आप्रवासी परिवारका तीन सय जनालाई आयआर्जनमूलक व्यवसायमा संलग्न गराईने

समताखबर
  ४ पुष २०७४, मंगलवार ०८:४६

शिखर नगरपालिका ४ मुडभरास्थित छडि आप्रवासी महिला समूह

डोटी र कञ्चनपुर जिल्लाका करिब तीन सय जना मानिसलाई सन् २०१८ भित्र प्रत्यक्ष आयआर्जनमूलक व्यवसायमा जोडिने भएको छ ।

गैर सरकारी सँस्था राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाल कञ्चनपुरले दुई जिल्लाका दुई सय ९३ जना आप्रवासी परिवारका लागि आयआर्जनमूलक व्यवसायमा जोड्ने लक्ष्य लिएको हो ।

एडब्ल्युओ इन्टरनेशनलको सहयोगमा निड्सले सञ्चालन गरेको सुरक्षित आप्रवाशन प्रवद्र्धन तथा मानव बेचविखन रोकथाम परियोजना अन्र्तगत दुई सय ९३ जना आप्रवासी परिवारका लागि आयआर्जनमूलक व्यवसायमा जोड्ने लक्ष्य लिएको सँस्थाका बरिष्ठ कार्यक्रम संयोजक प्रकाशचन्द्र मडैले जानकारी दिए ।

‘हामीले आयआर्जनमूलक व्यवसाय छनौट, सम्बन्धित व्यवसायका लागि प्राविधिक तालिम र आर्थिक सहयोग गर्ने योजना बनाएका छौं’ उनले भने–‘जसका लागि स्थानीय तहसँग साझेदारीमा बिशेष जोड दिईन्छ ।’

सानो लगानीबाट आयमूलक व्यवसायमा जोडिने आप्रवासीहरुका परिवारलाई प्राथमिकतामा राखेर सहयोग गरिने निड्स नेपालका अध्यक्ष अञ्जु भट्टले बताईन् । उनले भनिन्–‘खास गरी विदेशीएका मानिसहरुलाई सकभर आफ्नै गाउँठाउँमा रोकेर आयआर्जनमूलक व्यवसायमा लगाउने, आप्रवासी परिवारका महिलाहरुलाई पनि आयमूलक व्यवसायमा लगाउनमा हामीले जोड दिएका छौं ।’

अहिले दुवै जिल्लामा आप्रवासीहरुका परिवारका सदस्यहरुलाई आफुले गर्न सहज हुने आयआर्जनमूलक व्यवसाय छनौटको तालिम शुरु भईसकेको सँस्थाले जनाएको छ । व्यवसाय छनौट गरिसकेपछि प्राविधिक सिपका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसँस्थासँगको समन्वयमा छनौट गरिएका उद्यमी व्यवसायीहरुलाई तालिम दिईने जनाईएको छ ।
प्राविधिक दक्षताका साथ व्यवसाय गर्न तयार भएपछि व्यवसायीहरुलाई सक्दो सहयोग गरिने बताईएको छ । मूख्यतया बाख्रापालन, कुखुरापालन र तरकारी खेतीका लागि व्यवसायीहरु इच्छुक देखिएको निड्सका संयोजक मडैले जानकारी दिए ।

कसले कुन व्यवसाय गर्ने भन्ने विषयमा आफ्नो समूहमा छलफल गरेर सँस्थालाई जानकारी गराई तालिम र आर्थिक सहयोग माग गरिने डोटीको शिखर नगरपालीका ३ मुड्भराको छडि आप्रवासी महिला समूहका सचिव मनु नेगीले बताईन् ।

डोटी जिल्लाका हकमा सुरक्षित आप्रवासन सम्बन्धी काम गर्ने निड्स नेपाल नै पहिलो सँस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *