वनमा खेर गएको असारेको तेल बेचेर आम्दानी गर्दै बेलडाँडीका महिला

समताखबर
  १३ मंसिर २०७४, बुधबार ०९:३५

वनमा खेर गएको असारेको तेल बेचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले आम्दानी गर्न थालेका छन् ।

वनमा प्रशस्त रहेको असारेको महत्व बुझेपछि समूहमा आवद्ध महिलाले आम्दानी लिन थालेका हुन् ।

प्रगति महिला सामुदायिक वनबाट महिलाले पालैपालो असारेका पात टिपेर जडीबुटी प्रशोधनका लागि जडान गरिएको प्लान्टमा लगेर तेल निकाल्ने गरेका छन् ।

२ जनादेखि ४ जनाको समूहमा महिलाले असारेको पात टिप्ने गरेको स्थानीय राधिका साउदले बताइन । प्लान्ट सञ्चालन गर्ने प्राविधिक र प्लान्टको खर्च कटाएर बाँकी रहेको रकम महिलाले बाँडेर लिने गरेका छन् ।

दैनिक महिलाले ५ सय देखि १ हजारसम्म आम्दानी लिँदै आएको अर्की महिला बाटुदेवी साउदले बताए ।

वनमा रहेको आसारेको महत्व नबुझदा विगतमा घाँस र सोतरका रुपमा प्रयोग हुने गरेको थियो उनले भने , ‘जडीबुटीको प्लान्ट जडानसँगै असारेको तेल निकाल्न सकिने र बजारमा महँगोमा बिक्री हुने थाहा पाएपछि तेल निकाल्ने कार्यमा लागेका छौँ ।’ वनमा जताजतै रहेको असारे आम्दानीको श्रोत बन्न थालेपछि आफूहरु निकै खुशी भएको उनले बताइन ।

असारेको तेल प्रतिकिलो ४ हजारमा बिक्री हुँदै आएको छ । सम्बद्ध महिलाले हालसम्म ५६ हजारको तेल बिक्री गरेका छन् । अझै ४० किलो तेल विक्रीका लागि तयार छ, जसको बजार मूल्य १ लाख ६० हजार पर्छ ।

गाँउकै वीरबहादुर ऐरले तेल संकलन गरी नेपालगञ्ज पु¥याएर बिक्री गर्दै आएका छन् । घरमै बसीबसी आम्दानी हुन थालेपछि असारे जोगाउनमा समेत महिलाले उत्तिकै चासो दिन थालेका छन् । कामै नलाग्ने झार भनेर नासिदै आएको थियो, सिता देवी साउदले भनिन, ‘आम्दानीको गतिलो माध्यम भएपछि जोगाउन लागेका छौँ ।’

वनको बाँझो जग्गाको सदुपयोग गर्दै सामुदायिक वनका ४ वटा समूहमा आवद्ध ८० महिलामध्ये १५ जनाले मेन्थाको खेती गरी मासिक ३७ हजार ५ सय आम्दानी गरेका छन् ।

अझै ४ विघा जग्गामा उनीहरूले क्यामामाइलको खेती पनि शुरु गरेका छन् । जडीबुटी खेती थोरै मिहिनेतमा बढी आम्दानी हुने, जंगली र घरपालुवा जनावरले नखाने भएकाले पनि यसतर्फ यहाँका किसानको आकर्शण बढ्दो छ ।

अन्न र तरकारी बालीभन्दा जडीबुटी खेतीबाट बढी आम्दानी हुने भएकाले धेरैको रोजाइमा यो खेती परेको छ स्थानीय सुरत साउदले भने, ‘प्रतिवर्ष जडीबुटी खेती गर्नेको संख्या बढ्दो छ ।’रासस,

Leave a Reply

Your email address will not be published. Required fields are marked *