
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड आज गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा दुबैको सिट दलहरुलाई विभाजन गर्ने तयारी गरेको छ ।
मपानुपातिकतर्फको मत गणना २ गते नै सकिएको भएपनि देशभरबाट संकलन, सिट मत विभाजनलगायतका कामहरु भइरहेका थिए । प्रतिनिधि सभा र प्रदेश सभामा दलहरुले पाएको मत संख्या र सिट संख्यासहित नतिजा सार्वजनिक गरिने आयोगले जनाएको छ ।
मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचन प्रतिनिधि सभामा ११० र प्रदेश सभामा २२० जना उम्मेदवार सामनुपातिकबाट छानिने छन् ।
प्रतिनिधि सभामा कुल सदर मतको तीन प्रतिशत ल्याउनु पर्ने भएकोले पाँचओटा राजनीतिक पार्टीले मात्रै मान्यता पाउने देखिएको छ भने प्रदेश सभामा १.५ प्रतिशत मत ल्याउने दल प्रदेश सभामा सहभागी हुन पाउने भएकोले केही साना दलले पनि प्रदेश सभामा प्रवेशमा पाउनेछन् ।
नतिजा सार्वजनिकसँगै राजनीतिक दलहरुलाई सातभित्र उम्मेदवारको नाम छनोट गरेर आयोगमा बुझाउने पर्नेछ । नाम समावेशी आधारमा मिलाउनु पर्नेछ ।
त्यसपछि फेरि थप तीन दिनको समय आयोगले उपलब्ध गराउने त्यसपछि मात्रै आयोगले विजयी घोषणा गर्नेछ । त्यपछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने छ । योसँगै आयोगको जिम्मेवारी पूरा हुनेछ ।
प्रत्यक्षतर्फ महिलाहरुको संख्या कम आएका कारण समानुपातिकमा धेरै महिलाहरु नै आउने देखिएको छ । समानुपातिकका पुरुष उम्मेदवारको ढुकढुकी बढेको छ ।
Leave a Reply