खप्तड गोल्डकप आयोजना हुँदै

धनगढी पौष ११

आगामी २१ गतेदेखि धनगढीमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

चौधरी गुप्रको नेपाल आईसको मुख्य प्रायोजन रहेको खप्तड गोल्डकपको तयारी तीब्र बनाइएको आयोजक सुदूरपश्चिम–११ स्पोटर््स क्लवले जनाएको छ ।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष सुरेश हमालले देशकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता भव्यरूपमा सञ्चालन गर्न विभिन्न उपसमिति समेत गठन गरिएको बताए । प्रतियोगिता संयोजक ध्रुव भट्टराईले प्रतियोगिताको माध्यमले खेल पर्यटनको विकासमा योगदान पुर्‍याउन गत वर्षदेखि कप शुरु भएको बताए ।

प्रतियोगितालाई नेपाल टेलीकमले सहप्रायोजन गरेको छ । अध्यक्ष हमालले अन्य प्रायोजकहरूको खोजी भइरहेको बताए ।
एक करोड १० लाख रुपैयाँ बढी खर्च हुने खप्तड गोल्डकपमा देशका विभिन्न टीम र विदेशका समेत गरी १२ वटा टीमको सहभागिता रहने छ । प्रतियोगितामा ए डिभिजनका क्लवहरू, तीन वटै विभागीय टीम र भुटानको एक क्लवले भाग लिने छन् ।
नकआउट आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लव, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल एपिएफ क्लव, सिएमजी क्लव संकटा, च्यासल युथ क्लव, रमपम झापा–११, सहारा क्लव, अग्नि रूपन्देही–११, धरान फुटवल क्लव र सुदूरपश्चिम–११ सहभागी हुनेछन् ।

त्यस्तै, भुटानको डुक स्टारले पनि प्रतियोगितामा भाग लिनेछ । थ्री स्टार एक वर्षपछि घरेलु फुटबलमा यही प्रतियोगितामार्फत फर्किन लागेको आयोजक क्लवका महासचिव प्रकाश शाहीले बताए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । गत वर्ष विजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।

आयोजक क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पुरस्कार पाउने बताए ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, हरेक खेलेको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लवका मिडिया संयोजक ओम चन्दले जानकारी दिए । ईअनुमोदनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *