
दलित सुकुम्बासीको एक हुल आइतबार दिउँसो नारायण नगरपालिका कार्यालयमा छिर्यो। लामो समयदेखि सामुदायिक बन क्षेत्रमा बसोवास गर्दै आएको नारायण नगरपालिका-१ रातामाटेको दलित बस्ती र बादी बस्तीका एक हुल सुकुम्बासी नगरपालिका कार्यालयमा छिर्दा कर्मचारी र सेवाग्राही एकछिन ट्वाल्ल परे। नगर प्रमुखको कार्यकक्षतर्फ जान थाले। नगर प्रमुख रत्नबहादुर खड्का हतारहतार गर्दै बाहिर निस्के। उनीसँगै उपप्रमुख सावित्री मल्ल, वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेत पनि आफ्नो कार्यकक्ष छाडेर नगर प्रमुख नजिक जम्मा भए।
हुल बाँधेर आएका दलित सुकुम्बासीलाई कार्यालयको सभा हलमा राखेर नगर प्रमुखसहितको सम्लग्नतामा छलफल सुरु भयो। अधिकांश महिला र बालवालिकासहित ५० भन्दा बढी दलित सुकुम्बासी कार्यालयमा छिर्नुको मुख्य कारण थियो लालपुर्जा। सुकुम्बासी बस्तीका अधिकांश पुरुषहरू सदरमुकाममा ज्याला मजदुरीमा व्यस्त रहेकाले नगरपालिकामा लालपुर्जाको माग राख्दै आउने धेरैजसो महिला मात्र देखिन्थे।
नगरपालिका कार्यालयमा ति दलित सुकुम्बासीको भिड जम्मा भएपछि व्यस्त बनेका जनप्रतिनिधिले उनीहरूसँग कुरा नगरी सुखै पाएनन्। सभा हलमा खचाखच सुकुम्बासीले नगर प्रमुख खड्कालगायत उपस्थित जनप्रतिनिधिलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएपछि सधैं आश्वासन मात्र बाड्ने भन्दै बम्किन थाले।
आफ्ना लिखित मागसहित नगरपालिका कार्यालयमा आएका ति दलित सुकुम्बासी सबैको एउटै स्वर सुनिन थाल्यो, ‘हामीलाई लालपुर्जा चाहियो।’ सुकुम्बासीको अगुवाई गर्दै आएकी गीता बादीले भनिन्, ‘भोट माग्दा लालपुर्जा दिन्छौं भन्नुहुन्छ, जितेपछि वेवास्ता किन ? ‘
त्यसैगरी अर्की अगुवा लिला नेपालीले बम्किँदै भनिन्, ‘सधैं आश्वासन मात्र दिनुहुन्छ। हाम्रा लागि किन पहल गर्नुहुन्न ? ‘ गीता र लिलाजस्तै अरू पनि त्यही भन्दै केही समय बोली राखे।
नगर प्रमुख खड्काले आफ्ना कुरा राख्न थालेपछि नगरपालिका पुगेका दलित सुकुम्बासी एकाग्र भए। ‘स्थायी लालपुर्जाका लागि हामी सधैं तपाईहरूको पक्षमा छौं। कसैले तपाईहरू बसेको ठाउँबाट उठाउन पाउदैन’, दलित सुकुम्बासीलाई आश्वासन बाँड्दै उनले भने, ‘अब लालपुर्जा नगरपालिकाले नै दिन्छ, तर त्यसका लागि कानुन निर्माण गर्नुपर्छ।’
कानुन निर्माण गरी नगरसभाबाट पारित गर्नुपर्ने भएकाले त्यसकार्यमा जुटिसकेको आश्वासन उनले दिए। दलित सुकुम्बासीको माग जायज भएको र माग सम्वोधन गर्न कुनै बाधा अवरोध नहुने भन्दै नगरप्रमुख खड्काले त्यसका लागि केही समय अझै पर्खन उनीहरूलाई अनुरोध पनि गरे।
नगर प्रमुखसँगै उपप्रमुख मल्ल र वडाध्यक्ष श्रेष्ठले पनि तत्काल माग सम्वोधन गर्न नसके पनि लालपुर्जा दिलाएर नै छाडने उद्घोष गरेपछि ति दलित सुकुम्बासीको अनुहारमा खुशी छाएको थियो।
दलित सुकुम्बासी लालपुर्जाको माग राख्दै यसभन्दा पहिले पनि तिनचोटी नगरपालिका कार्यालय पुगेका थिए। तर सधैंको आश्वासनले दिक्क भएका उनीहरू अहिले पनि आफ्ना माग लिएर कार्यालयमा धाउन छाडेका छैनन। सुकुम्बासी बस्तीकै लक्षिराम नेपाली भन्छन्, ‘जहिलेसम्म हाम्रो माग पुरा हुँदैन, त्यतिबेलासम्म हामी दबाब दिन छाड्दैनांै।’
दैलेख जिल्लाका विभिन्न स्थानमा लामो समयदेखि अस्थाइ बसोवास गर्दै आएका ति दलित समुदाय कति बेला त्यहाँबाट विस्थापित हुनुपर्ने हो भन्ने चिन्तामा छन्।
चुनावमा विगतदेखि नै लालपुर्जा दिने आश्वासन बाड्ने र भोट लैजाने गरेको राजनैतिक दलले यसपाली पनि झुटा कुरा गर्ने हुन् की भन्ने शंका समुदायमा कायम नै छ। ज्याला मजदुरीमै जिवन विताउँदै आइरहेका यसपाली नेताहरूले लालपुर्जाका लागि पहल गर्ने कुराको आशा पनि मारेका छैनन् दलित सुकुम्बासीले।
निर्वाचनका बेला भोट माग्न जाने जोकोही राजनैतिक दलका नेता कार्यकर्तासँग ति समुदायको पहिलो माग नै लामो समयदेखि बसोवास गर्दै आइरहेको स्थानको जमिनको स्थायी प्रमाण पुर्जा नै रहेको थियो।
दलितअनलाइनबाट
Leave a Reply