हेपाटाइटिस र  आयुर्वेद चिकित्सा

डा.रमेश के.सी.  

पूष्ठभुमी :

हिजोआज मान्छेहरुको जिवनशैलीमा आएको परिवर्तवनले गर्दा हेपाटाइटिसका बिरामीहरु बढ्न थालेका छन् । स्वास्थ्य संस्थाहरुमा भाइरल हेपाटाइटिसका बिरामीहरु उल्लेख्य मात्रामा उपचारका लागि आउन थालेका छन् । आयुर्वेद चिकित्सा जन्डिस रोगमा हाम्रो समाजमा पहिलो रोजाईमा पर्छ भन्दा अतियोक्ति नहोला । यती हुदाहदै पनि अधिकांश  एलोपेथिक चिकित्सकहरुमा जन्डिस (बोलिचालीको भाषामा) को आयुर्वेद उपचार बारे केही फरक बुझाई वा भ्रम रहेको पाइन्छ जस्तै नाइटोमा जडिवुटीको लेप लगाउंने,नाकमा जडिवुटीको रस राख्ने,खानामा आवश्यकता भन्दा बढी परहेज लगाउने आदि । यस लेखमा कलेजोका केही रोग,आयुर्वेद  उपचार र विद्यमान भ्रमवारे चर्चा गरिएको छ ।

नेपालमा आयुर्वेद :

आयुर्वेद हाम्रो पूर्विय सभ्यतासंग जोडिएको मौलिक  चिकित्सा विज्ञान हो । पैले यस्को ज्ञान गुरुशिष्य परम्परावाट अर्को पुस्तामा हस्तान्तरण हुदै आयो । पछी समयानुसार आधुनिक चिकित्सा विज्ञानको ज्ञान र प्रविधिसमेत संयोजित आयुर्वेद पाठयक्रम अध्ययन गरेर मेडिकल कलेजवाट आयुर्वेद चिकित्सक उत्पादन हुन थाले । नेपालमा पैलो पद्धती वाट दिक्षित परम्परागत  स्वास्थ्यकर्मी अझै प्रसस्तै भेटिन्छन।

उनीहरुमा शरिरको संरचना,कार्यप्रणाली ,रोगको कारण ,पाथोजिनेसिस ,निदानसम्वन्धी ज्ञान लगभग शुन्य छ । जस्ले गर्दा उनीहरुको सम्पर्कमा पुग्ने विरामीको सही उपचार नहुने वा ठगिने उच्च जोखिम रहन्छ । र उनीहरुको रोगवारेको अल्पज्ञान र उपचार नै सम्पूर्ण आयुर्वेद हो भन्ने वुझाई धेरै आधुनिक चिकित्सक देखी सर्वसाधारणसमेतमा छ । जुन सरासर गलत हो। हामी कहां आयुर्वेद चिकित्सकको संख्या निम्न (लगभग ३००)  छ जस्ले गर्दा विरामीहरुले चाहेर पनि चिकित्सकवाट उपचार पाउंन सकिरहेका छैनन ।  हाल स्वास्थ्य मन्त्रालय आयुर्वेद विभाग अन्तर्गत आयुर्वेद चिकित्सालय नरदेवी लगायत ७५ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र ३०५ औषधालयहरु छन । त्यस्तै काठमांडौ कीर्तिपुरमा आयुर्वेद शिक्षण अस्पताल र अनुसन्धान केन्द्र छ ।

कलेजोका रोगहरु :

कलेजो हाम्रो शरिरको पेटको दाइने पट्टि माथिल्लो भागमा रहेको हुन्छ । लगभग १.५— २.५ केजीको यो अगं शरिरको सवैभन्दा ठूलो ग्रन्थी हो। यस्ले निकाल्ने इन्जायमहरुले शरिरमा विभिन्न महत्वपुर्ण क्रिया प्रतिक्रियाहरु गराउंदछन।त्यसैले यसलाई मेटावोलिक सेन्टर पनि भनिन्छ। कलेजोमा हुने समस्याहरु विभिन्न छन । हेपाटाइटिस,जन्डिस,सिरोसिस,अल्कोहलिक लिभर डिजिज,फ्याटी लिभर ,टयुमर,कार्सिनोमा,एव्सेस,अटोइम्युन हेपाटाइटिस,वंशानुगत रोग जस्तै गिल्वर्ट सिन्ड्रोम ,विल्सन डिजिज आदि ।  त्यस्तै कलेजोसगं जोडिएको पित्तथैलीमा पत्थरी ,सुजन-संक्रमण,टयुमर आदि हुन सक्छ ।

हेपाटाइटिस भनेको कलेजोको कोषहरुको संक्रमण र सुजन हो । यो हेपाटाइटिस ए,वि,सि,डि,इ  लगायतका भाइरसहरुले गराउंछ । हेपाटाइटिस ए र इ सक्रमित पानी (फिको— ओरल रुट)वाट सर्छ भने हेपाटाइटिस वि रगत र यौन सम्पर्कवाट त्यस्तै हेपाटाइटिस सि संक्रमित रगतवाट सर्छ । हेपाटाइटिस डि हेपाटाइटिस वि भएकाहरुमा हुनसक्छ । जन्डिस भनेको रगतमा विलिरुविनको मात्रा (सामान्य मात्रा ०.३—१.०मिलिग्राम -डेसिलिटर) वढेर छाला एवं आँखा पहेलो  हुनु हो। यो रोग नभई यौटा लक्षण मात्र हो ।

यो तिन प्रकारको छ: 

१. हेपाटोसेलुलर : भाइरल हेपाटाइटिस,अल्कोहलिक लिभर डिजिज,रिफामपिसिन पारासिटामोल आइसोनाजाइडको वढी सेवनवाट हुने,गर्भवतीमा हुने एक्युट फ्याटी लिभर आदि ।

२. अव्सट्रक्टिभ : कोलेस्टेटिक भाइरल हेपाटाइटिस,सिरोसिस,पत्थरी ,लिम्फोमा ,पिल्स चक्कि आदिले हुने।

३. हिमोलाइटिक : थालेसिमिया,मलेरिया,सर्पको टोकाई,अमिल्दो समुहको रगत लिदा हुने आदि। त्यस्तै गरी अर्को तरिकाले जन्डिसलाई फिजियोलोजिकल र पाथोलोजिकल गरी दुई प्रकारको वताइएको छ । फिजियालोजिकल जन्डिस विलिरुविन मेटावोलिजममा जन्मजात हुने गडवढीले हुन्छ, जस्तै गिल्वर्ट सिन्ड्रोम, क्रिगलर —नाजार सिन्ड्रोम,डुविन जोनसन सिन्ड्रोम आदि । पाथोलोजिकल जन्डिस माथी उल्लेखित विविध रोगहरुमा देखिन्छ । कलेजो आफैमा क्यान्सर हुने प्रमुख अंग हो । र साथै अन्य अंगमा क्यान्सर हुदा पनि फैलिएर त्यो कलेजोसम्म पुग्न सक्छ । यसका अलवा पित्तथैली-नलीको पत्थरी ,क्यान्सर हुदा पनि जन्डिस देखिन सक्छ । आयुर्वेदमा जन्डिसलाई कामला भनिएको छ ।

यो शाखाश्रीत र कोष्ठाश्रीत गरी २ प्रकारको छ :

नेपालमा वर्षातको समयमा हेपाटाइटिस ए र इ को प्रकोप वढी हुने गर्छ।कलेजोमा  हुने समस्याहरुको आधा हिस्सा अल्कोहलिक लिभर डिजिजको छ । त्यसैगरी हेपाटाइटिस वि सि (क्रोनिक -क्यारियर) ,पत्थरी ,गिल्वर्ट सिन्ड्रोम ,क्यान्सर आदि वढी भेटिन्छन ।

आयुर्वेद उपचार :

आयुर्वेद वात ,पित्त कफको त्रिदाष सिद्वान्तमा आधारित छ । कलेजो पित्तको स्थान हो । तसर्थ कलेजोको रोगहरुमा पित्तशामक औषधी ,पञ्चकर्म —विरेचन( दिशा पातलो वनाउने ) र पित्तशामक आहारविहारबाट उपचार गरिन्छ ।

१.एकल जडिवुटी : कुटकी,चिराइतो,भुइअमला,कालमेघ ,पुनर्नवा ,चुत्रो,भूंगराज,शरपुंखा,काकमाची,अमला,गुर्जो ,अश्वगन्धा,जठिमधु आदि ।

२.औषध योग : आरोग्यवर्धनी बटी,लोकनाथ रस,धात्री लौह,पुनर्नवादि मण्डुर,रोहितक्यादि चुर्ण ,त्रिफला चुर्ण आदि ।

३.पेटेन्ट औषधी : लिभ ५२,एम्लिकेएर,निरोशिल, टेफ्रोलिभ,एडलिभ,टोनोलिभ,लिभोक्यु,लिभरजिन,हेपाटोन,लिभोडेक्स आदि।

४.आहारविहार :  चिल्लो पदार्थ र जंक फुड कम गर्ने,घरमा पाक्ने सामान्य परिकार खाने -असजिलो भएमा हलुका परिकार ग्लुकोज र फलफूलको रस पर्याप्त खाने,परिश्रम वढी नगरी आराम गर्ने,रक्सि नखाने ,ज्वरो आएमा आफैले सिटामोल नखाने आदि।

आयुर्वेद उपचारको वैज्ञानिक आधार :

सामान्य भाषामा भन्दा माथी उल्लेखित औषधीहरुले लिभर टनिक वा कलेजोको भिटामिनको रुपमा काम गर्छन भनेर बुज्न सकिन्छ । यिनीहरुले कलेजोका कोषहरुलाई सक्रिय वनाई नयां जिवन दिने गर्छन । यद्यपी कलेजोका कोषहरुले आफै पुनः नया वन्ने क्षमता राख्छन ,यी औषधीहरुले त्यो गती  तिव्र वनाइदिन्छ,। विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानवाट यी औषधीहरुले एन्टि अक्सिडेन्ट (फ्रि—अक्सिजन रेडिकल नष्ट गर्ने ) एन्टि इन्फ्लामेटरी (सुजन घटाउंने,सुजन गराउंने केमिकलहरु कम गराउंने) ,कोलेरेटिक( वाइल एसिडको उत्पादन वढाउंन),इम्युुुनोमोडुलेटर (रोग प्रतिरोधात्मक क्षमता वढाउंने) ,हेपाटोप्रोटेक्टिभ (कलेजोका कोषहरुलाई बिष एवं बिषाणुवाट वचाउंने ),हेपाटो स्टिमुलेन्ट( कलेजोका कोषहरु सक्रिय बनाउंने),एन्टि भाइरल (हेपाटाइटिसको भाइरस मार्ने वा भाइरल लोड घटाउंने) काम गर्छन भनि  प्रमाणीत भएका छन ।

विभिन्न जनावरहरु (मुसो ,विरालो, सुंगुर आदि को) कलेजोका कोषहरु कृत्रिम तरिकाले क्षती गरी उपर्युक्त  एकल जडिवुटीहरुको केमिकल एक्सट्याक्ट निकालेर दिई धरै अध्ययनहरु ग्रिएको छ जहां ती औषधीहरुले क्षती भएका कोषहरु  छिट्टै पुनः निर्माण गरी कलेजोलाई पहिलेको अवस्थामा ल्याएका छन ।र साथै यी ओषधी प्रयोग गरेका र नगरेकामा कलेजोका कोषहरुलाई क्षती पुर्याउंन खोज्दा औषधी नदिइएका भन्दा दिइएइकामा  न्युन क्षती पुगेको वा क्षती नै नपुगेको तथ्य उल्लेखछ । यस सम्वन्धि सयौ शोधहरु पबमेड ,आयु जर्नल लगायतका अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरुमा प्रकाशित छन ।

केही भ्रम र सत्यता :

१.कलेजोको स्राव बाइल जुसको काम चिल्लो -फ्याट पाचन गर्नु हो । त्यसैले जन्डिसको रोगीहरुले चिल्लो कम गर्नुपर्दछ । तर पूर्णत मसला (वेसार) नुन रहित उमालेको उसिनेको मात्र खानुपर्छ भन्ने गलत हो ।

२.आयुर्वेद चिकित्सालयमा चिकित्सकले नाइटोमा जडिवुटीको लेप लगाएर वा नाकमा औषधी राखी उपचार गर्दैनन । त्यो परम्परागत विधी खोजको विषय हुन सक्छ ।

३.जन्डिस रोग नभई लक्षण भएकाले रोगानुसार यस्को उपचार फरक फरक हुन्छ। जस्तै पत्थरी कारण भएमा अपरेशनको आवश्यकता पर्दछ ।

४.गिल्वर्ट सिन्ड्रोम फिजियोलोजिकल जन्डिस भएकाले सामान्यतया यस्को उपचार आवश्यक छैन  र यो रोग हैन।

५.एक पटक जन्डिस भएर निको भइसकेको विरामीले खानपिनमा पुनः कुनै बन्देज लगाउंनु पर्दैन ।

निष्कर्ष :

आयुर्वेद नेपालको मौलिक राष्ट्रिय चिकित्सा प्रणाली हो । कलेजोको सवै प्रकारका रोगहरुमा आयुर्वेद उपचार प्रभावकारी छ । तर हल्लाको पछी लागेर गलत ठाउंमा गई गलत उपचार गरिएमा धनजनको क्षती हुन सक्छ । त्यस्तो गर्ने व्यक्ति ,संस्थालाई सम्वन्धित निकायले नियन्त्रण ,अनुगमन र कार्बाही गर्नु जरुरी छ । तसर्थ आधिकारिक संस्थामा गएर दक्ष चिकित्सकबाट उपचार सेवा लिनु आजको आवश्यकता हो । एलोपेथिक चिकित्सामा कलेजोका रोगहरुमा प्रयोग गरिने औषधीको सिमितताले गर्दा अधिकांश एलोपेथिक चिकित्सकहरुले आयुर्वेद पेटेन्ट औषधी नै प्रेश्क्रिप्सन गर्ने गर्दछन  । दुवै चिकित्सा पद्धतीका विज्ञहरुले आरोप प्रत्यारोप गर्नु भन्दा एकिकूत सेवा दिने हो भने विरामीले झनै प्रभावकारी र विशिष्ट उपचार पांउछ । हामी यो बाटो हिडेमा विश्वमा चिकित्सा क्षेत्रमा उदाहरण वन्न सक्छौ ।

लेखक : अँचल आयुर्वेद लुम्बिनी प्रमुख हुन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *