प्रकाश दाहालको ज्यान लिने हृदयघात के हो ? किन हुन्छ र कसरी बच्‍ने ?

पछिल्लो पटक युवाहरु हर्ट अट्याक (हृदयघात) का शिकार हुन थालेका छन् । काठमाडौंको शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी बढ्न थालेका छन् ।

आइतबार विहानमात्रै प्रकाश दाहालको निधन भएको छ । प्रकाश त प्रचण्डका छोरा भएकाले सबैले जानकारी पाए र समवेदन दिन पाए तर दिनहु जसो युवा पुस्ता यही हर्ट अट्याकको शिकार भइरहेका छन् ।

के हो त हर्ट अट्याक ? यो कसरी हुन्छ र कसरी बच्नेबारे जान्नुपर्छ

हृदयाघात के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगमध्ये हृदयाघातले विश्वमा वर्षेनी सबैभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ। त्यसमा पनि हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ।

चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो। यसले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ। मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ। त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ।

तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्छ। जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन। यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ। यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ। मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ। यो अवस्थालाई हृदयाघात भएको भनिन्छ।

युवामा किन ?

बरिष्ठ मुटुरोग सर्जन डा. भगवान कोइराला भन्छन्, ‘युवाहरूमा हृदयाघात देखिनुको प्रमुख कारण नै धूमपान, मोटोपन र अस्वस्थ जीवनशैली नै हो ।’ उनका अनुसार ४० वर्षभन्दा कम उमेरका व्यक्तिलाई हृदयाघात देखिएको छ भने तीमध्ये ९८ प्रतिशत व्यक्तिहरू धूमपानको लतमा रहेको पाइन्छ । बाँकीमा भने अन्य समस्याका कारण हृदयाघात भएको हुनसक्छ ।

डा. कोइरालाका अनुसार सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गएको छ। सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसहरूलाई कोलेस्टेरोल, मोटोपन र उच्चरक्तचापजस्ता हृदयाघातका कारणलाई जन्म दिइरहेको छ।

‘विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले हृदयरोगीको संख्या बढाइरहेको छ’, डा. कोइरालाले भने, ‘झन् युवापुस्तामा धूमपानको लतले त कलिलै उमेरमा रोगी बनाउन थालिसकेको छ ।’

वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले त उपचारका क्रममा १७ वर्षका युवामा समेत हृदयाघातको जोखिम रहेको फेला पारेका छन् । उनका अनुसार मोटोपनसँगै अत्याधिक धूमपान गर्ने ती युवा समयमा नै उपचारका लागि आएकाले हृदयाघातको जोखिमबाट जोगिएका थिए।

हृदयाघातका कारण

मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन्। त्यसकारण हृदयाघात पनि जीवनशैली र खानपानका कारण हुने रोग हो। बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, महत्वाकांक्षा, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूमपानको लत, अत्याधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन। तीमध्ये धूमपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सवैभन्दा ठुलो कारकका रुपमा लिइन्छ ।

 

चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग

चिकित्सकका अनुसार चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदै गैरहेको छ। चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ। जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत र्पुयाउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुने मुटुरोग विशेषज्ञ डा ओममुर्ति अनिल बताउँछन्।

उच्च रक्तचाप

उच्च रक्तचाप पनि हृदयाघातको अर्को कारण हो। समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले हृदयाघातको सामना गर्नुपरिरहेको चिकित्सकहरूको भनाइ छ। उच्च रक्तचापले दबाब बढाउँदा रक्तनलीमा विभिन्न थेग्रोहरू जम्न मद्दत र्पुयाउँछ र त्यो प्रक्रिया बढ्दै जादा रगतको प्रवाह बन्द हुने डा रेग्मी बताउँछन्।

मधुमेह

हृदयाघातको अर्को कारण मधुमेह पनि हो। शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो। मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ। नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ।

मुटुरोग विशेषज्ञ डा रेग्मीले कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण रहेको जानकारी दिए। उनका अनुसार तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न गराउँछन् र ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ। जसका कारण रक्तनलीमा थेग्रो जम्न जान्छ।

तनाव

तनावले पनि रक्तचाप र मुटुको चाल बढाउँछ। जसबाट अन्ततः हृदयाघातसम्म गराउँछ।

व्यायामको कमी

हृदयाघातको अर्को कारण व्यायामको कमी पनि हो। शारीरिक श्रम तथा व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा हृदयाघातको अवस्था तयार हुन्छ। दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलापको कमीले मानीसलाई मोटो बनाउँछ। मोटोपन भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो। त्यस्ता बोसो शरीरका सबै भागमा जम्मा हुन्छ। जस्का कारण नसामा समेत बोसो जम्मा भएर रक्तप्रवाहमा अवरोध सृजना गर्दछ र हृदयाघात हुने गर्छ।

लक्षण

हृदयाघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ। छातीको मध्यभागमा देब्रेतिर कुनै गह्रौं चीजले थिचेर असह्य पीडा भएको जस्तो महसुस हुने गर्छ। यसका साथै पेटको माथिल्लो भाग, पिठ्यूँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्छ। हृदयाघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रस्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी आउने हुन थाल्दछ। यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन्।

हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ। हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ। हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकहरूको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *