किसानलाई गाउँ फर्काउन कृषि–वन नीति

काठमाडौँ । सरकारले बाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि–वन नीति ल्याउने भएको छ । नेपालमा कृषि वन खेतीको थुप्रै सम्भावना रहेकाले कृषि वन नीति अपरिहार्य रहेकोे छ । दोहोरो खेती प्रणालीको वैज्ञानिक नाम कृषि वन खेती हो ।

शहरमा खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण भएका स–साना टुक्रा जमिन खरिद गरी शहरमा रम्न चाहने गाउँबेँसी गर्ने ग्रामीण किसानलाई गाउँ फर्काउने उद्देश्यले कृषि–वन नीति ल्याउन लागिएको बताइन्छ ।

विश्वमा कृषि–वन नीति तयार गर्ने पहिलो राष्ट्र भारत हो । भारतले आफ्ना १९ प्रान्तमा कृषि–वन नीतिअनुरुप खेतीपाती गरेको छ । यद्यपि नीति नभए पनि विश्वका ५२ देशमा भने कृषि वन अवधारणाअनुरुप खेती गरेको पाइन्छ ।

कृषि विकास मन्त्रालयले नेपाली युवा–युवती वैदेशिक रोजगारमा जाने र बूढापाका शहरमा बस्ने आदतका कारण गाउँघरका उर्वर जमिन बाँझिएपछि उनीहरुलाई गाउँ फर्किने वातावरण मिलाउने तयारीमा कृषि–वन नीति ल्याउन जुटेको छ ।

सामुदायिक वनमा खेती गर्न सकिने, निजी वनमा कटानी टाँच व्यवधानमा कमी हुने आदि सहजीकरण नीतिमा समावेश गरिने भएको छ । हाल विश्वका १८ मुलुकमा ४० लाखभन्दा बढी नेपालीले काम गर्दै आएको र उनीहरुबाट यस वर्ष छ खर्बभन्दा बढी विप्रेषण नेपाललाई प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँ फरेस्ट्री क्याम्पसका प्राध्यापक मुरारीप्रसाद जोशीका अनुसार अन्नबाली उत्पादनमा लाग्दा कृषि मजदुरको अभाव र ज्यामी ज्याला धेरै लाग्ने भएपछि बूढापाका खेती गर्न छोडी शहर पलायन भएको बताए ।

कृषि वन नीतिका लागि कृषि तथा वन मन्त्रालय, पशुपक्षी र सिँचाइ मन्त्रालयको महत्वपूर्ण समन्वयकारी भूमिका हुन्छ । खेतका गह्रामा धान खेती गर्न सकिन्छ ।

कान्ला र डिलमा घाँसखेती, त्यस्तै खोल्सीमा उत्पादन दिने अम्बा, अदुवा, बेसार, अलैँची, अम्रिसो अर्थात् अन्य कुनै जातका बोटबिरुवा लगाई थप आम्दानी लिन सक्ने खेतीलाई कृषि–वन खेती भनी परिभाषित गरेको पाइन्छ ।

मुस्ताङमा स्याउ खेती गरिन्छ । स्याउ खेतीभित्र सिमी, मास भटमास, गहत, मस्याङ, फापर, कोदो उत्पादन गरिन्छ । त्यस्तै चितवनको केरा खेतीभित्र अदुवा, बेसार र माछा पोखरी वरिपरि केराका बोट अर्थात् चिउरीका बिरुवा लगाई मह उत्पादन गरेको भेटिन्छ ।

छ कात्तिक महिनाको १५ गतेबाट कृषि, वन, भूमिसुधार, सिँचाइ, पशुपक्षी विकास मन्त्रालयको विज्ञ टोली कृषि वन नीति बनाउन रचनात्मक सुझाव संकलन गर्ने उद्देश्यले धुलिखेलमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *