
१० मंसिर, इलाम । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन हुनुपर्ने बताएकी छिन् ।
स्थानयि चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सवको उद्घाटनका अवसरमा नुमाङ्गेना सेवा संघको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले सबै भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य भएकाले जोड दिएकी हुन् ।
बहुभाषिक पाठशालाको भौतिक पूर्वाधार र शालिक निर्माणमा स्थानीयवासीले गरेको योगदानको प्रशंसा गरिन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको शालिकसमेत अनावरण गर्दै समाजमा शान्ति, एकता र धार्मिक सहिष्णुता कायम राख्न तथा भाषा र लिपिको संरक्षणमा ठूलो योगदान पु¥याएका महागुरुका असल विचार र भावना लिएर अघि बढ्न सबैमा आग्रह गरिन् ।
नुमाङ्गेना सेवा संघका अध्यक्ष डम्बर तुम्बापोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(एमाले)का नेता सुवास नेम्वाङ, नेपाली काँग्रेसका नेता केशव थापालगायतले महागुरू फाल्गुनन्दले समाज सुधारका लागि पु¥याएको योगदानको चर्चा गरेका छन् ।
सोह्रौँ राष्ट्रिय विभूति फाल्गुन्दको स्मृतिमा चुलाचुलीमा बहुभाषिक पाठशाला स्थापना गरिएको छ । विसं २०७२ देखि शुरू गरिएको पाठशालामा अहिले ८० बालबालिका अध्ययनरत छन् ।
किराँत लिपिमा पढाइ हुने पाठशालामा स्थानीयवासी सबै जातजातिका बालबालिका निःशुल्क अध्ययनरत रहेको अध्यक्ष तुम्बापोले बताए ।
संघले स्थापना गरेर सञ्चालन गर्दै आएको पाठशालामा अबदेखि संस्कृतसहित अन्य भाषाको पनि पढाइ सञ्चालन गरिने लक्ष्य रहेको पाठशालाले जनाएको छ ।
Leave a Reply