को होला हजुरआमाको सहारा ?

सर्मिला बुढाथोकी,दोलखा कार्तिक १२

साँझ पर्दै गर्दा सदरमुकाम चरिकोटको एउटा घरको चिसो कुनामा ओछ्यानको जोहो गर्दै थिईन्, दोलखा गैरीमुदीकी साइली तामाङ ।

हिमाली काखमा रहेको चरिकोटको चिसो सिरेटो छल्न फ्याँकिएको गद्यामा रात कटाउने तरखरमा रहेकी साइलीले यसैगरी एउटै ठाउँमा रात काट्न थालेको ४ महिना बितिसकेकोे छ । आफ्नो उमेर कति भयो भनेर बताउन समेत नसक्ने उनी त्यस्तै ६५(७० बर्षको जस्तै देखिन्छिन् । आमाको उमेर कति भयो रु भन्ने प्रश्नमा उनले भनिन् ‘म भेडा बर्षमा जन्मेको हुँ, साल त थाहा छैन नानी ।’

छोराबुहारी र नातिनातिनाको सम्मान र सहारा पाउनु पर्ने उमेरमा हात मुख जोर्न चरिकोटमा अरुको घरमा घास काट्ने र बारीको काम गर्दै आएकी छन् उनी । खाने गाँस त छैन बस्ने बास समेत नभएकोले रेडियो शैलुङ रहेको घरको बाहिरी एक कुनामा रात कटाउछिन् । अझ विडम्बना त के भने डाँडापारिको जुन भइसकेकी साइलीले पेट पाल्न मजदुरी गरेको पैसा समेत पाएकी छैनन् । पैसा नभएकै कारण तातो कोठामा बस्न नसकेको र पेटभरि खान समेत मुस्किल भएको उनले बताइन् ।

दुई छाक टार्नकै लागि छिमेकीको घाँस काट्ने, कोदो टिप्ने लगायतका काम गर्छिन् तर त्यस बाफत पैसानै नपाउने साइलीको गुनासो छ । काम गरे बापत कस्ले कति दिन बाँकी छ भन्ने स्पष्ट हिसाब समेत थाहा छैन उनलाई । त्यसैले साइलीलाई धेरैले सित्तैमा काम गराउँछन् तर पैसा दिदैनन् ।

राज्यले जेष्ठ नागरिकलाई सेवा सुविधा दिन्छ भन्ने बारेमा पनि जानकारी रहेनछ । आफुसँग नागरिकता पनि नभएको र नागरिकता बनाए की बनाइन भन्ने सम्झना समेत नरहेको उनले बताइन । साइलीले महिला खबरसँग भनिन्, ‘नागरिकता सम्बन्धमा कुनै याद छैन । सरकारी भत्ता भनेको के हो त्यो पनि थाहा छैन । सक्नुहुन्छ भने भत्ता आउने बाटो बनाइदिनुस् नानी ।’

आफ्नो छोरीहरु भए पनि उनीहरु आ–आफ्नो घर गई सकेकोले आफू एक्लै भएको उनले बताईन । घर छ की छैन, घरमा को–को छन् भन्ने बारे उनी बताउन चाहदिनन् । घर फर्कने अवस्था नभएको भन्दै साइली, कसैले राम्रो ठाउँमा बासको व्यवस्था गरिदिए बुढेसकालमा सजिलो हुने बताउछिन् । ‘बुढेसकालमा मजदुरी गरेर गुजारा गर्न पनि सक्दिन, घर फर्कने अवस्था पनि छैन’ उनले निरास हुँदै भनिन्, ‘मलाई आफन्तको भन्दा पनि सहाराको खाँचो छ । कसैले बुढेसकालमा बस्ने व्यवस्था मात्रै गरिदिए पनि ठुलो धर्म लाग्ने थियो । एभ्रीडेखबरबाट

प्रकाशित १२ कार्तिक २०७४, आईतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *