
डोटीमा पाँच सय १२ जना एचआईभी संक्रमितहरु बाँकी जिउन बाँच्नका लागि नियमित रुपमा औषधी सेवन गर्न थालेका छन् ।
नियमित औषधी सेवन गर्नेहरु फुर्तिलो भई सहज जिवनयापन गर्दै आएका छन् । औषधी सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भनि जानकारी नपाएकाहरुको भने अनाहकमा ज्यान गएको छ । एचआईभी/एड्सका कारण डोटीमा हालसम्म एक सय एघार जना मानिसको मृत्यु भएको छ ।
डोटी जिल्लाकै इतिहासमा आर्थिक बर्ष २०७३/७४ सम्ममा एचआईभी/एड्सका कारण उक्त संख्यामा मानिसले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिष बिष्टले जानकारी दिए ।
आर्थिक वर्ष २०७१/७२ मा एचआईभी/एड्सका कारण मृत्यु हुनेको संख्या ८७ थियो भने आर्थिक बर्ष २०७२/७३ मा ९४ जना पुगेको थियो ।जिल्लामा जम्मा ९ सय ३१ जना एचआइभी संक्रमितको संख्या रहेकोमा त्यसमध्ये ७ सय १५ जनाले एआरटी सेवन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका एमडिजिपि डाक्टर गिरिस अवस्थीले जानकारी दिए ।
आर्थिक बर्ष २०७१/०७२ मा एआरटी सेवन गर्नेको संख्या ४ सय ३१ थियो भने आर्थिक वर्ष २०७२/०७३ मा आएर ५ सय १२ जना पुगेको थियो ।
डोटीमा खासगरी कामको शिलशिलामा भारत जाने पुरुषहरुले असुरक्षित यौन सम्पर्क गर्दा उनिहरुबाटै एचआईभिको संक्रमण बढ्ने गरेको बताईन्छ ।
उनीहरुबाट तिनका श्रीमतीहरु समेत संक्रमित हुने गरेको र संक्रमित आमाबाट जन्मेका सन्तानहरुमा नयाँ संक्रमण बढी पाईएको बताईन्छ ।
Leave a Reply