जातिय विभेदको अन्त्य कहिले हुन्छ सरकार ?

– भरत परियार

संसारको उत्पति र मानव जातिको उत्पति मलाई लाग्छ यो प्रकृया सँगसँगै भएको हुनुपर्छ । मानव विकासको प्रकृयासँगै अनेकौ प्रकारका प्रविधि मानव विज्ञानले आविष्कार गरेको छ । यो प्रकृया मानिसले नै विकास गरेको छ । संसारमा मानिस उत्पत्ति हुँदा देखिनै त्यहाँ जात दुई प्रकार रहेको हामीले पाएका छौ, त्यसमा पनि पुरुष र महिला भनेर परिभाषित गरेको मैले पाएको छु । मानिस यस्तो प्राणी हो जस्ले चन्द्रमा, ग्रह–उपग्रहमा गएर सर्वेक्षण गरिसकेका छन् भने यो संसार केही क्षणमा नै ध्वस्त पार्न सक्ने उपकरणहरु पनि मानिसले आफैले आविष्कार गरिसकेका छन् ।

अर्कोतिर रकेट, लन्च, मिसाइल जस्ता यन्त्र प्रक्षेपण गरेर उत्तर कोरिया जस्ता राष्ट्रले पृथ्वीमा भूकम्प समेत ल्याएको समाचार हामीले सुनेकै छौं । संसारमा मानिसको विकास पनि यतिसम्म भएको छ की जसले विज्ञानका थुप्रै आविष्कारहरु गरिसकेका छन् । मानिसले कृतिम मानिस (रोबर्ट) बनाई सकेका छन् । जसले मानिस जस्तै काम गर्न सक्ने पनि यिनै मानिसले बनाइसकेका छन् । साँच्चिकै आज विश्व २१ औं शताब्दीमा आइरहँदा विश्वले अनेकौं प्रकारका परिवर्तनहरु गरिसकेका छन् र मानव समाजले संसारलाई अत्याधुनिक युगका रुपमा एक आपसमा चिनारी गराउन सफल रहेको छ र संसार कहाबाट कहाँ पुगिसक्यो ?
दुर्भाग्य 
नेपालमा अहिले पनि जातिय विभेदका घटनाहरु घट्ने क्रम यथावत नै रहेका छन् ।
नेपालको ईतिहासमा विभिन्न समयमा विभिन्न किसिमका राजनीतिक परिवर्तनहरु भएका छन् ।

नेपालको पछिल्लो १ सयवर्षको ईतिहासमा विभिन्न परिवर्तनहरु र आन्दोलनहरुले भरपुर छ । राजनीतिक आन्दोलनले नेपाली समाजलाई परिवर्तनको मूल प्रवाह निर्माण गरेको छ । ती आन्दोलनहरुले पक्कै पनि त्यस समय अनुसार योगदान गरे । चाहे ती आन्दोलनले जबर्जस्त ढंगले राजनीतिक परिवर्तनहरु ल्याएता पनि राजनीतिक आन्दोलनका साथसाथै बौद्धिक र मनोक्रान्ति आन्दोलनले मात्र समाजलाई चलाएमान र परिवर्तन गर्न सक्ने मेरो बुझाई रहेको छ ।

२००७ सालमा प्रजातान्त्रिक परिर्वतन, २०४६ को प्रजातान्त्रिक परिवर्तन र २०६२÷०६३ को जनआन्दोलनबाट ऐतिहासिक परिवर्तन पश्चात २०७२ सालको संवैधानिक अधिकार दलितहरुको लागि जातिय विभेदको मुद्दा संवैधानिक अधिकार सुनिश्चित रहेता पनि कानुनमा मानव–मानव वीच विभेद गर्न पाईदैन भनेर लेखिएता पनि अझै पनि हाम्रो समाजमा थुप्रै जातिय विभेदका घटनाहरु घटिरहेकै छन् किन सरकार…?

यसमा कस्को भूमिका के रहन्छ भन्ने मुख्य प्रश्न रहन्छ ? राज्यको, समाजको र व्यक्तिको ।
पहिलो कुरा त व्यक्तिबाट विभेदको अन्त्य गर्नका लागि व्यवहारिक रुपमा कार्यान्वयन गर्नु पर्छ र समाजले जातिय विभेदलाई निरुत्साहित गर्नुपर्छ भने अर्कोतिर राज्यले समाजमा भएको विभेदका घटना संलग्न भएको व्यक्तिलाई छुट दिनुहुँदैन र कडाभन्दा कडा कानूनी कारवाही गरिनुपर्छ । कानुन बनाएर मात्र हुँदैन । कागजको पानामा लेख्दैमा जातिय विभेदको अन्य हुन्थ्यो भने २०४७ सालको संविधानमा पनि कागजमा उल्लेखित थियो तर अहिले २१ औं शताब्दीमा आईपुग्दा पनि हाम्रो नेपालमा विभेद अन्त्य हुन सकिरहेको छैन, यसको कारण के हो सरकार ?

यहाँ शीप र जातलाई एउटै स्थान दिएर किन दलित बनाईयो ? मानिसको ईज्जत ढाक्ने शीपलाई किन दलित बनाईयो । म गन्धर्वको छोरा भनेर कहिले गर्व गर्ने ? किनकी त्यहा विभेद छ र त खुलेर म परियारको छोरा हुँ, विश्वकर्माको छोरा हुँ भनेर भन्न नसकिने अवस्था छ । यो अवस्था सृजना गर्ने त राज्य नै हो । जातकै नामको बिल्ला भिराएर विभेदमा सँधै पारिराख्ने हो भने अब सम्पूर्ण दलितहले दलित नामको जात नराख्ने र बिभेदमा नपर्ने अरुनै जात राख्न आवश्यक देखिएको छ । किन की त्यहाँ विभेद हुँदैन । उदाहरणको लागि जस्तैः शर्मा, अधिकारी, चन्द, नेपाल, विश्वास, विश्वासी जस्ता थरहरु नेपाली नागरिकतामा राख्न दिनुपर्छ । वास्तवमा नागरिकतामा भएको थरकै करणले पनि दलित बनाएर छुट्याएको छ । जस्तैः परियार जातिको पनि थर कार्की अथवा सुनाम रहेको हुन्छ । कार्की अथवा सुनाम नागरिकतामा लेखेको छ भने जातिय विभेदमा केही हदसम्म नपरेको तर परियार अथवा विश्वकर्मा लेखेको विभेदमा पर्ने यो कस्तो नेपाली समाज हो ? यो कस्तो देश हो, यो कस्तो सरकार हो ? र यो कस्तो संस्कार हो ?

श्रम र शीपका धनी दलित समुदाय धेरै रहेको मैले पाएको छु । के पेशाकै कारण शीप जानेकै कारण अझै पनि विभेदमा पर्ने हो भने सम्पूर्ण दलित समुदायहरुले परम्परागत शीप छोड्न वाध्य हुनु पर्नेछ। गाउँगाउँमा कपडा सिलाउँने, फलाम पिट्ने, जुत्ता सिलाउने, सारङ्गी बजाउने धेरै दलित युवाहरु विस्तापित हुँदै छन् । किन भने उनीहरुको बुबा आमाले पेशा गरेकै कारण जातिय विभेदमा परे र त्यही विभेदको पीडा खप्न नसकेर पेशा छोडी अहिलेका थुप्रै युवा पुस्ताहरु पेशागत शीपहरु छाडेर वैदेशिक रोजगारीका लागि खाडी मुलुकका थुप्रै देशहरुमा आप्नो रगत पसिना बगाउन वाध्य भएका छन् । अझै पनि थुप्रै दलित युवाहरु यही विभेद र आर्थिक अभावकै कारणले पनि लाखौं दलित युवा पुस्ताहरु विदेशीन वाध्य भएका छन् ।

हामी नेपाली र हाम्रो नेपाली समाजले यो गाडेको रुखलाई जरैबाट उखेलेर फाल्न अत्यन्तै जरुरी छ । यसको सुरुवात आफैबाट गर्नु पर्ने देखिएको छ । आदर्शका फुस्रा कुरा र भाषण त जस्ले पनि गर्न सक्छ तर वास्तिविक रुपमा व्यवहारमा उतार्न यसलाई अवलम्बन र स्वीकार गर्न सक्नुपर्छ । यो नै वास्तविक यथार्थ हो । मैले देखेको अर्को कमजोरी के हो भने दलितहरु अझै पनि विभेदको पीडा सहेर बस्ने र कानुनले दिएको अधिकारहरुलाई पनि राज्यको ढोकासम्म नपु¥याउनाले पनि यस्ता खालका घटना घटाउने समाजलाई प्रसय मिलिरहेको छ भने कानुनले पनि विभेदमा संलग्न व्यक्तिहरुलाई छुट दिनाले पनि समाजमा यस्ता विभेदका घटनाहरुले निरन्तरता पाइरहेका छन्। अहिले पनि हामीले देख्दै छौं आफैले बनाएको भगवानको मूर्तिमा आफैले पुज्न पाउँदैनन दलितहरु । त्यही मन्दिरभित्र पस्न पाउँदैन दलितहरु किन ?

हामी यस्तो खालको कुसंस्कारको जन्जीरबाट बाँचिरहेका छौं । यस्तो खालको दलनबाट मुक्ति पाउन विकल्प खोज्नै पर्छ, होइन भने यो जन्जिरबाट दलितहरुले कहिले पनि मुक्ति पाउने सम्भावना मैले देखेको छैन ।
नेपालको थुप्रै शहरहरुमा त केही हदसम्म विभेदका घटनाहरु घटेको सुन्नमा कमी आएको छ । यद्यपी गाउँगाउँका थुप्रै दुरदराजका वस्तीहरुमा गएर बुभ्mनु पर्छ साँच्चिकै दलितहरुको अवस्था के छ ?

उनीहरु कसरी बाचेका छन् ? उनीहरुको अवस्था कस्तो छ ? दलितसँग सम्बन्धीत संघ–संस्थाहरुले गहिरो रुपमा निरीक्षण गर्न अत्यन्तै जरुरी छ । जस्तैः कालिकोट, सल्यान, दैलेख, रुकुम, रोल्पा, जाजरकोट जस्ता जिल्लाहरु समग्रमा सुदुरपश्चिमाञ्चल क्षेत्रलगायत तराईका मुसहर वस्तीहरुमा गएर त्यहाँको अवस्था के छ भनेर हेर्न र बुभ्mन सक्नुहुन्छ।
यि थुप्रै पश्नहरुको एउटै जड जातिय विभेद सुरुवात कहाबाट र कसरी सुरुवात भयो यो नै पहिलो कुरा हो । मलाई लाग्छ सत्य कुरा अलि तितो पनि हुन्छ ।

हामी कुन समाजबाट हुर्केका छौं? हुन धरातलबाट आएका छौं ? र हामीले कस्तो संस्कार मान्दै छौं र त्यसले हाम्रो समाजमा कस्तो नकारात्मक असर परिरहेको छ भन्ने कुरा मुख्य प्रश्न रहन्छ । यद्यपि एशियाका थुप्रै देशहरुमध्ये भारत र विशेष गरी नेपालमा हिन्दु बहुलवाद हावी रहेको र हिन्दु वर्ण व्यवस्थाले दलितहरुमाथि थुपारिरहेको दलनले पनि जातिय विभेदले निरन्तरता पाइरहेको छ भने वर्ण व्यवस्थाले संस्थागत गरेको विभेदले थुप्रै जातजातिहरुबीच पनि विभेद रहेको मैले पाएको छु ।
पछिल्लो समयमा समाजमा घटिरहेका जातिय विभेदका थुप्रै ज्वलन्त उदाहरणहरु रहेको र हाम्रो समाजमा घटेको कहाली लाग्दो घटनाको पनि स्मरण गर्न चाहन्छु जस्तैः बोक्सीको आरोपमा हत्या गरिएकी सानो बाङथली, काभ्रेकी लक्ष्मी परियारको गतवर्ष २०७३ मंसिर २० गते स्थानीय सूर्यदय माध्यमिक विद्यालयको प्राङ्गणमा बोक्सीको आरोप लगाइ मल, मूत्र खुवाई कुट–पीट गरी नाम्लोले बाधेर, दाउराको चिरपटले कूर आक्रमण गरी हत्या गरिएको घटनाले पनि हामी सम्पूर्ण दलितहरुलाई स्तब्ध बनाएको छ ।
यस्ता खालका विभेदका घटनाहरुले साच्चिकै दलितहरुको अवस्था कस्तो छ भन्ने ज्वलन्त उहारण हो भने अर्कोतिर सुर्खेतको लेकवेशी नगरपालिका, साटाखानीमा धारामा पानी छोएको आरोपमा दलित महिला टिकाकुमारी मिजारलाई गम्भिर कुटपिट गरिएको घटना जस्ता लाखौं घटनाहरु हाम्रो नेपाली समाजमा अहिले पनि घटिरहेका छन् भने हाम्रो देश, हाम्रो समाज कहाँ छ र हाम्रो चिन्तन कहासम्म छ ?

एक पटक फेरि गम्भीर भएर मनन गर्न अत्यन्तै जरुरी छ ।
नेपालका धेरै पार्टीहरुले दलितहरुलाई मूल प्रवाहमा राखेर राजनीतिक एजेन्डा बनाउने र फाईदा लिने काम थुप्रै राजनीतिक दल, पार्टी र नेताहरुले गरेको र थुप्रै राजनीतिक परिवर्तन पश्चात पनि दलितहरुको मुद्दा जहिले पनि ओझेलमा पारेको र कार्यान्वयन नभएको मैले पाएको छु ।

त्यसो त जहिले पनि दलित समुदायहरुलाई चुनाव ताका हरेक राजनीतिक पार्टीका लागि निकै प्यारा बन्छन् दलितहरु । भाषणमा महान जनता भनी सम्बोधन गर्छन् र अरु बेला छिछि र दुरदुरको व्यवहार गर्नेहरु चुनावको बेला तिनै दलित समुदायको घरभित्र पसेर खाना समेत खाएर जातिय समानताको नाटक मञ्चन गर्ने र उनीहरुलाई जातिय मुक्तिको आश्वान दिन समेत पछि पर्दैनन् तर चुनाव सकिएपछि राजनीतिक नेता, कार्यकर्ताहरुले दलितहरुलाई हेप्ने, विभेद गर्ने प्रवृत्ति उही पुरानै रहँदै आएको छ ।

सिंहदरबार भित्र मात्र बसेर दलितहरुको मुद्दा देखिदैन ।
जातिय विभेदको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ, बच्चा जन्माउदाको पीडा सन्तानको आमालाई मात्र थाहा हुन्छ । विभेदको पीडा कस्तो हुन्छ ? दलितहरुलाई मात्र थाहा हुन्छ । विभेद गर्ने मानिसहरुलाई के थाहा ?
यहाँ दलितहरुको रगत चल्ने रे, जात नचल्ने रे, शीप चल्ने रे, श्रम चल्ने रे तर पानी नचल्ने रे यो कस्तो विडम्बना हो सरकार ?
त्यसैले यहाँ मानिसहरुका मानसिकता, मन परिवर्तन हुन जरुरी छ । व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी छ ।
दलित भनेर वास्तवमा गरीबहरुलाई परिभाषित गरेको भए राम्रो हुने थियो । पेशा गरेकै कारण दलित बनाइयो। यो कम्जोरी वास्तवमा राजनीतिक दल र राज्यको कमजोरी हो भने अर्को तर्फ राज्यले दिएको आरक्षण कोटाको नाममा लाखौ दलितहरुलाई थप जातिय विभेदको घटनाले प्रसय पाइरहेका छन् । यसको पनि अन्त्य हुन अन्त्यन्तै जरुरी छ।
अन्त्यमा,

राज्यले यो मुद्दालाई गम्भीरतापूर्वक लिई कानुनी कारवाही गरी जातिय विभेदमा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा कारवाही गरी समातामूलक समाजको निर्माण गरी जातिय विभेदका घटनाहरुलाई साँच्चिकै अन्त्य गर्नुपर्छ र नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति, कुसंस्कार र विसंगतिहरुलाई नेपालका राजनीतिक पार्टीका दलहरुले साँच्चिकै संयुक्त रुपमा आत्मासाथ गरी साझा एजेन्डा बनाएर समाधानका लागि साझा प्रयास गरियो भने मात्र हामीले परिकल्पना गरे जस्तो समतामूलक समाज र राष्ट्र निर्माण हुन सक्छ । यद्यपि यो गरिएन भने राष्ट्रका लाखौं दलित समुदायहरु जातिय विभेदको भुमरीमा रुमल्ली रहनु पर्ने छ र दलित समुदायको अवस्था जहाको तही रही रहने छ ।

प्रकाशित २४ कार्तिक २०७४, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *