‘ऊ टीभीमा आउने कलाकार आयो’ भन्थे

सुमन पण्डित

बैठकी गायनमा रमाउने गायक हुन् मनोजराज शिवाकोटी । सेन्टिमेन्टल गीतहरुमा आफूलाई हराउन निकै मन पराउँछन् उनी । स्टेजमा पनि उनको गायकीले धेरैलाई एकाग्र बनाउने गर्छ तर नचाउने हँसाउने गर्दैन । एउटा गजल गायकको रुपमा चिनाउने धोको छ उनीभित्र तर उनी गजल गायनजस्तै बैठकी गायनमा आफूलाई हराइरहेका छन् । उनको जीवन संगीतमै अडेको छ अर्थात् विहान उठेदेखि बेलुकासम्म आफूसँगै अरुलाई पनि संगीतको शिक्षा दिइरहेका हुन्छन् । मुर्छना संगीतालयले उनलाई बाँधेर राखेको छ यतिबेला । लोक, आधुनिक, पप, शास्त्रीय, चलचित्र जुनसुकै गायनमा पनि पछि नहट्ने गायकी उनको छ । संगीतमा लागेको २०–२२ वर्षभित्र जीवनको आरोह अवरोहसँगै निकै उतार चढाव भोगेको छ उनको संगीतले पनि । हिजो अग्रजहरुसँगको सहकार्यले आज उनलाई पनि मझौला अग्रज बनाएको छ अर्थात् उनीसँग संगीत सिक्ने भाइबहिनीहरुले उनलाई गुरु बनाएका छन् । लाग्छ आफू पनि संगीतकै शिष्य भएको हुँदा आफूसँग पनि धेरै शिष्यहरु भेट हुँदा उनलाई खुशी लाग्ने गर्छ ।


काठमाडौंको सांगीतिक वातावरण फरक थियो । रेडियो नेपाल र म्यूजिक नेपाल मात्र कलाकारको गीत रेकर्ड गर्ने प्रसारण गर्ने माध्यम थियो । सुरुवाती सम्झिँदै उनले भने – ‘गायक बन्न संगीतकारको घर धाउने चलन थियो, त्यसमा म पनि धाउने गर्थें ।’ संगीतकारको नजिक जो हुन्थ्यो उसले अवसर पाउने चलन थियो । संगीतकारको घरमा दिनको एकचोटी भेट्न नगए गाउने अवसरबाट बञ्चित हुने हो की भन्ने डर हुन्थ्यो, मनोजराजले पुराना दिन सम्झिँदै भने– ‘हारमोनियममाथि गीतको कापी राखेर रियाज गरिरहेका संगीतकारलाई कसले धेरै पटक भेट्यो त्यही अनुसार कतिखेर गीत रेकर्ड हुने खबर हुन्छ भनेर कुर्नुपर्ने अवस्था थियो । तिम्रो रेकर्ड भोली छ भनेको दिनजति खुशी कहिल्यै लाग्दैनथ्यो ।’ मनोजराज पनि संगीतकारको घर धेरै धाएका थिए । उनी धेरैजसो कृष्णमान डंगोल, फत्तेमान राजभण्डारी, रत्नबहादुर खड्गी, शम्भूजित बास्कोटाकोमा पुग्ने गर्थे । गुरुदेव कामतका चेला मनोजराजले कुनबेला कसको संगीतमा गाउने भनेर धेरै पालो कुरेकै हुन् । तर जीवनमा पहिलो रेकर्ड भने आफ्नै गुरु गुरुदेव कामतको संगीतमा सावित्री राउतको शब्दमा गाएका थिए । कहिले लाग्छ यो जिन्दगी… बोलको गीत रेकर्ड गरेपछि उनको स्वर परीक्षा पासपछिको पहिलो अवसर थियो ।
०००००
नारायण गोपाल युवा पुरस्कार पाएको केही समयमै रेडियो नेपालमा एउटा गीत रेकर्डको अवसर मिलेको थियो । गीत रेकर्ड गर्न स्टुडियो छिर्दा बाहिर मैले गाएको हेर्न भीड लागेको थियो । नयाँ केटो आएको छ, यसले केही गर्छ भनेर बाहिर हल्ला गर्दै मैले गीत गाएको हेरिरहँदा म नर्भस नै भएँ । म भन्दा धेरै सिनियरहरु त्यहाँ मलाई हेर्न आउँदा मलाई भित्रभित्रै डर लागेको थियो ।


२०३६ सालमा उदयपुरको कटारीमा जन्मिएका गायक मनोजराजको स्कुले जीवन आधा गाउँमा आधा शहरमा बितेको थियो । १ देखि ४ गाउँमा पढेका उनले ५ र ६ कक्षा काठमाडौंको विजय स्मारकमा पढेका थिए । त्यसपछि ७ देखि ८ कक्षासम्म गाउँमा पढेका थिए । त्यसपछि उनका बुबाले कुन स्कुले सिद्धार्थ वनस्थली वा अरु कुनै भनेर प्रश्न सोध्दा उनले टीभी र विजुली नभएको ठाउँमा पढ्ने भन्दै लहानतिर गएका थिए । लहानको बस्तीपुर माध्यमकि विद्यालयमा ९ र १० कक्षा पढेका उनले सोही समयमा पनि संगीतलाई साथ दिइरहेका थिए । बोर्ड फस्ट ल्याउने उद्देश्यका साथ टीभी र विजुली नभएको ठाउँ खोजेका थिए ।
०००००
गाउँमा हुने पूजाआज नै संगीतको जरा थियो मनोजराजका लागि । माइला काका बाँसुरी बजाउने गर्थे भने आमा अभिनय गर्ने, गाउने, बजाउने गर्थिन् । उनको घरमा मादल थियो उनी मादलको गोठालो भएर पूजाआजमा जाने गर्थे । मादलको गोठालो हुँदाहुँदै गीतसंगीतले छपक्कै छोपेको उनले पत्तै पाएनन् । कटारी मामाघरमा बस्दा आमाले बेन्जोलिन बाजा बजाउने सिकाएको क्षणले संगीतको जरा गाउँदेखि नै थियो अर्थात् आमाको जीनमा रहेको संगीत नै आजका मनोजराज थिए । ०५२÷५३ सालतिर नेपाल टेलिभिजनमा ‘स्वर एक साथ अनेक’ रियालिटी शोको आयोजना भएको थियो । स्कुल पढ्दापढ्दै सो कार्यक्रममा समेत उनी भाग लिन काठमाडौं आएका थिए । जसमा उनी दोस्रो स्थान हासिल गरेका थिए । त्यसपछि लहान फर्कंदा ‘ऊ टीभीमा आउने कलाकार आयो’ भन्दा उनलाई कलाकार भनेको यस्तो रहेछ भन्ने लाग्थ्यो । त्यसपछि लहानमा नै पशुपति संगीत विद्यालयमा संगीत सिक्न थालेका उनले पढाइभन्दा संगीतलाई नै प्राथमिकतामा राख्न थाले ।
०००००
नारायण गोपाल आधुनिक गीत प्रतियोगिता उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्न सफल भयो । उक्त प्रतियोगितामा दुई वटा गीत गाउनु पर्ने हुन्थ्यो जसमा नारायण गोपालको एउटा र अर्को । प्रतियोगितामा आफ्नै शब्द र संगीतको एउटा गीत र नारायण गोपालको ‘यो मुटुलाई कसरी सम्झाई बुझाउँ गीत प्रस्तुत गर्दा यसले जित्छ अब भनेर बाहिर हल्ला भयो । तीन जनामा मलाई प्रथम भनेर उद्घोष गर्दाको क्षण, लैनसिंह वाङ्देलको हातबाट पुरस्कार लिँदा र पेमला गुरुवाचार्यको अगाडि उभिँदाको क्षण अविश्मरणीय बनेको छ । जब पुरस्कार लिएर बाहिर आउँदा संचारकर्मी हेम सुवेदीले अन्तरवार्ता लिँदा, अरु संचारकर्मीहरुले सोध्दाको क्षणले मलाई अहिले पनि झ–झल्काउँछ ।
०००००
जिन्दगी भनेको कर्मको खेल हो । संसारमा जिन्दगी एउटा नाटक हो । हाम्रो भाग्य कहिँ न कहिँ लेखिएको छ र कर्म पनि त्यतै गर्ने अवसर मिलिरहेको छ । मान्छेले चाहेर मात्र हुँदैन भन्ने कुरा म विश्वास गर्छु । मेरो बुबाले डाक्टर त पढाउन सक्नु हुन्थेन होला तर इन्जिनियर चाहिँ सक्नुहुन्थ्यो । परिवारमा नै बढी पढेको मै थिएँ तर मार्ग निर्देशन गर्ने कोहि थिएन । तैपनि मैले इन्जिनियर पढ्छु भनेर अघि बढें र क्याम्पसमा भर्ना हुन जाँदा अनिश्चितकालिन हड्तालका कारण भर्ना हुने अवसर पाइनँ, मनोजराजले ती पुराना दिन सम्झिँदै भने । सोही बेला अर्को कोठामा बस्ने साथीसँग क्याम्पसको बारेमा कुरा गर्दा रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्दा संगीत विषय पनि पढ्न पाइने भनेपछि मेरो संगीतको लगावले त्यतै तान्यो । संगीतको विषय त्यो पनि क्याम्पसको पाठ्यक्रममा नै पढ्न पाइने भएपछि मैले सबै कुरा बिर्सिएँ, मनोजराजले भने– ‘म साँच्चिकै संगीतकै दुनियाँमा काम गर्नका लागि आएको रहेछु ।’


फत्तेमान राजभण्डारी जीवनमा एकदमै नाम लिने व्यक्तित्व हुन् मनोजराजका लागि । कुनै जमानमा मनोजराज फत्तेमानको छोरा सरह नै थिए । हुन त उनका लागि यो ठाउँसम्म ल्याउने स्कुलेका शिक्षकदेखि धेरै होलान् तर फत्तेमान राजभण्डारी भने उनका लागि ठूलै देन छ । विहान चारपाँच बजे फत्तेमानको घरमा पुगेर रियाज गर्दा ‘तिमीहरु त मैले चाल्नाले चालेर ल्याएको हो’ भन्दा त्यो सेन्टिमेन्टले छुन्थ्यो । टीभीमा कसैले गाइरहँदा राम्रोलाई प्रोत्साहन गर्नुहुन्थ्यो तर नराम्रो गाउँदा यस्ताले पनि गीत गाउने भनेर टीभी फुटाइदिउँ समेत भन्नुहुन्थ्यो मनोजराजले आफ्ना गुरु फत्तेमानसँगको पुराना दिन सम्झिए – ‘उहाँ सबै साथीभाइहरुको खोजखबर गर्ने गर्नुहुन्थ्यो । को कहाँ पुगेको छ, के गरिरहेको छ भन्ने उहाँलाई थाहा हुन्थ्यो त्यही प्रभाव मलाई पनि परेको जस्तो लाग्छ ।’
०००००
नेपाली गीतसंगीतको माहौल जमाना अनुसार चल्दै जान्छ । अहिले फास्ट जमाना छ, कोही सिरियस भएर सोच्ने बेला छैन । पहिला रेडियो नेपाल, टेलिभिजन मात्र थियो त्यसले गर्दा गीतका शब्द र संगीत पुरै सुनिन्थ्यो । अहिले रेडियो, टेलिभिजन, अनलाईन जताततै गीतसंगीत भएपछि कुन सुन्ने स्रोताहरुलाई नै कन्फ्यूज्ड छ । त्यसैले फास्टफुडको जमाना संगीतमा पनि लागू भएको छ । बाँच्ने गीतको जमाना त छ तर नाच्ने गीत यतिखेर हावी भएको चाहिँ पक्कै हो । तर हामी सुन्ने गीतकै पक्षमा लागिरहेका छौं । त्यसैले पनि मैले जे जानेको छु त्यही सिकाइरहेको छु । मेरा उपलब्धी र गल्तीहरु नै मेरो अनुभव हो । जुन लुप्त भएको गीतहरु मैले शिष्यहरुलाई सिकाउने गरेको छु । क्लासिकलमा धैर्यता हुनुपर्छ । पछिल्लो समयको पुस्ताले नारायण गोपाल नचिन्ने दिन आइसकेको छ । इन्डियन र पश्चिमी संगीतको प्रभावले यसलाई थिचिरहेको छ । मौलिकपन र आफ्नोपन नहराओस् भन्नेमा सोचिरहेको हुन्छु । संसारको म्यूजिक उद्योग चलिरहेको छ भने यहाँ पनि चल्दै जान्छ । समयअनुसार नीति नियम बन्छन् र यसको व्यवस्थापन हुन्छ । धेरै संस्थाहरु खुलेका छन् पक्कै पनि संगीत क्षेत्रलाई नयाँ नीति नियमभित्र राखेर सेन्सर गर्दै जानुपर्छ । अहिलेको अवस्था भने सर्भाभाइब मात्र हो, ‘जसले जान्यो त्यसले हान्यो’ भन्ने उखान लागू भएको अवस्था छ । कुनै पनि निकायले यसले गाउन योग्य छ भनेर परीक्षण नगरेसम्म गायन क्षेत्रमा आउनु ठीक होइन । रेडियो नेपालले स्वर परीक्षा लिएजस्तै परीक्षा लिएर यो क्षेत्रमा आउने दिन हुनुपर्छ ।
०००००
मनोजराजले धेरै गीतहरु गाए तर उनलाई चिनाउने गीत भने ‘चोट खाँदा खाँदै मुटु’ र ‘पानीको फोका जस्तै’ ले उचाइ दिलाएको हो । हुन त उनको गायकीमा लोभिनेहरु धेरै छन् तर पनि उनलाई उचाइमा पु¥याउने गीत भने यी दुईवटा नै हुन् । तर यी दुई गीत उनको जीवनसँग मेल खाने भनेर पनि तत्कालिन समयमा भनियो । उनी त्यसलाई समय अनुसार गीतकारले उतारेको अवस्था थियो होला । मेरै लागि लेखिएको नहुन सक्छ । म जस्ता हजारौंका जिन्दगीमा हुने भावलाई गीतकारले लेखेकै कारण मलाई पनि त्यसरी हेरिएको होला, उनले भने । कुनै बेला कोसेढुंगा एल्बम बजारमा ल्याएपछि जीवनमा आएको उतारचढावका बारेमा मनोजराजले भने– ‘कोसेढुंगा गन्तव्य होइन, त्यसैले यात्रामा फरक बाटो पनि आइपर्न सक्छ । एउटै धर्तीमा एउटै कर्म गर्ने भए पनि बाटो फरक हुनसक्छ ।’

कक्षा ५ देखि नै गाउन सुरु गरेका उनले धेरै प्रतियोगिताहरुमा भाग लिए, प्रतियोगिता जिते । १२ सयभन्दा धेरै गीतहरु उनका स्वरमा रेकर्ड भइसकेका छन् । प्राय गरेर कलेक्सन एल्बमहरुमा उनका स्वरहरु रेकर्ड भएका छन् । धेरै सम्मानहरु हात पारे, अवार्डहरु चुमिसकेका छन् । गायक मनोजराजले म्यूजिक खबर म्यूजिक अवार्ड लगायत दर्जनौं अवार्ड र सम्मान पुरस्कार प्राप्त गरिसकेका छन् । म्यूजिकखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *