पर्यटन नगरी गोदावरी समृद्ध गरिने

ललितपुर । काठमाडौँबाट १५ किलोमिटर दक्षिणी भेगमा अवस्थित गोदावरी नगरपालिकालाई आगामी ५ वर्ष्भित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’को रुपमा विकसित गरिने भएको छ ।

अँग्रेजी अक्षरको सी आकारमा रहेको यस नगरपालिकालाई साँच्चिकै समृद्ध बनाउन नगरका पदाधिकारी, वडाध्यक्ष, समाजसेवी, वुद्धिजीवी, नागरिक समाज, शिक्षाप्रेमीलगायत लागिपरेका छन् ।

पर्यटन नगरी निर्माणमा यहाँका स्रोत साधनलाई सदुपयोग गरिने लक्ष्य रहेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । नगरभित्र पर्यटकीय क्षेत्रको रुपमा विभिन्न स्थान विस्तार गरिने योजना बनाइएको छ ।

पर्यटकीय क्षेत्र विकासका लागि वडा नं ३ मा अवस्थित गोदावरीमा रहेको विशंखुनारायणको कोटडांडा, ७ मा रहेको सुन्तलीडांडा, १० को भांगावन, ५ को मनकामना मन्दिर, १३ को सन्तानेश्वर, १० को बज्रबाराही मन्दिर तथा ६ नं वडामा पर्ने टीकाभैरव मन्दिरलगायतका क्षेत्रमा गुरुयोजना लागू गरिने नगरप्रमुख महर्जन बताउछन् ।

पर्यटक आकर्षित गर्न सुन्तलीडाँडा तथा कोटडाँडामा होमस्टेको अवधारणा ल्याइने महर्जनले बताए । सो क्षेत्रमा नयाँ निर्माण हुने संरचना पर्यटनमैत्री हुनेछन् ।मिर्मिरे उज्यालोमा चियाको चुस्कीसँगै काठमाडौँको मनमोहक दृश्यलाई क्यामरामा कैद गर्न सकिने छ ।

यहाँबाट हिमालको समेत तस्वीर लिन सकिने छ । पर्यटन क्षेत्रको विकासले नै आम नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्ने महर्जन बताए ।

गोदावरी नगरपालिका ५ का वडाध्यक्ष मिलन सिलवाल यहाँ स्थापना गरिएको मनकामना मन्दिरलाई थप व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने बताए । उपत्यकाबाट नजिकै रहेको उक्त मन्दिरमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्ने उनीले बताए ।

नगरप्रमुख तथा उपप्रमुखको मात्र जिम्मेवारी नभई वडाध्यक्षको पनि रहेको वडा नं का वडाध्यक्ष भास्कर थापा बताए । समृद्ध नगर बनाउन कृषि, पर्यटन, पशुपालन, उद्योगलगायतका क्षेत्रको समेत विकास गरिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *