयत्नलाई म अघिदेखि नै नियालिरहेको थिएँ । उसले निक्कै बल गरेपछि ऊ उठेकि थिई ।

त्यो  एउटी सुन्दर युवती थिई । उठेर छरपष्ट भएका केशहरुलाई मिलाई उसले । डिब्बाभित्रको चहकिलो उज्यालोमा उसको अनुहार पुर्णिमाको चन्द्रमा झैंं उज्यालो देखिएको थियो । ऊ निक्कै गोरी थिई । ठूल्ठूला आँखा, लामा आँखी भौ र मिलेको गोलो अनुहारमा ऊ असाध्यै राम्री देखिएकि थिई । काला मान्छेहरुको झुण्डमा अचानक झुल्किएकि ती सुन्दर युवती देखेर म टोलाइरहेको थिएँ । ऊ तल उत्रिई । अनुहार झैं उसको शरिर पनि सुडौल र सुन्दर थियो । उसले नीलो रङ्गको कुर्था सलवार लगाएकि थिई, जसको गला, पाखुराको बाहुला र कुर्थाको फेरा का बुट्टाहरु रातो कपडाले मोडिएको थियो । त्यसले उसको गोरो अनुहारलाई अझै खुलाएको थियो ।

उसले कानमा लामा लामा झुम्काहरु लगाएकि थिई, ती झुम्काहरु सेता र गोला आकारका थिए । कस्सिएको सलवारभित्र देखिएका उसका सुडौला नितम्बहरुले उसको शरिरमा अझ मादकता थपेको थियो  । उनिहरुले डब्बाबाट सबैलाई परौठा, तरकारी र अचार बाँडे अनि कपाकप खान थालें । मलाई ती सुन्दरीले खाएको तरिका पनि कलात्मक लाग्यो किनकि म उसको सौन्दर्यमा मुग्ध भईसकेको थिएँ । उनीहरुमध्ये एक जनाले हामीतर्फ परौठाको डिब्बा बढायो र सोध्यो, कुन देशको हुनुहुन्छ रु हामीले नेपाल र काठमाण्डौबाट आएको भन्ने बितिक्कै उनिहरुले अझ बढि आत्मीयता देखाए । तर हामीले परौठा खान मानेनौ ।

हाम्राबीच केही संवाद भइरहँदा ती सुन्दर युवतीले हामीतिर एक दुईचोटी हेरिसकेकि थिई । म भने उसलाई एकोहोरो हेरिरहेको थिएँ । उसले त्यस रातभर कतिचोटि हामीतिर हेरि, भोलीपल्ट विहान त्यसको ठ्याक्कै हिसाब थियो मसँग ।ऊ असाध्यै सुन्दर थिई र उसको हँसाई पनि असाध्यै लोभलाग्दो थियो । ऊ बेला बेला उन्मुक्त भएर हाँस्थी । कहिले नाक र मुख खुम्चँयाउथि उसै गरि । म भने उसको त्यो चञ्चलता, मादक आँखा र सुडौला अनि बान्की परेको शरिर हेरेर नै मुग्ध थिएँ । यति विछट्टै सुन्दर युवतीलाई यति नजिकबाट कहिल्यै  देखेको थिइन मैले यस अघि ।

मैले एकोहोरो उसलाई हेरिरहेको उसले चाल पाई सकेकि थिई। उसले पनि हेरोस भन्ने चाहनाकासाथ म बेला बेला यसो झ्यालबाहिर हेरे झैं गरिदिन्थें । त्यसबेला ऊ साँच्चै हामीतिर हेर्थि । म चोर पक्रे झैं तुरुन्तै ऊ तिर हेरेर मुस्कुराँउथे, ऊ लाजले आँखा झुकाँउथि । म झन् मरेतुल्य हुन्थे । यसरी नै त्यो रातभर हामीबीच मौन संवाद चलिरयो । ऊ सुतिन र म झन् सुत्ने कुरै भएन । ती सुन्दर केटीलाई एकैछिन हेर्न नछोडिकन मैले सिङ्गो रात कटाएँ । बाहिर सुनसान अँध्यारो थियो र रेलको डिब्बा पनि शान्त थियो । मानिसहरु आँखा चिम्लेर झोक्राए झैं दखिन्थे । बेला बेला झ्यालबाट छिर्ने बाहिरको आवाज बाहेक अरु केही सुनिदैन थियो । बरु बढि त मेरा मुटुका धडकनहरु जोडतोडले चलिरहेको सुनिन्थ्यो । हामीबिच एउटा संवाद भएन त्यस रात तर पनि मौनताले नै लामा लामा कथाहरु हाले ।

सपनाहरु संगाले र जिवनका कहिल्यै विर्सन नसकिने गाढा सम्झनाहरु छोडेर गए । भाषा, उसका परिवारका अन्य सदस्यहरुका कारण त्यो एक रातको यात्रामा हामी चुपचाप थियौ । चुपचाप थिए त हाम्रा आवाजहरु मात्र, वाधक थियो त उसका परिवारहरु मात्र तर कसैले नसुन्ने आवाज बोल्यौ हामीले । नछोइएका स्पर्शहरुले रोमाञ्चित बन्यौ अनि कसैलाई नदेखाइएको प्रेमले ओतप्रोत भयौ हामी । देखेरै मन परायौ हामीले ।

त्यो रातभर डिब्बाभित्र ऊ र म मात्रै जागा थियौं । रेलको यात्रा, रातको अन्धकार र बाहिरको निशब्दताको चिसो हावाका झोकाहरु र यात्रामा मनभित्र आउने उत्सुकता र उन्मुक्तता सबैले हामीलाई मौन प्रेम गर्न सघाइरहेको थियो । त्यहाँ भाषाको कुनै आवश्यकता थिएन ।  जात, धर्म र वर्गको कुनै खाडल थिएन । ति सबैको अभावमा हामी प्राकृतिक थियौ र त्यही भएर प्रेमपूर्ण थियौ, विना कुनै पूर्वाग्रह ।

त्यो रातभर त्यस सुन्दर केटीका आँखाहरुमा मैले यस अघि कहिल्यै पढि नसकेको प्रेमको महाभारत पढ्न सकें । प्रेमको मौन शक्ति र प्रकृतिको उदारता देख्न पाएँ मैले । त्यो सुन्दर केटीले एक रातको यात्रामा धेरै कुराहरु  सिकाई मलाई मौन रुपमा भए पनि । रातभर आँखाहरु झिमिक्क पनि भएन र कूनै आलश्यताले पनि थकाएन मलाई बरु कयौं चोटि रात लम्बिदिए हुन्थ्यो भन्ने कामना गरें मैले । स्टेशनमा लामो समय ट्रेन रोकिंदा खुशी भए बरु ।

जिवनमा पहिलो चोटि कुनै हतार थिएन र एउटी अपचिरित केटीको सुन्दरतामा टक्क अडिएको थिएँ म । ऊ उर्वशी, मेनका र तिलोत्तमाभन्दा अझ बढि राम्री थिई मेरो लागि । कसैप्रति आशक्त हुँदा प्रेम शब्द र हाउभाउमा नै व्यक्त गरि हाल्नु पर्दैन रहेछ । त्यो त आफसे आफ पोखिएर आँउदो रहेछ, रोक्नै नसक्ने गरि ।रेल दगुरिरहयो र मनले पनि लाखौं माइल यात्रा ग-यो सपनाहरुको । मनले रातभर प्रेमका डायरीहरु लेख्यो नथाकिकन । बेला बेला जुँधेका आँखाहरुले अव्यक्त प्रेमलाई लाखौ भोल्टेजहरुले झैं झनै शक्तिशाली बनायो । उसले लुकेर हेरेका क्षणहरुलाई मैले जिवनका लागि कैद गरें सधैैभरि ।

सुन्दर अनुहार, आँखाबाट बर्षिएको अव्यक्त प्रेम र मरिएला झैं बनाउने उसका मधहोस मुस्कानहरु खिल झैं गाडिए सधैंका लागि । मैले सुन्दरताको अर्थ बुझे त्यस दिन । प्रेमको परिभाषा भेटें । प्रेमको शक्तिलाई महशुश गरें र यसको विशालतामा रमाए चुपचाप ।  मात्र एक रातको संवादविहिन यात्रा, अपरिचित यात्रीहरु, नछोइएको शरिर, तर पनि त्यो रात प्रेमको, सुन्दरताको विश्वविद्यालय थियो मेरो लागि, कहिल्यै नपढेको विश्वविद्यालय । रेल रोकिंदा विस्तारै चिरविरहरु सुनिन थाले र मान्छेको चहलपहल पनि बढ्न थाल्यो  । अध्याँरो हराँउदै गयो र झिसमिसे अध्याँरोमा रेल एउटा स्टेशनमा रोकियो । यात्रुहरु धमाधम उत्रिन थाले । उनिहरुले पनि सामानहरु मिलाए ।

ऊ एउटा पानीको बोतल बोकेर मलाई हेर्दै ढोकातिर गई । म चुपचाप उठेर उसको पछि पछि लागे । उसले बोतलको पानीले मुख धोई र मलाई पनि मुख धोउ भने झैं गरेर बोतल दिई । मैले बोतल चुपचाप समाते र मुख धोए । ऊ मुुसुक्क हाँसेर फर्किइ । म डिब्बामा फर्किदा उनीहरु सामान मिलाँउदै थिए । एकैछिन पछि रेल रोकियो । उनिहरु उत्रिए ।  म रेलको ढोकामा उभिएर उनिहरु टाढिँदै गएको हेरिरहें । पूर्व क्षितिजमा रातो लालिमा चढ्दै थियो र विहानको हल्का चिसोमाथि तुषारो थपिएको थियो ।

मान्छेहरु अल्छी मानिमानि हिडिंरहे झै देखिन्थें । ऊ सानो हाते ब्याग बोकेर स्टेशनदेखि टाढा हुँदै गई, नफर्किकन, नहेरिकन । पूर्वबाट उदाएको रातो लालिमाले चम्काएका उसका केशरासीहरुलाई विहानको चिसो हावाले उडाउदै थिए । ती केशरासीहरु आकाशतर्फ उडिरहेका थिए । उसले दिएको बोतल चुपचाप ब्यागभित्र राख्दै म स्टेशनमा उत्रिए । एकै छिन अघिको त्यो सुन्दर ठाँउ भर्खरै शमशानघाट झैं पल्टिएको थियो । मन निरास र उदास भयो । कति चाँडो समय कुरुप र विरुप पनि बन्दो रहेछ । ओठमा अचानक आएको फिस्स हाँसो पनि अल्मलियो त्यसै त्यसै ।

ईमेल : purus.mishra@ gmail.com

 

 

प्रकाशित ८ कार्तिक २०७४, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *