बाजुराको विकट स्थानमा जिएसएम सेवा सञ्चालन

काठमाडौं,कार्तिक १२

नेपाल टेलिकमले बाजुरा जिल्लाको विकट स्थान बाधु र बिच्छामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । यस भन्दा पहिले यी ठाँउमा कुनै पनि सञ्चार सुविधा उपलब्ध थिएन । बाधुमा गत असोज ३१ गते र बिच्छामा कात्तिक ७ गते देखि सेवा सञ्चालनमा ल्याइएको हो ।

बाधुमा जडान गरिएको बिटिएस मार्फत बाजुराको साविकका पाण्डव गुफा, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाको केही भाग, मुगुको सुखाढिक, कोटडाँडा र ह्याग्लु, कालिकोटको पूर्वी भेग, कर्णाली कोरिडोरको केही भेग तथा कोल्टी–रारा पदमार्गमा सेवा उपलब्ध हुनेछ । यसबाट यो क्षेत्रका करिब ४ हजार घरधुरी लाभान्वित हुने छन् । त्यसैगरी बिच्छामा जडान गरिएको बिटिएस मार्फत बाजुराका साविकका बिच्छा, रुगिन, मदना तथा मैला गाविसका करिब ३ हजार घरधुरी लाभान्वित हुने छन् ।

सोलार र भिस्याट प्रविधिको प्रयोग गरी बिटिएस टावर सञ्चालनमा ल्याइएर नेपाल टेलिकमले सेवा शुभारम्भ गरेको अवसरमा सेवा सञ्चालन गरेकै स्थानमा सहज रुपमा निःशुल्क सिम वितरण समेत गरेको छ । स्थानीय सेवाग्राहीहरु सिम प्राप्त गर्नका लागि दुई-तीन दिन हिडेर सदरमुकाम मार्तडी आउनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क सिम वितरण गरिएका टेलिकमले जानकारी दिएको छ ।

केही समयसम्म निःशुल्क रुपमा सिम उपलब्ध गराउनका लागि गाउँपालिकालाई जिम्मेवारी प्रदान गरिएको छ । हालसम्म कुनै पनि किसिमको सञ्चार सेवाबाट बन्चित दुर्गम स्थानहरुमा समेत क्रमशः नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीको लक्ष्य अनुरुप दुई स्थानमा सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले विज्ञप्ती मार्फत बताइन ।

प्रकाशित १२ कार्तिक २०७४, आईतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *