
प्रदेश नं. ७ को राजधानी डोटीको दिपायलमा कायम हुनुपर्ने माग गर्दै साताव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ ।
डोटी उद्योग वाणिज्य संघको संयोजकत्वमा यस अगावै गठित सर्वपक्षिय संघर्ष समितिले बुधबार दिपायलमा सडकमै कार्यक्रम आयोजना गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
बुधबार दिपायलमा आयोजित सर्वपक्षिय अन्तरक्रिया कार्यक्रमबाटै संघर्षका कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष सहित संघर्षको कार्यतालिका सार्वजनिक गरिएको छ ।
जस अन्र्तगत भोलि पुष १३ गते दिउँसो १ बजे सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा दिपायल राजधानीका लागि ध्यानाकर्षण पत्र बुझाउने, पुष १४ गते दिउँसो १ बजे पिपल्ला, राजपुर लगाएत बजार क्षेत्रमा मौन जुलुस प्रदर्शन, पुष १५ गते दिउँसो १ बजे कुलपाते क्षेत्रमा २ घण्टा चक्काजाम गरी कोण सभा आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै पुष १६ गते दिउँसो १ बजे पिपल्ला बजार क्षेत्रमा कोण सभा, पुष १७ गते पिपल्ला बजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्याली र पुष १८ गते दिउँसो १ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडी दवावमूलक साहित्यिक कार्यक्रमको आयोजना गर्ने लगाएतका कार्यक्रम सार्वजनिक गरिएको छ । आवश्यकताका आधारमा आन्दोलनको स्वरुप परिवर्तन गर्नेमा सर्वपक्षिय प्रतिवद्धता रहेको छ ।
ऐतिहासिक डोटी गौणा रहेको, साविकको सुदूरपश्चिमाञ्जल विकास क्षेत्रको सदरमुकाम रहेको, पर्याप्त सरकारी जग्गाजमिन र भौतिक पूर्वाधारहरु रहेको, सामरिक महत्वका दृष्टिकोणले उपयुक्त, भौगोलिक समदुरी, उच्च अदालत, प्रदेश स्तरीय प्रहरी मुख्यालय,रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय पनि दिपायलमा कायम भईसकेकोले प्रदेश नं. ७ को राजधानी दिपायल कायम हुनुपर्ने डोटीका बासिन्दाहरुको माग रहेको छ ।
Leave a Reply