मनोजराजको पहिलो एकल गजल गायनमा झुमे गजलका पारखीहरू

समताखबर
  ६ मंसिर २०७४, बुधबार ०७:३६

दुई दशकभन्दा बढी समय नेपाली शास्त्रीय गीत, संगीत क्षेत्रमा बिताएका चर्चित गायक एवं संगीतकार मनोज राजको ‘महफिलमा मनोजराज’ नामक एकल गजल गायन कार्यक्रम मंगलबार सफलता पूर्वक सम्पन्न भएको छ ।

मंसिर ५ गते जन्मदिनको अवसर पारेर मनोजराजले पहिलोपटक सर्बनाम थिएटरमा लाईभ गजल गायन प्रस्तुत गरेका थिए । लाइभ गजल गायनमा अब्बल मानिएका मनोज राजको लाईभ कार्यक्रममा सयौं गजलका पारखीहरूले आनन्द अनुभूति गर्न पाएका छन् ।

मधुवन साहित्य परिवार, शब्दघर र मूर्छना संगीत एकेडेमीद्धारा कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित ‘महफिल’ मा लाईभ गायनको सुरुवात उनले गजलका पिता मानिने मोतीराम भट्ट लिखित सिर्जनामार्फत गरे स्

यी सानै उमेरदेखि मन हर्न लागे

यिनै सुन्दरीले जुलुम गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिनको

रिसाएर आँखा पनि तर्न लागे….

आफ्नै संगीतको पहिलो गजलमै मनोजले माहोल बनाए । उनले त्यसपछि आफ्ना र अन्य स्रष्टाका दर्जनभन्दा बढी गजल गाए ।

आख्यानकार र गजलकार मनु ब्राजाकी लिखित ‘हीरा हुन् कि मोती हुन् आँसुका यी दाना, सागरभन्दा धेरै ठूला मुटुभन्दा साना’ त्यस्तै मीठो थियो । नेपालीमा गजललाई शास्त्रीय रूपमा नभई सरल–सहज रूपमा लेख्नु र गाउनुपर्ने भन्दै उनले आफ्नै रोमान्टिक रचना सुनाए ।

‘रसाएर आँखा झर्‍यो आँसु तिम्रो’ पछि ‘कोसौँ दूरबाट पनि सुगन्धझैँ ल्याउँछ केले हो’, ‘मनमै लाग्यो तीर तिम्रो जालिम नजरले’ लगायत गाए ।

संगीतकार सन्तोष श्रेष्ठ रचित ‘कति खुसी हुन्थेँ होला तिम्लाई आफ्नो मान्छे भन्न पाए’, कपिल अञ्जानको ‘जाँदैन खिएर तिम्रो तस्बिर’, ऋषि बस्ताकोटीको ‘ओखती छ तनको बिरामीलाई’, विजय योजितको ‘शराबीहरूको कहाँ दिल हुनेछ’, पुरुषोत्तम ढुंगेलको ‘हुन्छ मन पागल अक्सर रातिराति’ सुनुन्जेल श्रोताहरू उत्तिकै रमाइरहेका थिए ।

महफिलमा मनोजलाई उनकै जिवनसंगिनी गायिका कृष्णा शिवाकोटीले साथ दिएकी थिइन् । लाईभ गायनमा पहिलो पटक देखिएकी कृष्णाले मनोजकै संगीतका रोमान्टिक मुडमा दुइटा गजल गाइन्, ‘बितेछन् सारा रात जिस्किँदाजिस्किँदै’ र ‘आखाँभरि आँसु राखेकी छु’ ।

मनोजराजलाई हार्मोनियममा मीनेन्द्र कुमार, तबलामा कुन्दन शाह, बाँसुरीमा नगेन्द्र राई, अक्टोप्याडमा सबिन गायक, इलेक्ट्रिक गितारमा सञ्जीव सुब्बा र रिदम गितारमा योगेश काजीले साथ दिएका थिए ।

कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापा, गजलकार ज्ञानुवाकर पौडेल, कविरगीतकार दिनेश अधिकारी र गजलकार रवि प्राञ्जलले प्रकट पँगेनी शिव लिखित र मनोजकै संगीत र गायन रहेको ‘मैसाब’ को अडियो सार्वजनिक पनि गरे ।

मनोजराजले सार्बजनिक गरिएको मैसावको गित पनि गाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *